|

कतारको पुनरावेदन अदालतद्वारा ८ नेपालीलाई ३ करोड क्षतिपूर्तिको आदेश

दिलीप पौडेल, बाग्लुङ, असार ३०- कतारमा पानीजहाज दुर्घटनामा परेर मृत्यु भएका नेपालीका आफन्तले क्षतिपूर्ति पाउने भएका छन्। दुर्घटनामा परी मृत्यु हुने १२ मध्ये ८ मृतकका परिवारलाई जनही ४० लाख रुपियाँ (कतार रियाल २ लाख) का दरले ३ करोड २० लाख रुपियाँ प्रदान गर्न कतारको पुनरावेदन अदालतले सम्बन्धित कम्पनीलाई आदेश दिएको छ।              


 संयुक्त अरब इमिरेट्स–युएईस्थित एचबीके पावर क्लिनिङ कम्पनीमा कार्यरत् बाग्लुङ, पर्वतसहित १२ नेपालीको मृत्यु भए पनि कम्पनीले बिमाबापतको रकम नदिएपछि पीडितका तर्फबाट त्यहाँका पुनरावेदन अदालतमा मुद्दा परेको थियो।

पीडितको तर्फबाट कतारका अधिवक्ता मोना अब्दिल रहिमले अदालतमा दायर गरेको मुद्दामा अदालतले आठ जनाको पक्षमा फैसला गरेको छ भने अन्य चार जनाको मुद्दा अदालतमा चलिरहेको छ।  संयुक्त अरव इमिरेट्सको दुवईबाट कतारको दोहातर्फ गईरहेको पानीजहाज २००९ जुन ३० मा दोहाको पर्सियन सागरमा दुर्घटना हुँदा १२ नेपालीसहित २९ जनाको मृत्यु भएको थियो।

दुर्घटना भएको दुई वर्षपछि त्यहाँको पुनरावेदन अदालतले यसै साता क्षर्तिपूर्ति दिन सम्बन्धित कम्पनीलाई आदेश दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।… अदालतले पीडितका आफन्तलाई क्षतिपूर्ति दिन फैसला गरेको जानकारी आएको छ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गा भट्टराईले भने- क्षतिपूर्तिबापतको रकम आएपछि पीडितको परिवारलाई रकम हस्तान्तरण गछौँ। कम्पनीले बिमाबापतको रकम नदिएकाले अदलतमा मुद्दा लड्नुपरेको भट्टराईले बताए। सो मुद्दामा नेपालका तर्फबाट कतारका राजदुत सूर्यनाथ मिश्रले सघाइरहेका छन्।

सो घटनामा मृत्यु हुने १२ मध्ये आठ जना बागलुङ छिस्ती—१ बाग्लुङका लीलाराज पौडेल , फेटा—८, बाराका मेहदी हुसेन मिया, कठकुजा—१ बाँकेका अव्वास अहमद सई, दिभर्ना—३ अर्घाखाँचीका मानसिंह खत्री, हापुरे—२ दाङका शङ्कर बिष्ट, जैलीपोखरी—८ रोल्पाका जयबहादुर पुन मगर, हप्सेकोट—८ नवलपरासीका घनश्याम सार्की, वगडा—६ महोत्तरीका शेषनाथ यादवको परिवारले क्षतिपूर्तिबापतको रकम पाउने भएका हुन्।

दुर्घटनामा मृत्यु हुने चार जना कुर्घा—३ पर्वतका ऋषिप्रसाद शर्मा पौडेल, गुम्दी—५ धादिङका गङ्गाबहादुर गुरुङ, गैंडाकोट—१ पाल्पाका तिलकबहादुर खम्चा, सुगाभवानी—५, महोत्तरीका राजीवकुमार दत्तको सुनुवाई हुन भने बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जहाज दुर्घटनापछि भएको अनुसन्धानपश्चात् अदालतले इन्डोनेसियन क्याप्टेनलाई दोषी ठहर गर्दै ५ लाख कतार रियल र ६ वर्षको जेल सजाय सुनाइसकेको छ। मृतक कामदारका पक्षमा त्यहाँको सिभिल अदालतले गत जनवरी २६ फैसला गरेपछि कम्पनी पुनरावेदन अदालतमा गएको थियो। कतारको नागरिक अदालतको फैसलालाई सदर गर्दै पुनरावेदन अदालतले समेत मृतकको पक्षमा नै फैसला सुनाएको छ।

धन कमाउन गएका आफन्तको मृत्यु भएको दुई वर्षसम्म पनि राहात नपाएर बसेका मृतकका आफन्तलाई अदालतको फैसलाले राहात पुगेको छ। रकम पाउने आशमा परराष्ट्र मन्त्रालय धाउँदा-धाउँदा हैरान भएका मृतकका आफन्तमा आशा जागेको छ। 'क्षतिपूर्ति दिने फैसला सुन्दा अब आशा लागेको छ', मृतक छिस्ती—१, बाग्लुङका लीलाराजकी श्रीमती बालिकाले भनिन्- रकम आए बालबच्चा पाल्न सजिलो हुने थियो। ऋण काडेर धन कमाउन विदेश गएका लीलाराजको मृत्युपछि बालिकाले अहिले ज्यालादारी गरेर तीन छोराछोरीलाई पाल्दै आएकी छन्।
Source:Nagariknews

Posted by Butwalonline on 4:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारको पुनरावेदन अदालतद्वारा ८ नेपालीलाई ३ करोड क्षतिपूर्तिको आदेश"

Leave a reply