|

'आत्मसमर्पण गर्न जोर्डन जाने होइनौं'

अजय फुयाल, काठमाडौं, साउन ५- नेपाली राष्ट्रिय टोलीका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस सकारात्मक सोच राख्छन्। हार वा असफलता उनले सुन्नसमेत चाहँदैनन्। इङलिस प्रिमियर लिगको टोली टोटेनह्यामका युइएफए कप विजेता कप्तान ग्राहमका लागि आत्मविश्वास सबैभन्दा ठूलो हतियार हो। इङलिस राष्ट्रिय टोलीको समेत कप्तानी गरिसकेका उनी विश्वकप छनोटदौरान बलियो जोर्डनलाई प्रतिद्वन्द्वी पाउँदा पनि किञ्चित बिचलित छैनन्। भेटघाटमा आउने कसैलाई पनि उनीसँग कुराकानी गर्दा जोर्डनको शक्ति बिर्साएर नेपाली टोलीमा केन्द्रित गराउन सक्नु उनको खुबी हो। 'जोर्डन पक्कै पनि राम्रो टोली हो, तर हामी उनीहरूसँग आत्मसमर्पण गर्न त्यहाँ जान लागेका होइनौं। पहिलो लेगमा हामी उनीहरूसँग गोलरहित बराबरी खेल्नेछौं, त्यसपछि दोस्रो लेग जितेर समूह चरण सुरक्षित गर्नेछौं।'

ग्राहमकै नेतृत्वमा पहिलोपटक विश्वकप छनोटको दोस्रो चरण पुगेको नेपालले प्लेअफको दोस्रो चरणमा जोर्डनविरुद्ध दुई लेगमा प्रतिस्पर्धा गर्दैछ। पहिलो लेग शनिबार जोर्डन तथा दोस्रो लेग बिहीबार दशरथ रंगशालामा हुनेछ। कमजोर तयारीप्रति असन्तुष्ट भए पनि ग्राहम जोर्डनमा बराबरी खेलेर घरेलु मैदानमा विजय पाएर समूह चरण पुग्ने सोचमा छन्। तथापि बलियो जोर्डनसँग सोचेजस्तो नतिजा ल्याउनु कठिन हुने पनि उनले राम्ररी बुझेका छन्। त्यसैले आफूसँग प्रस्ट योजना भएको उनी बताउँछन्।

'पहिलो १० मिनेटमा गोल खाए हाम्रो योजना चकनाचुर हुनसक्छ, तर हामी सुरुदेखि नै जोगिएर खेल्नेछौं। काउन्टर एट्याकमा दबाब दिनु हाम्रो योजना हुनेछ। हामी गोल खानबाट जोगिन पूरा प्रयास गर्नेछौं, तर त्यसको मतलब रक्षात्मक खेल्ने भन्ने चाहिँ होइन,' बुधबार उनी नागरिकसँग भन्दैथिए, 'मलाई आफ्ना खेलाडीमा पूरा विश्वास छ। उनीहरू राम्रो अवस्थामा छन् र सकारात्मक नतिजाका लागि आफैमा विश्वस्त छन्।'

जोर्डनका इराकी प्रशिक्षक आदनान हमदले नेपाललाई इतिहासकै सबैभन्दा सहज प्रतिद्वन्द्वीमा चित्रण गरेका छन्। ग्राहम भने खेलपछि उनले आफूलाई चिन्ने दाबी गर्छन्। पहिलो लेग निकै प्रतिस्पर्धात्मक हुने दाबी गर्दै उनी भन्छन्, 'उनले हामीलाई सबैभन्दा सजिलो विपक्षी भनेका छन्, तर जोर्डनविरुद्ध मसँग धेरै योजना छन्। त्यो खेलपछि उनले ग्राहम रोबर्टसलाई चिन्ने छन्।' जोर्डनको खेल टेलिभिजनमा हेरिसकेका ग्राहमले विपक्षीको राम्रो र नराम्रो दुवै पक्ष खुट्याइसकेका छन्। जोर्डनका दुई फुलब्याक कमजोर भए पनि सेन्ट्रल ब्याक र दीप नामको एक 
स्ट्राइकर राम्रो भएको ग्राहमले चाल पाइसकेका छन्। दीपलाई म्यान टु म्यान मार्किङ गर्ने सोच बनाएका उनले विश्वास पोखे, 'फुटबलमा कसैले पूर्वघोषणा गर्न सक्दैन। खेल ११ विरुद्ध ११ को हुनेछ। हामी पक्कै राम्रो नतिजा ल्याउँछौं।'

नेपालसँग खेल्नुअघि जोर्डनले यसै महिना चार अभ्यास खेल खेलिसकेको छ। जुलाई ५ मा सिरियासँग ३- १ को पराजय भोगेको टोलीले त्यसको तीन दिनपछि यमनलाई ४-० ले हराएको थियो। बाँकी दुई खेलको निर्णय टाइब्रेकरबाट हुँदा साउदी अरेबियालाई ४-३ ले नतिजा सुम्पेको टोलीले इराकलाई ५-४ ले हराएको थियो।
नेपाली टोली बिहीबार जोर्डन प्रस्थान गर्दैछ। सहिद स्मारक लिगका कारण टोलीले पहिलो लेगलाई चार दिनमात्र अभ्यास गर्ने अवसर पायो। सेनाको मैदानमा घाँस नकाटिएको कारण पहिलो दिनको अभ्यास खेर फाल्नुपर्दा निकै आक्रोशित प्रशिक्षकको रिस अहिले भने शान्त भइसकेको छ। 'म अहिले खेलमा मात्र केन्द्रित हुन चाहन्छु, कसैलाई दोष दिएर बितेको कुरा नफर्किने मलाई थाहा छ,' राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले महत्व नदिएको बताउँदै अध्यक्ष गणेश थापासँग कुराकानी गरेपछि सकारात्मक जवाफ नआए जोर्डनसँगको खेलपछि राजीनामा दिने बताएका प्रशिक्षकले भने, 'मैले अध्यक्षसँग कुरा गरिसकें। हिजो हामीबीच लामो कुराकानी भयो। उहाँ पनि घाँस नकाटिएकोमा निराश हुनुहुन्छ। उहाँसँग साफ च्याम्पियनसिप र साग खेलकुदमा ठूला महत्वाकांक्षा छन्। त्यसैले अब सायद म जोर्डनसँगको खेलपछि पनि नेपाली टोलीसँगै रहनेछु।'

प्रशिक्षक ग्राहमले पहिलो दिन आइतबार अभ्यास गर्न नपाएपछि एन्फा पदाधिकारी राष्ट्रिय टोलीप्रति गम्भीर नभएको तथा उनीहरूमा कुनै महत्वाकांक्षा नभएको भन्दै बिदा हुने बताएका थिए। त्यतिखेर विदेशमा रहेका अध्यक्ष थापाले अबका दिनमा राष्ट्रिय टोलीलाई आवश्यक सबै कुरा पूरा गर्ने वचन दिएको उनले बताए। 'म यहाँ फुटबल टोली, समर्थक, देश र अध्यक्षका लागि जित्न आएको हुँ। अरुको मलाई कुनै मतलब छैन। सुखद नतिजा ल्याउनेमा विश्वस्त छु,' एन्फा पदाधिकारीहरूबारे उनको प्रतिक्रिया यस्तो थियो।

'जब तिमीले नकारात्मक सोचलाई सकारात्मकबाट स्थानान्तरण गर्छौं, त्यसपछि तिमीले सकारात्मक परिणाम पाउन थाल्छौ,' चर्चित अमेरिकी गायक विली नेल्सनको यो भनाइ ग्राहमको कार्यशैलीमा पनि लागू हुने टोली सदस्यको विश्वास छ। एउटा सकारात्मक सोचले कसैको सबै समस्या समाधान गर्न नसके पनि त्यसले धेरैलाई मेहनत गर्न ऊर्जा प्रदान भने पक्कै गर्नेछ।

Source:Nagariknews

Posted by Butwalonline on 12:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "'आत्मसमर्पण गर्न जोर्डन जाने होइनौं'"

Leave a reply