|

जग्गा अर्कैले बेचिदेला !

भक्तपुर, अषाढ १९ - तपाईंको जग्गाको धनीपुर्जा कोसँग छ ? ऋण लिँदा वा कसैलाई राख्न दिएको भए ढुक्क नहुनुस् । तपाईंको नाममा भएको जग्गा अरूले बेचिदिन सक्छन् । रामेछाप गुप्तेश्वर ६ घर भई काठमाडौं बस्दै आएका हस्तीमाया श्रेष्ठ यस्तै समस्यामा परेकी छन् । आफ्नो जग्गा थाहै नपाई अरूले बिक्री गरिदिएपछि अहिले हस्तीमाया र उनका श्रीमान् चन्द्रबहादुर श्रेष्ठ न्याय माग्दै प्रहरी कार्यालय र अदालत धाइरहेका छन् ।
भक्तपुरको चाँगु ३ ख को कित्ता नम्बर ५५५को १४ आना दुई पैसा क्षेत्रफल जग्गा बिक्री भइसकेपछि मात्रै हस्तीमाया र चन्द्रले थाहा पाए । हस्तीमाया रोजगारीका लागि २०६७ असोज २१ मा कुवेत गइन् । उनी जाने बेलामा श्रीमान्लाई पुर्जा राख्न दिएकी थिइन् । 'चन्द्रले लालपुर्जा राखेर ऋण खोजिदिन जिता सुनुवारलाई लालपुर्जा दिएछन्, उनले पनि सुजन मगरलाई दिएपछि भूमाफियाको हातमा पुगेपछि नक्कली कागजपत्र तयार गरी जग्गा बिक्री भएको देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
रामेछापका लालबहादुर श्रेष्ठकी छोरी चन्द्रबहादुर श्रेष्ठकी श्रीमती हस्तीमाया २०६७ असोज २१ मा विदेश गए पनि उनको नाममा भएको जग्गा पुस ९ मा  गोपाल कटवालकी नातिनी चन्द्रबहादुर खड्काकी छोरी महोत्तरी बेलगाछी २ का ४१ वषर्ीया तिलकुमारीको नाममा बिक्री भएको छ । 
'किर्ते नागरिकता र जग्गा धनी पुर्जा बनाई वारेसनामा बनाएछन्,' चन्द्रले भने, 'अधिकृत वारेसनामाको आधारमा श्रीमतीको नाममा रहेको जग्गा मालपोत कार्यायल भक्तपुरबाट २०६७ पुस ४ गते रजिस्टे्रसन नम्बर १२५२ ङ मार्फत मूुल्य २ लाख राखी राजिनामा पारित गरेको पुस २७ मा थाहा पाएँ ।' काठमाडौं जिल्ला अदालतबाट नक्कली नागरिकताका आधारमा अधिकृत वारेसनामा बनाइएको छ । पुस २९ मा काठमाडौं प्रहरीमा उजुरी परेको थियो । काठमाडौं जिल्ला अदालतमा वारेसनामा बदर र जालसाजीमाथि छुट्टै मुद्दा दायर भएको छ । नक्कली हस्तीमाया सिर्जना गरेर नागरिकता र जग्गा धनी प्रमाण पुर्जा किर्ते गरिएको प्रहरीले बताएको छ ।
हस्तीमायाका श्रीमान्को नक्कली नागरिकतामा चन्द्रलाल श्रेष्ठ
-३१/१०८२ रामेछाप) उल्लेख छ । अदालतले वारेसनामा बनाउँदा चन्द्रबाबा श्रेष्ठका नाममा बनाएको छ ।
जग्गा किनबेच गर्दा काठमाडौं जिल्ला अदालतमा रहेको अधिकृत वारेसनामा र मालपोत कार्यालय भक्तपुरमा रहेको अधिकृत वारेसनामा टाँसेको फोटो समेत फरक छ । त्यस्तै, जग्गा किन्ने व्यक्तिको थर उल्लेख छैन । लिखतको कैफियत महल गाविसको सिफारिस र काठमाडौं जिल्ला अदालतबाट बनाएको नक्कली अधिकृत वारेसनामाको मिति नलेखी मालपोतबाट  लिखत पारित गरिएको छ ।
मालपोत कार्यालय भक्तपुरले अधिकृत वारेसनामाको आधारमा जग्गाको लिखत पास गरेकाले  कर्मचारी संलग्नता नरहेको भन्दै प्रहरीलाई लिखित जवाफ पठाएको छ ।
'जग्गाको मोठ स्रेस्तामा हस्तीमाया श्रेष्ठको फोटो टाँसिएको थियो, हालसम्म पनि त्यही फोटो छ । लिखत पारित गर्दा हस्तीमायाको अधिकृत वारेसनामा चन्द्रबाबा श्रेष्ठले पेस गरेको वारेसनामामा टासँेको फोटो एकै व्यक्ति 'हस्तीमाया' भएकाले हामीले लिखत पास गर्‍यौं,' मालपोतले प्रहरीलाई लेखेको पत्रमा उल्लेख छ । वारेसनामा सम्बन्धी हुने किर्ते रोक्न अदालतले पास गर्ने वारेसनामा व्यक्तिलाई नभई सम्बन्धित मालपोत कार्यालयमा पठाउनुपर्ने भक्तपुरका निमित्त मालपोत प्रमुख चन्द्रमणि अर्यालले बताए । 
मालपोतले प्रहरीलाई पठाएको पत्रमा मालपोतमा लिखत पारित गर्दा मालपोत अधिकृत अर्याल, शाखा अधिकृत सुनीलकुमार अधिकारी, नासु महेन्द्रनाथ प्रधान खरिदार शेरप्रसाद शर्मा संलग्न थिए । किर्तेमा संलग्न मुख्य अभियुक्तको पहिचान भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक नारायणसिंह खड्काले बताए । प्रहरीले नक्कली हस्तीमायाको श्रीमान बन्ने चन्द्रबाबा श्रेष्ठ र जग्गा धनी को हो भन्ने पत्ता लगाउन सकेको छैन ।  'मुख्य अभियुक्त पत्ता लागिसकेको छ,' खड्काले भने । हस्तीमाया पनि स्वेदश र्फकेकी छन् ।
हस्तीमायाले ज्ञानकुमार श्रेष्ठसँग आनाको दुई लाख ५० हजारमा १४ आना जग्गा किनेकी थिइन् ।
श्रीमती विदेश गएपछि हस्तीमायाका श्रीमान् चन्द्रले व्यापारका लागि दुई लाख खोजिदिन भन्दै मितबहिनी नाता पर्ने जिता मगरलाई लालपुर्जा
दिएका थिए । जिताले पनि लालपुर्जा संखुवासभा खाँदबारी ९ का सुजन मगरलाई पैसा खोजिदिन भन्दै दिएकी थिइन् । सुजनले चिनजानका भक्तपुरका एक जग्गा दलाललाई लालपुर्जा दिएको खुलेको छ ।
'लालपुर्जा हात पारेपछि त्यो व्यक्तिले हस्तीमाया र चन्द्रबहादुर श्रेष्ठको नक्कली नागरिकता बनाएको भेटिएको छ,' प्रहरीले भनेको छ, 'नक्कली चन्द्रबहादुर बन्ने व्यक्तिलाई अदालतले वारेसनामाको एक प्रति दिएको छ । अदालतमा वारेसनामा बनाउँदा हस्तीमायाको फोटो पनि नक्कली छ । हस्तीमायाको लालपुर्जामा भएको फोटो अनुसारको कपडा र शरीर मिले पनि अनुहार मिल्दैन ।'  नक्कली चन्द्रबहादुर र हस्तीमाया बनेर वारेसनामा बनाई जग्गा पास गरेको देखिने प्रहरीले बतायो ।
लालपुर्जा दिने सुजन मगरलाई चैत १२ मा नियन्त्रणमा प्रहरीले नियन्त्रण्मा लिएपछि घटना थप खुलेको हो । सुजन मगरलाई सरकारी वकिलको निर्देशनमा छाडिएको छ ।

Source:kantipurnws

Posted by Butwalonline on 7:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जग्गा अर्कैले बेचिदेला !"

Leave a reply