१ सय १२ परिवारको विद्यालयमा बास
रुकुम, श्रावण २ - पुर्तिमकाँडा १ की मनकुमारी विकलाई गाउँमै दुई दिनअघिको जस्तो ठूलो पहिरो आई परिवारै बगाउने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।उनको सात जनाको परिवार दिनभर घरको कामकाज गरी साँझ नजिकैको ज्ञानोदय प्राथमिक विद्यालय, गिठाकोटमा जाग्राम बस्न बाध्य छ । 'पहिरोको डर बढेपछि गाउँले सबै विद्यालयमा रात कटाउँछौँ,' उनले भनिन्, 'अस्तीको जस्तो पहिरोले परिवारकै एउटै चिहान भयो भने के गर्ने ?'
गाउँकै चन्दि्रका बुढाको ८ जनाको परिवार पनि उस्तै बाध्यतामा छ । दिनभर घरमा काम गर्ने र रात परेपछि विद्यालयमा जाग्राम बस्ने गरेको चन्दि्रका बताउँछिन् । 'पहिरोको डरले हामी राम्ररी नसुतेको एक साता भइसक्यो,' उनले भनिन्, 'पहिरोले गाउँमा बस्नै नपाइने भयो ।' उनले पहिरोको जोखिम गाउँमा बढेपछि घरका आधाभन्दा बढी सामान विद्यालयमा ल्याएर राखेको बताइन् । विद्यालयमा बालबच्चाको स्याहार गर्न र सुत्न निकै अप्ठ्यारो भएको उनको भनाइ छ ।
तीन दिनअघि पुर्तिमकाँडाको वडा १ र ३ मा आएको पहिरोले एकै घरका १० जनासहित १३ जनाको मृत्यु भएपछि पहिरोको त्रासका कारण स्थानीय बासिन्दाले नजिकैका दुई विद्यालयलाई आश्रयस्थल बनाएका हुन् । शुक्रबार बिहान ३ बजेतिर आएको पहिरोलेे विस्थापित स्थानीय बासिन्दा तीन दिनदेखि विद्यालयमा बास बस्दै आएका छन् । स्थानीय शिक्षक भागीराम बुढाका अनुसार विद्यालयका कक्षाकोठामा बस्ने ठाउँ नपुगेपछि कतिपय त पालको प्रयोग गरी विद्यालय प्राङ्गणमा बस्छन् । दिउँसो पहिरोको त्यति डर नहुने भएकाले घरमै बस्ने गरेको र राति खानेकुरा र बन्दोबस्तीका सामान बोकेर विद्यालयमा आउने गरेको स्थानीय कुशल बुढाले बताए ।
गाविसको वडा १, २ र ३ का १ सय १२ परिवार पहिरोको जोखिममा परेपछि स्थानीय दुई विद्यालयमा राति बास बस्न आउने गरेको सहायक प्रमुख जिल्ल्ाा अधिकारी अर्जुन भण्डारीले बताए । उनका अनुसार स्थानीय बालज्योति मावि र ज्ञानोदय प्राविमा आएर राति बास बस्ने गरेका हुन् । स्थानीय विद्यालयमै बस्न थालेपछि पठनपाठन पनि बन्द छ । अझै तीन दर्जन घर पहिरोको उच्च जोखिममा रहेको सहायक प्रजिअ भण्डारीको भनाइ छ । पहिरोको जोखिम कम नहुन्जेल बिचल्लीमा परेकालाई विद्यालयमै बासको व्यवस्था गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले पहिरो प्रभावित गाउँमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ भने प्रशासनले आइतबार बिहान खाद्यान्न वितरण गरेको छ ।
शुक्रबार बिहान २ बजे गएको पहिरोमा परी पुर्तिमकाँडा ३ स्थित उदिराम बुढा र पुर्तिमकाँडा १ बसनडाँडास्थित धनसिंह घर्तीको घर पुरिँदा १३ को ज्यान गएको थियो ।
Source:kantipurnews
Posted by Butwalonline
on 6:43 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response