|

दाहाल र शाह एकै पदमा

पूर्ण बस्नेत, हङकङ, साउन ११- लुम्बिनीमा रणनीतिक महत्वको 'विशेष विकास क्षेत्र' निर्माण गर्ने तयारीमा रहेको चिनियाँ संस्थामा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाह एउटै पदमा छन्।


लुम्बिनी विकासका लागि २ खर्ब २५ अर्ब रुपैयाँको महत्वाकांक्षी योजनासहित चर्चामा आएको एसिया प्यासेफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसनमा पूर्वप्रधानमन्त्री दाहाल र शाहसहित दसजना सहअध्यक्ष छन्। संस्थामा चीनमा समेत लगानी गरेका प्रभावशाली अमेरिकी व्यवसायीको बाहुल्य छ।


फाउन्डेसनले आफ्नो वेबपेजमा पूर्वयुवराज शाहलाई 'नेपालका युवराज' भनेर चिनाएको छ। गत अक्टोबरमा फाउन्डेसनको बैठकका लागि दाहाल मलेसियाको राजधानी क्वालालम्पुर जाँदा शाह पनि गएको चर्चा चलेको थियो। मलेसियाबाट फर्कने क्रममा काठमाडौं विमानस्थलमा दाहालले आफू फाउन्डेसनको सहअध्यक्ष भएको प्रमाणपत्र देखाएका थिए। राजतन्त्र अन्त्य भएपछि असन्तुष्ट बनेका शाह लामो समय सिंगापुरमै बसेका थिए। राजतन्त्र अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका दाहाल र राजतन्त्र समाप्त भएकामा असन्तुष्ट शाह एउटै संस्थामा देखिनु अनौठो मानिएको छ।




चीन सरकारको समेत समर्थन रहेको फाउन्डेसनका दस सहअध्यक्षमध्ये कम्तीमा नौजना गैरचिनियाँ छन्। तीमध्ये पाँचजना अन्तर्राष्ट्रिय रूपमा कहलिएका व्यवसायी हुन्। निर्माण, रियल स्टेट कारोबार र मिडियामा लगानी गरेका उनीहरू अमेरिका, युरोप र एसियाको राजनीतिक तहमा राम्रो पहुँच राख्छन्। फाउन्डेसनलाई चीन सरकारको समर्थन रहेको भनिए पनि अन्तर्राष्ट्रिय स्तरका धनी व्यवसायीको संलग्नताले लुम्बिनी परियोजनाका लागि आवश्यक स्रोत बाहिरबाटै जुटाउने तयारी देखिन्छ।



चिनियाँ भाषामा रहेको फाउन्डेसनको वेबसाइटमा दस सहअध्यक्ष र एक कार्यकारी उपाध्यक्षको नाम परिचयसहित दिइएको छ। सहअध्यक्षमा फाउन्डेसनका पूर्वप्रमुख कार्यकारी अधिकृत कोलिन हेसल्टिन, ज्याक रोसेन, कोर्न डब्बरान्सी, लियोन एच चार्नी, पारस शाह, पुष्पकमल दाहाल, राम्जी साम्बर, स्टेभेन क्लर्क रकफेलर र हिउ किङ टङ छन्।



न्यूयोर्क निवासी अमेरिकी व्यवसायी स्टेभेन क्लर्क रकफेलर उनको परिवारद्वारा सञ्चालित रकफेलर इन्टरनेसनल ग्रुपका अध्यक्ष हुन्। रकफेलर ग्रुप निर्माण र रियल स्टेट व्यवसायमा विश्वमै कहलिएको कम्पनी हो। अमेरिका, युरोप, दक्षिण पूर्व र उत्तर एसियामा लगानी गरेको रकफेलर ग्रुपले चीनमा भर्खरै व्यवसाय सुरु गरेको छ। न्यूयोर्कस्थित रोसेन पार्टनर्सका संस्थापक तथा प्रमुख कार्यकारी ज्याक रोसेन रियल स्टेट कारोबारमा कहलिएका अन्तर्राष्ट्रिय व्यवसायी हुन्। अमेरिकन जुइस कंग्रेसका अध्यक्ष रोसेन चिनियाँ व्यवसायी र राजनीतिक तहमा राम्रो पहुँच राख्छन्। पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनका नजिकका मित्र रोसेन अमेरिकाको काउन्सिल अफ फरेन रिलेसन्सका बोर्ड सदस्य पनि हुन्।



फाउन्डेसनका अर्का सहअध्यक्ष लियोन एच चार्नी मध्यपूर्वका लागि अमेरिकी विशेष दूत भइसकेका व्यवसायी हुन्। अमेरिकाका तत्कालीन राष्ट्रपति जिमी कार्टरको अनौपचारिक सल्लाहकारका रूपमा काम गरेका लियोन पनि न्यूयोर्क निवासी अन्तर्राष्ट्रिय स्तरका रियल स्टेट व्यवसायी हुन्। राम्जी साम्बर लन्डनस्थित साम्बर डेभलपमेन्ट कर्पोरेसनका प्रमुख हुन्। अमेरिका, युरोप र मध्यपूर्वमा निर्माणको क्षेत्रमा काम गर्ने साम्बर कम्पनीले चीनमा ऊर्जा र आइटीमा लगानी गरेको छ।



मलेसियाका दस प्रमुख धनीमध्येका एक चिनियाँ मूलका हिउ किङ टङ मलेसियाको इभरग्रिन ग्रुपका अध्यक्ष हुन्। उनको रिम्बुनान हिजण्ड ग्रुपले मलेसियामा चिनियाँ भाषाको दैनिक र पपुवा न्यू गिनी तथा हङकङमा पनि पत्रिका प्रकाशन गर्छ। हिउ र उनको परिवार मलेसियाको सत्तारुढ सरवाक युनाइटेड पिपुल्स पार्टीमा आबद्ध छन्। अर्का सहअध्यक्ष कोलिन हेसल्टिन सिंगापुरमा मुख्यालय रहेको एसिया प्यासेफिक इकोनोमिक कोअपरेसन (एपेक) का पूर्वकार्यकारी निर्देशक हुन् भने थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री कोर्न डब्बरान्सी त्यहाँको चार्ट थाई पार्टीमा आबद्ध छन्।



चिनियाँ कम्युनिस्ट पार्टीमा समेत आबद्ध मानिएका फाउन्डेसनका कार्यकारी उपाध्यक्ष सियाओ उनन चीनको सामाजिक-आर्थिक तथा सांस्कृतिक एक्स्चेन्ज एसोसिएसनका उपाध्यक्ष हुन्। उनी चीनको राष्ट्रिय विकास तथा सुधार आयोगको पश्चिम क्षेत्रका उपनिर्देशक पनि हुन्।





युनिडोले प्राविधिक सहयोग गर्ने



फाउन्डेसनले ३१ असारमा बेइजिङमा राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) सँग लुम्बिनी परियोजनासम्बन्धी एक सम्झौता गरेको थियो। तर, युनिडोको चीन लगानी तथा प्रविधि प्रबर्द्धन कार्यालय र फाउन्डेसनबीच बेइजिङमा भएको सम्झौताअनुसार लुम्बिनी परियोजना विकास गर्न युनिडोले फाउन्डेसनलाई प्राविधिक सहयोगमात्र गर्ने छ। राष्ट्रसंघीय स्रोतका अनुसार युनिडो चीनले फाउन्डेसनलाई एक लाख युरो (करिब १ करोड २१ लाख रुपैयाँ) बराबरको प्राविधिक सहयोग गर्ने सम्झौतामा छ।



स्रोतका अनुसार युनिडो र फाउन्डेसनबीच भएको सम्झौतामा लुम्बिनी परियोजनामा नेपालको पर्यटन मन्त्रालय फाउन्डेसनको रणनीतिक साझेदार हुने उल्लेख छ। फाउन्डेसनका कार्यकारी उपाध्यक्ष उननले गत वैशाखमा लुम्बिनीको भ्रमणपछि काठमाडौंमा पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मासँग 'विशेष विकास क्षेत्र' निर्माणसम्बन्धी एक अवधारणापत्रमा हस्ताक्षर गरेका थिए।

उक्त योजनाअर्न्तगत 'लुम्बिनीमा सुरुमा रोड, रेलमार्ग, विमानस्थल, सञ्चार, विद्युतजस्ता स्थानीय पूर्वाधार विकासमा ठूलो लगानी परिचालन गरिने' युनिडो र फाउन्डेसनबीच भएको सम्झौतामा उल्लेख छ।

'युनिडो-इटपो-चीनले नेपाल सरकारको सहयोगमा एसिया प्यासेफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसनसँग मिलेर विस्तृत विकास कार्यक्रम- लुम्बिनी विशेष विकास क्षेत्र निर्माणका लागि काम गर्नेछ,' सम्झौतामा भनिएको छ, 'जुन नेपालको आर्थिक क्रान्तिमा नेतृत्वदायी हुनेछ।'
साभार :नागरिक न्यूज


Posted by Butwalonline on 7:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दाहाल र शाह एकै पदमा"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु