|

गिरिजाबाबुले तँलाईं पार्टीभित्रै रुवाउँछन् भन्नुहुन्थ्योः दाहाल


काठमाडौं, श्रावण ७ - माओवादी अध्यक्ष पुष्पमल दाहालले पार्टीभित्र आफूलाई अप्ठ्यारोमा पारेको स्वीकार गरेका छन् । उनले जतिसुकै समस्यामा पारिए पनि अन्ततः पार्टी भने एक ढिक्का हुने बताए ।
'गिरिजाबाबु -पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला)ले मलाई पटक-पटक भन्नुहुन्थ्यो, तँ जसरी बोलिरहेको छस् यस कारणले कि तलाईं भौतिकरुपमा सिध्याउनेछन्,' दाहालले शनिबार बिहान राजधानीमा सम्भिmए, 'नभए तलाईं पार्टीभित्र रुवाएर छाड्छन् भन्नुहुन्थ्यो ।' दाहालले कोइरालाले बुझेरै यी कुरा भनेका हुन् कि जस्तो लागेको बताए ।
प्रगतिशील नागरिक समाजले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले माआवादीभित्र अहिले 'गाईजात्रा' नै भए पनि अन्ततः मिलेरै अगाडि बढ्ने बताए । 'माओवादीमात्र यस्तो पार्टी हो जसको गाईजात्रा बाहिर देखिन्छ,' उनले भने, 'तर पनि हामी अब विचार, नेतृत्व र आन्दोलन लिएर आउँछौं, यसको विकल्पै छैन ।'
दाहालले अहिले पनि देशी विदेशी शक्तिहरुले माओवादीलाई फुटाउन चाहेको बताए । 'यसका विचार, अभियान र नेतृत्वलाई कसरी विखण्डन र बदनाम गर्न सकिन्छ भनेर दुनियाँको ताकत पनि नेपालमै लागेको छ,' उनले भने, 'अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भारत आएर नेपाल बारे बोलिन्, नेपालमा अझ एक्टिभ भूमिका पावर सेन्टरले खेलिदिनुपर्‍यो भनिन्, यस्तै हजार तर्क छन् ।'
२२ वर्षदेखि नै अन्तर्संघर्ष
दाहालले आफू नेतृत्वमा रहेको २२ बर्षदेखि नै पार्टीभित्र अन्तर्संघर्ष भइरहेको बताए । 'म आफैं झण्डै २२ वर्षदेखि पार्टीको नेतृत्वमा छु, यस अवधि कसरी बिते नेपाली जनतालाई राम्रोसँग थाहा छ,' उनले भने, 'एकता संघर्ष र रुपान्तरण भएर कसरी गुज्रियो र अहिले हामी कहाँ छौं त्यो सवैलाई थाहा छ ।'
दाहालले पार्टी एउटा चुनौतिमा रहेको बताए । उनले परम्परागत ढंगले क्रान्तिको पुनराबृत्ति हुन नसक्ने भन्दै क्रान्ति जुधेरमात्र हुनसक्ने बताए ।
बहस स्वभाविक
दाहालले माओवादीभित्र देखिएको बहस स्वभाविक भएको बताए । 'नयाँ विचारको प्रयोग गर्नेक्रममा स्वभावैले बहस हुन्छ,' उनले भने, 'पार्टीभित्र पनि बहस हुन्छ बाहिर पनि बहस हुन्छ ।' उनले अन्तर्संघर्षलाई आफूले अनौठो नठानेको उल्लेख  गरे । उनले सम्य, घुनपुत्ला नगाईकन क्रान्ति र आन्दोलन सम्भव नहुने बताए ।
महाधिवेशनको तयारीमा
दाहालले माओवादीभित्र महाधिवेशनमा जानेबारेमा पनि छलफल भइरहेको जानकारी दिए । 'हामी महाधिवेशनतिर जानेबारे पनि प्रस्तावित गरेका छौं,' उनले भने, 'यो बीचमा हामीले गरेका विधिको ढंगले कति ठीक भए कति भएनन्, विचारको हिसावले ठीक रहे/रहेनन् । त्यसको समीक्षा हुनेनैछ ।'
पूर्वाग्रह छैन
दाहालले शीर्ष नेताहरुले मोर्चाबन्दी गरेकोप्रति लक्षित गर्दै उनीहरुप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको बताए । 'आदणिय सहयोद्धा कमरेडहरु किरण, बाबुराम, बादल वा प्रकाश कसैप्रति मेरो पूर्वाग्रह छैन,' उनले भने, 'अन्ततः हामी एक ढिक्का हुने छौं, म एक्लै अगाडि बढ्ने होइन । सिंगै पार्टी लिएर अहिलेको जारी शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रिया अगाडि बढाइने छ ।'
विवाद विचारको नभई सत्ताको
कार्यक्रममा बुद्धिजीवीहरु सुन्दरमणि दीक्षित, श्याम श्रेष्ठ, पत्रकार किशोर नेपाल, सुभशंकर कँडेल, प्राध्यापक महेन्द्र सिंहलगायतले शान्ति र संविधानको कार्यभारलाई जुनसुकै हालतमा भए पनि पूरा गर्न दाहाललाई सुझाव दिए ।
शान्ति र संविधानविरोधीलाई कारबाही गरेरै भए पनि अघि बढे दाहाललाई नेपाली जनताले साथ दिने उनीहरुको भनाई थियो । उनीहरुले माओवादीभित्रको विवाद विचारको नभई सत्ताको भएको टिप्पणी गरे ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 9:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गिरिजाबाबुले तँलाईं पार्टीभित्रै रुवाउँछन् भन्नुहुन्थ्योः दाहाल"

Leave a reply