|

झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुग्यो

पाल्पा, अषाढ २७ - झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली सोमवार पुगेको छ । दुईसातादेखि फैलिएको झाडापखालाले तीन जनाको मृत्यू भएपछि जिल्ला स्वास्थ्य कार्यालयले पूर्वी पाल्पाको गल्धा गाविस–२, ३, ४ र ८ मा ६ जनाको टोली खटाएको हो ।
झाडापखालाबाट २ नम्वरको खर्कडाँडामा २ र ८ नम्वरको वेल्डाँडामा एक जनाको मृत्यू भएपछि स्वास्थ्यकर्मीको टोली खटाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।
टोलीमा खटिएका डा. प्रशान्त बज्राचार्यका अनुसार राईकोट निम्न माध्यमिक विद्यालय गल्धामा राखिएको महामारी प्रकोप व्यवस्थापन शिविरमा सोमबार मात्रै ६० जना झाडापखालाका बिरामीले औषधी लिएका छन् । उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।
शिविरमा आउनेलाई जीवनजल ३ सय प्याक, मेट्रो ५ सय ट्यावलेट, जिंक ४० ट्यावलेट, वाटरगार्ड १० वटा वितरण गरिएको जिल्ला महामारी रोग नियन्त्रण तथा व्यवस्थापन संयोजक मीनबहादुर विष्टले बताए । टोलीमा डा. बज्राचार्य, विष्टलगायत हेल्थ असिष्टेण्ट गणेश गैरे, रेमबहादुर दिशा, मासिका लक्ष्मी अर्याल, सहयोगी बाबुराम खड्काले स्वास्थ्य सेवा दिएका छन् ।
गल्धाको राईकोट, खर्कडांडा, गावुडांडा लगायतका गाउ‘का १ सय ५० घर परिवार झाडापखाला प्रभावित छन् । डा. बज्राचार्यका अनुसार खानेपानीको मूल र ट्याङकी फोहोर भएका कारण झाडापखाला फैलिएको हुनसक्छ । झाडापखाला प्रभावित विरामी वेल्डाडा, गावुडांडा र ढुंगानाबेसीको निजी मेडिकलमा उपचारका लागि लैजाने गरेका छन् । १० दिनयता निजी मेडिकलमा ८० जना भन्दा बढी विरामी उपचारका लागि गएको स्थानीयले बताए ।
धनुवास, गल्धाफांट, वाङ्लाङ्, वेलौजे, कठैडांडा, कोटथर लगायतका छिमेकी गाउंमा समेत झाडापखालाका विरामी परेका छन् । खर्कडँडाका १७ वर्षीय हस्तबहादुर वयम्वु र १३ वर्षीय जगतबहादुर वयम्वु र वडानं ८ गल्धाफांटकी २८ वर्षीया नरमती रुचालको मृत्यु भईसकेको छ । वर्षाको समयमा दुषित पानीको प्रयोगपछि झाडापखाला फैलिएको हुनसक्ने स्थानीय इन्द्रबहादुर राईले बताए । घटनास्थल तानसेनदेखि ६० किलोमिटर टाढा छ ।
राईकोट निमाविमा राखिएको शिविरमा आएका विरामी तथा आफन्तलाई झाडापखाला फैलिने र हुन सक्ने खतरा र वच्ने उपायका बारेमा विष्टले जानकारी गराए । शिविरमा हातधुने, व्यक्तिगत तथा वातावरणी सरसफाईको बारेमा जानकारी दिइएको थियो । 
Source:Kantipurnews

Posted by Butwalonline on 2:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुग्यो"

Leave a reply