|

अनु भइन् 'मिस मगर'

पोखरा, असार ६ (नागरिक) - 'मिस मगर पोखरा'को ताज अनु थापामगरले हात पारेकी छिन्। शनिबार राति ११ बजे पोखरा सहभागृहमा सम्पन्न प्रतियोगितामा २६ युवतीलाई पछि पार्दै उनी उपाधि जित्न सफल भएकी हुन्। 'मिस मगरको टाइटल पहिरिन असफल भए के गर्नुहुन्छ?' निर्णायकको प्रश्नमा 'जित्नु ठूलो कुरा होइन, मैले यो प्रतियोगितामा भाग लिएर प्रत्यक्ष रूपमा मगर भाषा, कला र संस्कृतिको बारेमा जान्न पाएँ।त्यही नै मेरो जित हो,' भन्ने सटिक जवाफले अनुलाई विजयी बनाएको हो। ताजसँगै उनले १५ हजार रुपैयाँ र आकर्षक उपहार पाइन्। पहिलो मिस मगर बन्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले भनिन्, 'यो क्षणमा म अत्यन्तै खुसी छु। म जे कुरामा हात हाल्छु त्यसमै लगनशील भएर लाग्छु। त्यही भएर आज यो सफलता हात लागेको हो।'प्रतिस्पर्धामा भूमा थापामगर फस्ट रनरअप भइन्। पोखराको घारिपाटन निवासी भूमाले १० हजार रुपैयाँ र उपहार हात पारिन्। किशोरी आलेले सेकेण्ड रनर अप हुन सफल भइन्। उनले नगद ५ हजार र अन्य उपहार पाईन। प्रतियोगितामा विभिन्न विधामा ११ जनालाई पुरस्कृत गरिएको थियो। पर्वत, तनहुँ, म्याग्दी, बाग्लुङ, स्याङ्जा, कास्की, बुटवलका २६ मगर युवती 'सुन्दरी' बन्न प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा फिल्म निर्देशक किशोर रानामगर, ब्युटिसियन सान्द्रा पुनमगर र सामुदायिक रेडियो वालिङका स्टेसन म्यानेजर गुमानसिंह थापामगर निर्णायक थिए।

Source:NagarikNews

Posted by Butwalonline on 4:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अनु भइन् 'मिस मगर'"

Leave a reply