|

जुवाघरबाट लोकगायिका र २६ जना पक्राउ

काठमाडौं, ११ असार 
सामाखुसी टाउनप्लानिङस्थित एक सुविधासम्पन्न जुवाघरमा छापा हानी प्रहरीले प्रहरीका श्रीमती, म्यानपावर तथा फाइनान्स सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ । जुवाघरबाट लोकगायिका सिर्जना विरही थापा पनि पक्राउ परेकी छिन् । उनले 'वनको काफल वनकै चरीलाई'भन्ने चर्चित गीत गाएकी थिइन् । 
घुम्ने कुर्सी राखिएको जुवाघरमा घुमी-घुमी जुवा खेलिरहेका सबैजना पक्राउ परेपछि चिसो हिरासतमा छन् । म्याग्दीका कुमार मल्लले सञ्चालन गरेको जुवाघरबाट पक्राउ पर्नेमा व्यापारीहरू जीतबहादुर केसी, प्रणय श्रेष्ठ, अनबहादुर पुन, सुमन क्षेत्री, रामप्रसाद डंगोल, नन्दबहादुर पाण्डे, कृष्णबहादुर बानियाँ छन् । त्यसैगरी, गायिका थापासहित अञ्जनी सिंह, सकुन थापा, सन्ध्या राना गरी चार महिला पनि पक्राउ परेका छन् । 
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी केदार रिजालले पक्राउ पर्नेहरू सबैजसो धनाढ्य रहेको बताए । उनीहरूको साथबाट प्रहरीले चार लाख २२ हजार पाँच सय रुपैयाँ, चार सय डलर र जुवा खेल्न प्रयोग हुने क्वाइन बरामद गरेको छ । 
जुवाघरमा क्यासिनोमा जस्तै क्वाइन प्रयोग गरेर व्यावसायिक रूपमा जुवा सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ । यति ठूलो रकम र क्वाइनसहित प्रहरीले पहिलोचोटि जुवाडे पक्राउ गरेको हो । 
पक्राउ पर्नेमध्ये अञ्जनी सिंह डिआइजी विनोद सिंहका आफन्त हुन् भने सकुन थापा डिएसपी दीपक थापाकी भाइबुहारी हुन् । पक्राउ परेका अन्य व्यक्ति पनि हाईप्रोफाइलका रहेको प्रहरी स्रोत बताउँछ । 
घरको माथिल्लो तला भाडामा लिएर लामो समयदेखि मल्लले जुवाघर सञ्चालन गर्दै आएको प्रहरी स्रोत बताउँछ । पक्राउ परेका व्यक्तिलाई छाड्न शनिबार राति अबेरसम्म प्रहरीलाई उच्च राजनीतिक तहबाट दबाब आएको हनुमानढोका स्रोत बताउँछ । गत वर्ष भदौमा कांग्रेसका सभासद् अच्युतराज पाण्डे पनि न्युरोडस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए । 
त्यसैगरी, शनिबार नै प्रहरीले पुरानोबानेश्वरस्थित एक जुवाघरमा छापा हानी १५ जनालाई पक्राउ गरेको छ । हिमाद राणाको घरमा सञ्चालित जुवाघरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ३० हजार नगद, ६ बुक तास तथा खेलमा प्रयोग भएका विभिन्न बैंकका चेकहरूसमेत बरामद गरेको छ । 
क्यासिनोमा नेपालीलाई प्रवेशमा कडाइ गरेपछि राजधानीका टोलटोलमा घरहरू भाडामा लिएर अवैध रूपमा जुवातास खेलाउने क्रम बढेको सूचनाका आधारमा छापा हानिएको काठमाडौं परिसरका एसपी रिजालले बताए, 'हामीले क्यासिनोमा कडाइ गरेपछि यसरी विभिन्न स्थानमा जुवा खेलाउने क्रम बढेको हो,' उनले भने,' 'हामीले निगरानी बढाइरहेका छौँ ।'
शुक्रबार मात्र प्रहरीले बौद्धस्थित एक जुवाघरमा छापा हानी ४० हजार रूपैयाँसहित सातजनालाई पक्राउ गरेको थियो । 
महानगरीय प्रहरी आयुक्त कार्यालयका नववियुक्त प्रमुख एआइजी कुवेरसिंह रानाले क्यासिनोमा नेपाली प्रवेशमा आफूले कडाइ गर्ने र विभिन्न टोलमा सञ्चालित जुवाघर पनि नियन्त्रण गरिने बताए ।

Source:Nayapatrika

Posted by Butwalonline on 8:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जुवाघरबाट लोकगायिका र २६ जना पक्राउ"

Leave a reply