|

पत्रकार कुट्नेलाई गोजीमा हालेका छैनौँ : नेपाल

सन्तोष पोखरेल, पोखरा, असार १४- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नागरिककर्मी खिलानाथ ढकाललाई कुटपिट गर्ने व्यक्तिलाई आफूहरुले गोजीमा हालेर नहिँडेको भन्दै उनी कहाँ छन्, गृहमन्त्रीलाई सोध्न पत्रकारहरुलाई सुझाव दिएका छन्। एमालेले पत्रकार ढकालमाथि कुटपिट गर्ने व्यक्तिलाई संरक्षण गरेको हो भन्ने संचारकर्मीको जिज्ञासामा पोखरा आएका नेपालले भने, 'हामीले कसैलाई संरक्षण गरेका छैनौ र गर्दैनौ पनि। खोजेर कारवाही गर्ने जिम्मा गृहमन्त्रीको हो। हामीले गोजीमा हालेर राखेका छौँ र? म कहाँ खोज्दै हिँडौ?' उनको प्रतिप्रश्न थियो।उनलाई पक्राउ गर्न गृहमन्त्री असफल भएको नेपालले बताए। 'पत्रकार कुट्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्ने जिम्मा गृहमन्त्रीको हो, पत्रकार कुट्ने जो सुकैलाई कारवाही हुनुपर्छ। गृहमन्त्रीले कारवाही गर्न सक्नुपर्छ, तर अहिलेसम्म गर्न सकेका छैनन्,' उनले भने।माओवादीले जस्तो अपराध गर्नेलाई सरकारी क्वार्टरमा संरक्षण दिएर एमालेले कदापी नराख्ने नेपालले बताए। 'माओवादीले अपराधीलाई सरकारी क्वार्टरमा लुकाएर राखेजस्तो होइन, हामीले कसैलाई संरक्षण गर्दैनौ' नेपालले भने, 'पत्रकार कुट्ने व्यक्ति कहाँ छन्, त्यो कुरा गृहमन्त्रीसँग सोध्नुस।'गृहमन्त्रीले पत्रकार कुटपिटमा संलग्न युवासंघका कार्यकर्तालाई पक्राउ गर्न प्रधानमन्त्री झलनाथ खनालसँग सहयोग मागेको बारेमा सोधिएको जिज्ञासामा नेता नेपालले भने, 'आफूले खोज्न नसक्ने अनि लुकाएको राखेको भनेर हुन्छ? यो घरमा लुकाएर राखिएको छ, हामीले पक्राउ गर्नका लागि भित्र छिर्न सकेनौ, सहयोग चाहियो भन्नुपर्‍यो नि।'एमाले नेता केपी ओलीले युवासंघ अध्यक्ष महेश बस्नेतलाई स्यावासी दिनु व्यक्तिगत कुरा भएको नेपालको भनाई थियो। 'कसैलाई कारवाही गर्नका लागि त पहिला अपराध पुष्टि हुनुपर्‍यो नि' नेपालले भने।


Source:NagarikNews

Posted by Butwalonline on 11:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार कुट्नेलाई गोजीमा हालेका छैनौँ : नेपाल"

Leave a reply