|

कुवेतबाट ३२ सय कामदार फर्किए

काठमाडौ, ९ असार


रोजगारीको खोजीमा कुवेत गएका नेपाली कामदारमध्ये पछिल्लो १६ महिनामा ३ हजार २ सय कामदार स्वदेश फर्किएका छन् । सम्झौताअनुसार तलब, भत्ता तथा सेवा–सुविधा नपाउने, बढी समय काम गर्नुपर्ने र साहुबाट कुटाइ खानेलगायतका समस्याबाट पीडित भई फर्कनुपरेको उनीहरूको भनाइ छ । यो संख्यामा वैधानिक र गैरकानुनी दुवै कामदार समावेश छन् ।
“गैरकानुनी ढंगबाट कुवेत पुगेका कामदारहरू न्यून तलबमा बढी समय काम गर्नुपर्ने, यौन शोषणमा पर्नेलगायतका समस्याबाट पीडित रहेकाले स्वदेश फर्काइएको हो,” कुवेतका लागि नेपाली राजदूत मधुवन पौडलले भने । श्रम स्वीकृति लिएर गएका कामदारलाई पनि यस्तै समस्या पर्ने गरेको उनको भनाइ छ ।
पौडेलका अनुसार दूतावासले औपचारिक रूपमा काम सुरु गरेदेखि नै शरणका लागि दूतावास आउने क्रम बढ्दो छ । कुवेतमा नेपाली दूतावासले २०६६ चैतदेखि औपचारिक रूपमा काम सुरु गरेको हो ।
“अहिलेसम्म ३ हजार २ सयभन्दा बढी कामदारलाई स्वदेश फिर्ता गर्ने कागजात बनाइसकिएको छ,” उनले भने, “यो क्रम अझै जारी छ ।” उनका अनुसार हरेक महिना करिब २ सय कामदार फिर्ता हुने गरेका छन् ।
कुवेत सरकारले फेब्रुअरी महिनामा गैरकानुनी ढंगबाट कार्यरत विदेशी कामदारलाई बिनासजाय स्वदेश फिर्ता गर्ने नियम बनाएपछि पनि ठूलो संख्यामा नेपाली कामदार फर्किएको राजदूत पौडेलको भनाइ छ । आउँदो जुन ३० सम्म गैरकानुनी कामदारलाई स्वदेश फर्कन समय दिइएको छ । “गैरकानुनी ढंगबाट कार्यरत नेपाली कामदारको संख्या ठूलो रहेको अनुमान छ,” उनले भने, “तर, हाम्रो जनशक्ति अभावले काम गर्न सकिएको छैन ।”
स्वदेश फर्काइएकामा अधिकांश घरेलु कामदार महिला छन् । “महिला कामदार गैरकानुनी ढंगबाट तेस्रो मुलुकबाट आउने गर्छन्,” राजदूत पौडेलले भने, “उनीहरू साहुबाट अपहेलित भएपछि दूतावासमा शरण लिन आउँछन् ।” उनका अनुसार कुवेतका रोजागरदाताबाट यौन शोषणमा परी गर्भवती हुने, कुटाइ खाने, समयमा तलब तलब नपाउने, बढी समय काम गर्नुपर्ने र घरमा सम्पर्क नदिनेजस्ता समस्याबाट पीडित कामदार दूतावाससम्म आउने गर्दछन् । दूतावास आश्रममै राखेर करिब ७ सय महिला कामदारलाई सम्पूर्ण कागजात बनाई स्वदेश फर्काइएको जानकारी पौडेलले दिए ।
२०१० मा १० हजार नेपाली श्रम स्वीकृति लिएर कुवेत गएको तथ्यांक वैदेशिक रोजगार विभागले दिएको उनले बताए । “तर ,कुवेत अध्यागमन विभागका अनुसार ३९ हजार ४ सय नेपाली कामदार छन् । श्रम कानुनअनुसार ती सबै कामदार गैरकानुनी हुन् ।” अधिकांश कामदारले भिजिट भिसालाई कामदारमा परिवर्तन गर्दै आएको उनको भनाइ छ । 

Source:Karobardaily

Posted by Butwalonline on 10:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुवेतबाट ३२ सय कामदार फर्किए"

Leave a reply