|

ठेकेदारको लापरवाहीले योजना पूरा भएन

विनोद परियार
बुटवल,जेठ १५
लुम्विनी आएका दर्शनार्थीलाई नहरमा डुंगा चलाएर आनन्द लिदैं मायादेवी मन्दिरको दर्शन गराउने लुम्विनी विकास कोषको योजना ठेकेदारको लापरवाहीले गर्दा अझै पूरा छैन । नहर निर्माणको केही अंश जिम्मा लिएको श्रेष्ठ, जयबाबा र गुलिभर ज्वाइन्टभेञ्चर ठेकेदार कम्पनी भागेपछि नहरको काम अलपत्र परेको लुम्विनी विकास कोषले जनाएको छ । लुम्विनी विकासको गुरुयोजनाको महत्वपूर्ण अंश मानिएको केन्द्रीय नहरको कुल लम्वाई साढे १ किलोमिटर छ । नहरको बाहिरी सतह समेत गरी ६४ मिटर चौडाई रहेकोमा १२ मिटर क्षेत्रफलमा मात्रै पानी रहने गरी निर्माण भइरहेको कोषका इञ्जिनियर सरोज भट्टराईले बताउनुभयो । नहरको साढे एक किलोमिटर क्षेत्रफल मध्ये ७ सय मिटर क्षेत्रफलको काम पाएको ठेकेदार कम्पनी श्रेष्ठ, जयबाबा र गुलिभरले २८ प्रतिशत काम गरेर बीचैमा काम सकेको जनाएको कोषको भनाई छ । आर्थिक वर्ष २०६४/०६५ मा १ करोड ३५ लाख रुपैंयाँमा ठेक्का पाएका श्रेष्ठ, जयबाबा र गुलिभरले काम संयुक्तरुपमा गर्ने सम्झौता गरेका थिए । पटक–पटक सम्पर्कको प्रयास गर्दा समेत नआएपछि लुम्विनी विकास कोषले पत्रिकामा सम्पर्कको लागि गतवर्ष सार्वजनिक सूचना जारी गरेको थियो । ठेकेदार कम्पनी भागेपछि अलपत्र भएको काम कसरी गर्ने भन्ने बारेमा लुम्विनी विकास कोषले ठोस निर्णय गरिसकेको छैन ।


बुटवल ओनलाइन

Posted by Butwalonline on 10:54 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ठेकेदारको लापरवाहीले योजना पूरा भएन"

Leave a reply