हिरोइन तस्करहरु जेल चलान
कपिलवस्तु, जेष्ठ १६ - तीन महिनाअघि कपिलवस्तु प्रहरीले पक्राउ गरेका खैरो हिराइनको कारोबार गर्ने तीन भारतीय र एक नेपाली नागरिकलाई कपिलवस्तु जिल्ला अदालतले कारागार चलान आदेश दिएको छ ।
खैरो हिरोइन तस्करीका मुख्य अभियुक्त भारत बाह्रवंकी सिद्धारा बस्ने वर्ष २६ का मोहम्मद जाबेदसहित अन्य तीन जनालाई अदालतले जेलमा राखेर कारबाही अघि बढाउन आदेश दिएको हो ।
खैरो हिरोइन कारोबार गर्ने योजना बनाइ नेपाल भित्र्याउँदै गर्दा प्रभु नाउँ, मोहम्मद सफवान मुसलमान, रघुबर सिंह र मोहम्मद जाबेद मुसलमान प्रहरीको नियन्त्रणमा परेका थिए ।
उल्लेखित चारै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कपिलवस्तु जिल्ला अदालतको अनुमतिले प्रहरीले अनुसन्धान तहकिकात सम्पन्न गरी अदालतमा पेश गरेको थियो ।
पाँचसय ग्राम खैरो हिरोइनसहित पक्राउ परेका उनीहरुलाई १५ वर्ष कैद रु २५ लाख जरिवाना तोकिएको छ । रासस
Source:kantipurnews
