अमेरिकी नागरिक अपहरणपछि मुक्त
काठमाडौ, जेष्ठ १६ - ठमेलमा बस्दै आएका एक अमेरिकी नागरिक १७ घन्टाको अपहरणपछि मुक्त भएका छन् । ठमेलको डि्रम होम होटलको २ सय ४ नम्बर कोठामा बस्दै आएका अमेरिकी नागरिक जोन रोबर्ट शनिबार राति अपहरणमा परेकामा आइतबार साँझ ७ बजे मुक्त भएर होटल आइपुगेका हुन् ।
राति १ बजे होटलमा नेपाली सेनाका व्यक्ति भएको बताउँदै पुगेका अपहरणकारीले कोठामा सुतिरहेका रोबर्टको हात बाँधी ट्याक्सीमा हालेर लगेको होटलका कर्मचारीले बताए ।
'संविधानसभा चलिरहेका बेला सुरक्षाका लागि होटल 'सर्च' गर्न आएको बताउँदै होटलभित्र पसे,' एक कर्मचारीले भने, 'रोक्न कोसिस गर्दा आर्मीको परिचयपत्र देखाउँदै उल्टै कुटपिट गरे ।' ६ महिनाअघि नेपाल आएका रोबर्टले दुई युवक र एक ट्याक्सीवाला मिलेर आफूलाई बौद्धस्थित तारा क्यासिनोमा लगेको बताएका छन् । 'मैले उनीहरूलाई चिनेको छैन, ट्याक्सीमा हालेर लगे, बाटोमा एटीमबाट पैसा निकाल्न लगाए,' उनले प्रहरीलाई भनेका छन्, 'भित्र लगेर मेरै पैसाबाट उनीहरूले क्यासिनो खेले ।'
महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक शिवबहादुर सिंहले अमेरिकी फर्किएर आएको बताउँदै थप अनुसन्धान भइरहेको बताए ।
प्रहरीले शंकाको आधारमा उक्त होटलमा काम गर्ने तीन कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । ४०६०५४४१४ राहदानी नम्बर भएका रोबर्ट भिसा सकिएर बुधबार अमेरिका फर्किने तयारीमा थिए । राजेन्द्र पोख्रेलको उक्त होटलमा उनी ३ महिनाअघिदेखि बस्दै आएको प्रहरीले जनाएको छ ।
Source:KantipurNews
