|

मोडलबाट नायिका


जस्सु गुरुङको परिचय कुनै बेला म्युजिक भिडियोको मोडल मात्र थियो, तर अहिले उनको परिचय फेरिएको छ । उनको नाम गुरुङ चलचित्रकी नायिकामा दरिएको छ । जस्सुलाई 'घान्द्रुककी ठिटी म' गीतको म्युजिक भिडियोले चिनाएको हो । टोरा अर्थात् टुहुरो शीर्षकको गुरुङ चलचित्रमा पहिलो पटक नायिका बनेकी जस्सु भन्छिन्- 'हिजोआज पनि अफर त आइरहेको छ ।'

नृत्यमा समेत अब्बल जस्सुले जातीय संस्कृति झल्कने गीतको म्युजिक भिडियोदेखि अन्य लोकगीतमा गरेर दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । गुरुङ पहिरनमा सजिएकी गुरुङले फुर्तिलो पारामा भनिन्- 'हिजोआज त छानेर मात्र काम गर्छु ।'

पोखरामा गुरुङ चलचित्र निर्माणको लहर सँगै नायिका बन्न चाहने गुरुङ युवतीहरूको दौडधूप बढ्दो छ । यहाँ दर्जनौं गुरुङ चलचित्रको निर्माणसँगै युवतीहरूको आकर्षण पनि बढेको हो ।

चौ -भाउजू) तथा क्रमु -पछ्यौरी) गरी दुई जातीय चलचित्रकी नायिका नविना गुरुङको धङ्धङी मेटिएको छैन । उनी अभिनय क्षेत्रमा लागेको पनि पाँच वर्षभन्दा बढी भैसकेको छ ।

नायिका बन्ने सौख सानै देखिको हो, नायिका नविना भन्छिन्- 'चलचित्रमा काम गरेर पनि आफ्नो जातीय संस्कृतिको संरक्षण भएको छ ।' गुरुङ भाषा-संस्कृतिमा निर्माण हुँदै आएका चलचित्रलाई हिजोआज आधुनिकताले पनि छुन थालेको छ । 'चलचित्रमा आफ्नैपन देखिनुपर्छ,' नायिका जस्सुले भनिन्- 'जातीय 'चलचित्रले आमनेपालीको मौलिक संस्कृतिलाई पनि उजागार गदै आएको छ ।'

पोखरामा अहिलेसम्म गुरुङ भाषा र संस्कृतिमा आधारित ५५ भन्दा बढी चलचित्र निर्माण भैसकेका छन् । ती चलचित्रमा अभिनय गर्ने नायिका एक दर्जनभन्दा बढी छन् । तीमध्ये अधिंकाश अहिले पनि सक्रिय छन् । नगन्य मात्र वैवाहिक जीवनपछि पलायन भएका छन् । केही गुरुङ चलचित्रमा काम गरेकी माया गुरुङ अहिले हङकङ पुगेकी छिन् ।

गुरुङ चलचित्रमा अभिनय गर्ने नायिकाहरूले अन्य चलचित्रमा अभिनय गरेको पाइँदैन । गुरुङ भाषाकै मेरो गाउँ र मेरो बाटो शीर्षकका दुई चलचित्रमा अभिनय गरेकी नायिका अनिता गुरुङ भन्छिन्- अरू धारका चलचित्रमा काम गर्न घरबाट अनुमति छैन । जातीय पहिरन र संस्कृति देखाइने हुनाले गुरुङ चलचित्रमा काम गर्न सजिलो हुने उनले बताइन् । अनिता भन्दै थिइन्- 'नेपाली चलचित्रमा अभिनय गर्दा जातीय पहिरन मात्र सीमित हुन पाइँदैन ।'

भाषिक चलचित्र निर्माणको क्रम बढ्दै गएपछि गुरुङ चलचित्रमा नयाँ अनुहार पनि त्यत्तिकै देखा परिरहेका छन् । वसन्ती गुरुङ, दीप्ति गुुरुङ, सुनिता गुरुङ, छाया गुरुङ, मीरा गुरुङ, प्रतिज्ञा गुरुङ, पविना गुरुङ, सविना गुरुङ आदि अहिले निर्माण भैरहेका गुरुङ चलचित्रमा सक्रिय छन् ।

पछिल्लो समयमा गुरुङ चलचित्रमा चिनिएकी नाम हुन्— दीप्ति गुरुङ । पाहुना मेरो जिन्दगी तथा तिनागा आदि चलचित्रकी नायिका दीप्तिलाई चलचित्रमार्फत जातीय संस्कृति उजागर गर्न पाएकोमा आनन्द लाग्छ । पाँच वर्षदेखि यही क्षेत्रमा सक्रिय दीप्तिले भनिन्- 'गुरुङ चलचित्रमै करियर बनाउने सोच छ ।'
Source:saptahik

Posted by Butwalonline on 10:31 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोडलबाट नायिका"

Leave a reply