मिस तराई 2011
प्रसुनले जितिन् मिस तराईको ताज
'पारिवारिक, सामाजिक, राजनीतिक एवं अन्य क्षेत्रमा कम सहभागी भएका तराईका महिलाका लागि यो प्रतियोगिता घरको चार भित्ताबाट निस्किएर आफ्नो प्रतिभा देखाउने चुनौतीका साथै सुअवसर पनि हो। यसले तराई क्षेत्रको समाजलाई समयसँगै परिवर्तन हुनुपर्ने कुराको गतिलो सन्देश पनि दिएको छ,' मिस तराई अन्य प्रतियोगिताभन्दा कुन कारणले फरक छ भन्ने प्रतियोगिताकी प्रमुख निर्णायक ममता झाद्वारा सोधिएको निर्णायक प्रश्नको उल्लेखित उत्तर दिएर महोत्तरीकी २२ वर्षीया प्रसुन सिंहले पहिलो मिस तराई-२०११ को मुकुट आफ्नो शिरमा सजाइन्। उनीभन्दा एक कदम पछाडि रौतहटकी १९ वर्षीया अनुश्री वैद्यले मिस ट्यालेन्टको एवार्डसँगै फस्ट रनर्सअपको उपाधि जितिन्। सेकेन्ड रनर्सअपको उपाधिमा विराटनगरकी २३ वर्षीया अमिशा थापाले आफ्नो नाममा दर्ता गरिन्।
तराई सबै भाषाभाषी, जातजाति, कला-संस्कृति, धर्मको साझा आँगन हो भन्ने नारासहित इन्फिनिटी इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको पहिलो मिस तराईमा तराईका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्ने १२ युवतीको सहभागिता थियो। प्रतियोगिताको प्रारम्भमा सहभागीहरूले तराई क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक वेशभूषामा प्रस्तुत भएर आ-आफ्नो परिचय दिएका थिए। त्यसपछि १२ जना सहभागीले उपस्थित निर्णायकहरूको प्रश्नको सामना गरेका थिए। प्रश्नोत्तर चरणमा भने सहभागीहरू कुर्ता सलवारमा प्रस्तुत भएका थिए।
गायक सपन श्रेष्ठको गीत, जेट्ली डान्स एकेडेमीका कलाकारहरूको भोजपुरी, रिमिक्स तथा वि बोइङ नृत्यबाट प्रतियोगितात्मक वातावरण केही समयका लागि मनोरञ्जक बन्न पुगेको थियो। प्रतियोगिताका अन्य विजेतामा सीता पौडेल डिसिप्लिन, रन्जु सुनामा कल्चरल, पूजा थापा स्माइल, नम्रता धिताल फ्रेन्ड्ली, भावना घिमिरे फोटोजेनिक, कुमारी श्रेया ब्युटीफुल हेयर, मनिशा शर्मा क्याटवाक, प्रियंका रौनियार पपुलर तथा सेली साह पर्सनालिटी रहे।
Source:Saptahik
