पशुपति कब्जा गर्न नसक्नेले देश कब्जा गर्ने ध्वास नदिऊः गगन
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशकब्जा गर्छु भनेर धम्की नदिन माओवादीलाई चेतावनी दिनु भएको छ ।
राष्ट्रिय जागरण अभियान अन्तरगत शुक्रबार राजधानीको खुलामञ्चमा आयोजित आमसभालाई सम्वोधन गर्दै थापाले भन्नुभयोः-’पशुपति र सेना कब्जा गर्न नसक्नेले देश कब्जा गर्छु भन्ने ध्वास नदिएहुन्छ ।’
माओवादीको नाम नै नलिई थापाले गृह मन्त्रालय पाउँदैमा देश कब्जा गर्छ भन्ने सोचेको भए मन्दिरहरु धाउँदै गरेका पूर्वराजालाई हेर्न सुझाव दिनुभयो ।
विगतमा माओवादीसँग धेरै सहमति गरेपनि कार्यानवयन नभएको भन्दै उहाँले अव मसी नसक्ने सहमति गर्ने बताउनुभयो । उहाँले भन्नुभयोः-’अव हाम्रो कारबार उधारोमा हुँदैन । नगदमा हुन्छ । खनखन गनेर मात्र हुन्छ ।’
अहिलेको मुल समस्या बन्दुक उठाउनेहरुसँग मात्र भएको भन्दै कांग्रेस नेता थापाले कांग्रेसले अघि सारेको अवधारणामा सहमति हुन हो भने मुलुकमा शान्ति र संविधान बन्ने दावी गर्नुभयो ।
कांग्रेस अहिले कुनै दल विशेषविरुद्ध नभई बन्दुकविरुद्ध उनिएको भन्दै आफूहरुलाई साथ दिन आहृवान गर्नुभयो । उहाँले भन्नुभयोः-सत्रु खोज्दै हिड्ने बन्दुकहरु अहिले पेरिसडाँडाभित्रै खोजिरहेका छन् ।’
Onlinekhabar

