दुईतिहाइबाट म्याद थपे राजनीतिक मुठभेडः नेपाल
६ जेठ, मोरङ । नेकपा एमालेका नेता माधवकुमार नेपालले दुईतिहाइको बलले संविधानसभाको म्याद थप गरे मुलुकमा राजनीतिक मुठभेडको स्थिति सिर्जना हुने चेतावनी दिनुभएको छ ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले दुईतिहाइले होइन चार राजनीतिक दलहरुको सहमतिमा मात्रै संविधानसभाको म्याद थप गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले वर्तमान समय सरकार गिराउने र बनाउने भन्दा शान्ति र संविधान लेखनको कार्यलाई निष्कर्षमा पुर्याउनु बढी महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘यसैले शान्तिप्रक्रिया र संविधान निर्माण कार्यलाई टुङ्गो लगाउने प्रस्तावमा सहमति बनाउन आवश्यक छ ।’
सुनसरीमा हुने सरदार बाँतर समुदायको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आउनुभएका वरिष्ठ नेता नेपालले वर्तमान सरकारले आशा गरेअनुरुप क्षमता देखाउन नसकेको र जनविश्वास पनि गुमाइसकेको भए पनि आफूहरु अझै पनि वर्तमान सरकारलाई नै बल दिन लागिपरेको बताउनुभयो ।
आफूहरुले पाँच हजार लडाकू समायोजनमा सहमति जनाएको भए पनि माओवादीहरु सिपालु चालबाज भएकाले अझै बढी लडाकू समायोजन गराउन लागि परिरहेको भन्दै उहाँले वर्तमान समय बार्गेनिङको नभई सहमतिको भएकाले सोही अनुरुप हुने बताउनुभयो ।
उहाँले वर्तमान सरकारबारे उत्पन्न विवाद पार्टी निर्णयबाटै हल गरिने र त्यसका लागि ८ देखि १० गतेभित्र पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक डाकिसकिएको जानकारी गराउनुभयो । रासस