|

बुटवल क्याम्पस जीर्ण बन्दै

बुटवल
बुटवल बहुमुखी क्याम्पसका सबैजसो भौतिक संरचना जीर्ण बन्दै भत्किने अवस्थामा पुगे पनि मर्मतसम्हार हुन सकेको छैन । पश्चिम नेपालका १० जिल्लाका विद्यार्थी अध्ययनरत उक्त क्याम्पसका १३ वटा भवनमध्ये अधिकांश जीर्ण छन् । कक्षाकोठा भ्fm्यालढोकाविहीन छन् भने शौचालय प्रयोगविहीन बनेका छन् । विद्यार्थीहरू शौचका लागि क्याम्पसबाहिर जान बाध्य छन् । एमएड प्रथम वर्षका विद्यार्थी न्ाारायण पोखरेल भन्छन् 'क्याम्पसभित्र शौचालय नभएपछि विद्यार्थीका लागि यो भन्दा ठूलो समस्या अरू के हुनसक्छ र ? ' सन्ध्याकालीन विद्यार्थीका लागि सजिलै वैकल्पिक विद्युत्को व्यवस्था नहुँदा पढाइमा समस्या भएको उनले बताए ।

क्याम्पसको अवस्था दिन-प्रतिदिन दयनीय हुँदै गए पनि मर्मतसुधारमा प्रशासनले खासै ध्यान नदिएको अनेरास्ववियु अध्यक्ष कमल भण्डारीले आरोप लगाए । नेविसंघ इकाई सभापति लोकप्रसाद खरेलले पनि क्याम्पसको शैक्षिक र व्यवस्थापकीय सुधार ल्याउन क्याम्पस प्रशासनले अटेरी गर्दा विद्यार्थीहरूको पढाइ प्रभावित हुने र गुणस्तर खस्कने क्रम बढेको दाबी गरे ।

विद्यार्थीहरूका अनुसार सरकारपिच्छे क्याम्पस प्रमुख फेरबदल हुने, राजनीतिक प्रतिशोधका कारण एक दलको क्याम्पस प्रमुखलाई अन्य दलसम्बद्ध प्राध्यापक र विद्यार्थी संगठनले सहयोग नगर्ने प्रचलनका कारण बुटवल क्याम्पसको भौतिक अवस्था सुधारमा चुनौती थपिंदै गएकोे हो । बीए तेस्रो वर्षका विद्यार्थी कमला थापा भन्छिन् 'विश्व विद्यालयले त्यसो हुन नदिन हाम्रा होइन राम्रा क्याम्पस प्रमुख र प्राध्यापक नियुक्त गर्ने तथा विद्यार्थी संगठनले पनि दललाई सघाउने मुद्दा उठाएर आन्दोलन होइन विद्यार्थीको शैक्षिक स्तर बढाउने खालका माग लिएर अघि बढ्नुपर्छ ।'

यता, क्याम्पस प्रशासनले भने त्रिभुवन विश्वविद्यालयले प्राध्यापकहरूको टाउको गनेर मात्र पैसा पठाउने, सरकारले मर्मतसम्भारका लागि सुको बजेट नदिने र विद्यार्थीहरूसँग पनि अत्यन्तै न्यून शुल्क लिने गरेको र भौतिक अवस्था सुधार्न समस्या देखिएको दाबी गरेको छ । भौतिक अवस्था दयनीय भएकै कारण अध्ययन अध्यापनमा समस्या देखिएपछि सुधारका लागि गत वर्ष नै ५ करोड बराबरको योजना अर्थ मन्त्रालयमा पठाए पनि त्यसको समेत टुंगो नलाग्दा समस्या बढ्दै गएको प्रशासनको गुनासो छ । क्याम्पस प्रमुख शिव ज्ञवालीले क्याम्पसको चुहिने भवन, पल्ला नभएका झ्यालढोका, थोत्रिएको पुस्तकालय लगायतका कारण विद्यार्थीको पढाइ प्रभावित भएको स्वीकार गरे ।

Source:Kantipur News

Posted by Butwalonline on 9:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवल क्याम्पस जीर्ण बन्दै"

Leave a reply