|

‘ठोस आधार तय भए प्रधानमन्त्रीको राजीनामा’

काठमाडौं, १० जेठ

सत्तारूढ नेकपा एमालेको मंगलबार पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकले शान्ति र संविधानका लागि ठोस आधार तय भएमा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त पार्ने निष्कर्ष निकालेको छ ।

बैठकको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानका लागि ठोस आधार तयार भएमा आफू सरकारको विकल्पका लागि तयार रहेको बताए । “यसअघि माधवकुमार नेपाल नेतृत्वको सरकारले राष्ट्रिय सहमति भन्दै राजीनामा दिए पनि थुपै्र समय राजनीतिक अवरोध भइरह्यो त्यसैले फेरि त्यस्तो अवस्था आएमा वर्तमान सरकारको विकल्प खोज्नुको कुनै औचित्य छैन,” बैठकमा खनालले भनेका थिए ।

प्रधानमन्त्री खनालले संविधानसभाको म्याद ६ महिना थप्ने र ५ हजार माओवादी लडाकुको समायोजन गर्ने पार्टीको आधिकारिक निर्णय भए पनि राजनीतिक दलहरूको सहमतिमा थपघट गर्न सकिने बताए ।

यसैबीच मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले सोमबार पोलिटब्युरोले पारित गरेको प्रस्तावलाई संशोधनसहित अनुमोदन गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत शान्ति र संविधानको प्रस्तावलाई अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा पेस गरिएको थियो ।

शान्ति र संविधानका लागि मार्ग प्रशस्त पार्ने महासचिव पोखरेलको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले ठोस आधार भएमा सरकारको विकल्प खुला राख्ने वाक्यसहित अनुमोदन गरिएको नेता रघुजी पन्तले जानकारी दिए । प्रस्तावमा ६ महिना संविधानसभाको म्याद थप्ने र ५ हजार माओवादी लडाकुलाई समायोजन गर्ने उल्लेख भए पनि सो वाक्य संशोधन गरेर राजनीतिक सहमति जुटाई शान्ति र संविधानको कार्य अगाडि बढाउने भन्ने शब्द थपिएको छ ।

मंगलबारको बैठकमा नेता ओली र उनी निकटका केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री खनालको राजीनामा माग गरेका थिए भने केन्द्रीय सदस्य योगेश भट्टराई र घनश्याम भुसालसहितका खनाल निकटका केन्द्रीय सदस्यहरूले राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त पार्ने शब्दलाई महासचिवको प्रस्तावबाट हटाउनुपर्ने माग राखेका थिए ।

ओलीद्वारा नौबँुदे लिखित प्रस्ताव पेस

एमाले नेता केपीशर्मा ओलीले प्रधानमन्त्री खनालको राजीनामाको माग राख्दै नौबुँदे लिखित प्रस्ताव मंगलबारै केन्द्रीय कमिटी बैठकमा पेस गरेका छन् । उनको प्रस्तावमा राजनीतिक गतिरोध समाधान गर्न प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख छ ।

आफूले पेस गरेको प्रस्तावमा बोल्दै केन्द्रीय कमिटी बैठकमा छलफल गर्न माग गरे पनि ओलिको प्रस्ताव बैठकको एजेन्डा नबनेको एक केन्द्रीय सदस्यले बताए । ओलीले आफ्नो प्रस्तावको व्याख्या गर्दै राष्ट्रको मुख्य एजेन्डा शान्ति र संविधानलाई बाधक बनाएर सरकारको नेतृत्व लिइरहनुको कुनै औचित्य नरहेकाले प्रधानमन्त्री खनालको राजीनामा आवश्यक भएको बताएका थिए ।

नेता ओलीले प्रधानमन्त्री खनालले राजीनामा दिएर मार्गप्रशस्त पारेमा प्रमुख दलहरूबीच सहमति भई राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गरेका थिए । नेता ओलीको प्रस्तावलाई एक सातापछि बस्ने केन्द्रीय कमिटी बैठकमा छलफलका लागि एजेन्डा बनाउने नेता रघुजी पन्तले जानकारी दिए ।

कारोबार

Posted by Butwalonline on 8:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "‘ठोस आधार तय भए प्रधानमन्त्रीको राजीनामा’"

Leave a reply