|

नेपाली विद्यार्थी अमेरिकी सपmटवेयर प्रतिस्पर्धामा

काठमाडौ, चैत्र २४ -
माइक्रोसफ्टद्वारा आयोजित अमेरिकाको राष्ट्रियस्तरको गेम सफ्टवेयर डिजाइन प्रतियोगितामा नेपाली विद्यार्थीको टिम छनोटका दुई चरण पार गरेर प्रतिस्पर्धामा खरो उत्रिएको छ ।

सिन्धुलीबाट पाँच वर्षअघि अध्ययनका लागि गएका सुरेश साहको समूहले गेम डिजाइनका १२ समूहसँग प्रतिपर्धा गर्दै छ । यो समूहलाई विश्वभरिका फेसबुक प्रयोगकर्ताले भोट दिन सक्नेछन् । प्रतियोगितमा विजयी हुने ४ समूहले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार डलरको पुरस्कार

पाउनेछ । विजेता समूहलाई माइक्रोसफ्टले कम्पनी स्थापना गर्न र उसको उत्पादनको बजारीकरणमा सघाउने छ । आगामी साता माइक्रोसफ्टको सियाटलस्थित केन्द्रीय कार्यालयमा विजेता घोषणा हुनेछ । विजेता समूहको सफ्टवेयर माइक्रोसफ्टले आफ्नो उत्पादनमा प्रयोग गर्नेछ ।

माइक्रोसफ्टले ग्लोबल वार्मिङ, सुनामी, भोक, आणविक हतियार आदिजस्ता मुद्दालाई नयाँ आविस्कारहरूले सम्बोधन गर्न प्रतियोगिता गरेको जनाएको छ । साहको समूहले वातावरण सन्तुलन र हरित विश्व 'थिम' मा गेम सफ्टवेयर तयार गरेको छ । प्रतिस्पर्धामा छानिएकोमा उनी निकै हषिर्त छन् । 'अमेरिकामा नेपालीले प्राज्ञिक क्षेत्रमा प्रगति गर्न गाह्रो छ,' उनले भने, 'प्रतिस्पर्धा जिते भने धेरै अवसरले पछ्याउँदै आउनेछन् ।'

माइक्रोसफ्टले प्रतिस्पर्धाका लागि आह्वान गरेपछि स्थानीय साथीहरूसँग मिलेर पहिले आफ्नो धारणा पठाउँदा छनोटमा परेको साहले टेलिफोनबाट सुनाए । दोस्रो चरणमा छनोटकर्तासामू उनीहरूले ३ मिनटको गेम डिजाइन प्रस्तुत गरेका थिए । त्यसमा समेत छानिएपछि उनीहरूलाई फेसबुकमा भोटबाट छनोटका लागि राखिएको छ । उनको टिमलाई इम्याजिनकप डट युएसमा लग इन गरेर भोट दिन सकिन्छ । भोट हाल्नेले समेत सातामा एउटा गेम खेल्ने एक्स-बक्स जित्नेछ । उनको टिम गेम डिजाइन समूहको दसौं नम्बरमा छ । माइक्रोसफ्टले सफ्टवेयर डिजाइनमा पनि यस्तै प्रतियोगिता गरेको छ । टेक्सासमा बसेर पाँच वर्षदेखि कम्प्युटर इन्फर्मेसन सिस्टम अध्ययन गरिरहेका साहलाई उनको प्रतिभा हेरेर त्यहाँको कलेजले पूर्ण छात्रवृृत्तिको व्यवस्था गरेको छ । 'जागिरको प्रस्तावसमेत कलेजले दिएको छ,' साहले भने, पढाइ सकेपछि त्यसबारे सोच्नेछु । सफ्टवेयर डिजाइनसमेत गर्दै आएका उनले भविष्यमा स्वदेश फर्केर सूचना प्रविधिको विकासमा काम गर्ने इच्छा व्यक्त गरे । सामान्य व्यापार गर्दै आएका उनका बाबु देवनारायण छोराको प्रगतिमा निकै खुसी छन् । 'दुःख गरेर उसलाई यो अवस्थामा पुर्‍याएँ,' उनले भने, 'अब उसले देशकै नाम राखेको छ ।'

विश्वकै धनीमध्ये एक बिल गेट्सको कम्पनीले आयोजना गरेको प्रतिस्पर्धा जिते सुरेशले नाम र दाम दुवै कमाउनेछन् । उनलाई शुभकामना ।
Source:Kantipur News

Posted by Butwalonline on 2:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली विद्यार्थी अमेरिकी सपmटवेयर प्रतिस्पर्धामा"

Leave a reply