माओवादीको बुई चढेर हिँडिरहे खनाल भिरबाट लड्ने
३ वैशाख, तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी संविधान निर्माण र शान्तिप्रक्रिया विरोधी षड्यन्त्रमा लागेको आरेप लगाउनु भएको छ ।
दमौलीमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले माओवादी आफैले शान्ति र संविधान नचाहेपनि अरुलाई दोष दिँदै हिँडेको आरोप लगाउनु भयो ।
माओवादीले चिलले चल्ला लाने भयो भनेर स्यालले खोरबाट चल्ला चोरेझैँ गरिरहेको आरोप पौडेलको छ ।
माओवादी षड्यन्त्रको प्रमुख मतियारका रुपमा प्रधानमन्त्री झलनाथ खनाल रहेको आरोप लगाउँदै पौडेलले माओवादीको बुई चढेर हिँडिरहे खनाल भिरबाट लड्ने चेतावनी दिनुभयो ।
संविधान लेखनका क्रमममा देखिएका विवाद समाधानका लागि प्रचण्डलाई दुईपटकसम्म संयोजक बनाए पनि माओवादी भित्रैबाट काम गर्न नदिएर उहाँलाई निस्क्रिय पारिएको पौडेलको दावी छ ।
Source:Onlinekhabar
