|

नेपाल दोस्रोपल्ट फाइनल चरणमा

काठमाडौ, चैत्र २९ -  नेपालले श्रीलंकासँग गोलरहित बराबर खेल्दै एएफसी च्यालेन्ज कप-२०१२ को फाइनल चरण यात्रा सोमबार निश्चित गरेको छ । एक-एक जित, बराबर र हारको नतिजा बेहोर्दै ४ अंक जोडेर नेपालले समूह 'डी' उपविजेताका रूपमा छनोट पार गरेको हो । सिनियर तहमा नेपाली राष्ट्रिय फुटबल टिमले कुनै पनि प्रतियोगिताको छनोट पार गरेको यो दोस्रो अवसर हो ।
यसअघि नेपालले छनोट पार गरेर सन् २००८ मा च्यालेन्ज कपको फाइनल चरण खेलेको थियो । अर्को खेलमा अफगानिस्तानलाई २-० ले हराएर डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाले पनि फाइनल चरणको टिकट काट्यो । अफगानिस्तानको हारले पनि नेपाललाई फाइनल चरण प्रवेशका लागि बराबरी नतिजा पर्याप्त भयो ।
तीनै खेल जितेर नौ अंक जोडेको उत्तर कोरियाले छनोट समूहमा पहिलो स्थान हासिल गर्‍यो । अफगानिस्तान एक जित र दुई हार बेहोर्दै ३ अंक जोडेर समूहमा तेस्रो भयो । नेपालसँग बराबरी गरे पनि उत्तर कोरिया र अफगानिस्तानसँग हार खेपेको श्रीलंका एक अंकसहित पुछारमा रह्यो । श्रीलंका छनोट समूह 'डी' मा गोलको खाता खोल्न असफल एक्लो टिम हो ।
अनुकूल नतिजा आत्मसात् गरे पनि नेपालले श्रीलंकाविरुद्ध लोभलाग्दो खेल पस्कन भने सकेन । दस महिनायता दुई ठूला प्रतियोगिता विश्वकप र एसियन कप खेलेको उत्तर कोरियाविरुद्ध शनिबार गरेको उत्कृष्ट प्रदर्शन नेपालले सोमबार दशरथ रंगशालामा दोहोर्‍याउन सकेन । पहिलो हाफको तुलनामा दुवै टिमले दोस्रोमा सुधारिएको प्रदर्शन गरे ।
अन्तिम २० मिनेट रक्षात्मक रणनीति अँगालेपछि नेपालले दबाब खेप्नुपर्‍यो । 'हाम्रा लागि विश्वकपको फाइनलसरह भएकाले डिफेन्सिभ खेलेका हौं,' नेपालका प्रशिक्षक ग्राहम रोबर्ट्सले भने, 'दस साता खेलाडीले कडा मिहिनेत गरे । त्यसैले ४-५ खेलाडी पूर्ण स्वस्थ नहुँदै पनि हामीले छनोट पार गर्‍यौं । ५ दिनमा ३ खेल खेल्नु गाह्रो हो ।'
उत्तर कोरियाविरुद्ध राम्रो खेलेकाले दर्शकले आस गरेजस्तो उच्चस्तरको खेल पस्कन नसकेको बेलायती प्रशिक्षक रोबर्ट्सले
बताए । 'विशेषगरी सेन्टर डिफेन्सको प्रदर्शन उच्चकोटिको रह्यो,' इङलस क्लब टोटेनहमका पूर्वकप्तान रोबर्ट्सले भने, '५० प्रतिशतमात्र फिट भएको स्थितिमा कप्तान सागर थापाले पूरै समय उत्कृष्ट प्रदर्शन गरे ।
रविन श्रेष्ठ पनि ३० प्रतिशत फिट हुँदै खेलेका हुन् ।' सन् २००६ को उपविजेता श्रीलंकाविरुद्ध नेपालले ४ फ्रिकिक र ५ कर्नर प्रहार गरे पनि राम्रो मुभ बुन्न सकेन । दुईपल्ट पोस्ट आक्रमण गरेको नेपालले ६ पल्ट क्रस निकाल्यो । खेलमा एकमात्र गोलको अवसर श्रीलंकाले छैटौं मिनेटमै पाएको थियो ।
फरवार्ड मोहमद सफराज कइजले १० यार्डबाट पहिलो बारमा प्रहार गरेको बल गोलकिपर किरण चेम्जोङले नियन्त्रणमा लिए । श्रीलंकाले २ कर्नर र ६ फ्रिकिक प्रहार गरे पनि गोलका थप मौका सिर्जना गर्न सकेन । विशेषगरी एयर बल र लामो पासमा श्रीलंका राम्रो देखिएको थियो । नेपाली स्ट्राइकर र मिडफिल्डरको प्रदर्शन प्रशंसायोग्य रहेन ।
जुमनु राईले पेनाल्टी बक्समा प्राप्त मौकामा फितलो प्रहार गरेपछि बल श्रीलंकाली गोलकिपर कुमारा फर्नान्डोले सजिलै पञ्जामा पारे । अनिल गुरुङले दायाँ खुट्टाले ३६ औं मिनेटमा प्रहार गरेको बल पोस्ट नजिकिँदै बाहिरियो । सन्दीप राईले २२ यार्डबाट ६३ औं मिनेटमा प्रहार गरेको फ्रिकिक बल गोलकिपर फर्नान्डोले मुस्किलले बचाए ।
सब्स्िटच्युट राजु तामाङले हानेको कर्नरमा जुमनुले पेनाल्टी बक्सबाट बाइसाइकल किक प्रहार गरे पनि बलले पोस्टको दिशा लिन सकेन । 'लामो योजनासँगै युवा खेलाडीलाई मौका दिएका छौं,' श्रीलंकाका दक्षिण कोरियाली प्रशिक्षक जङ जुङले भने, 'त्यसैले हारमा दुःखी छैनौं ।' सन् २००८ मा च्यालेन्ज कपको फाइनल चरणको अन्तिम खेलमा नेपालसँग ३-० ले हारेको श्रीलंकाली टिमका प्रशिक्षक जुङ नै थिए ।
त्यसबेला टिममा भएका नेपालका ११ मध्ये नौ र श्रीलंकाका ७ मध्ये ४ खेलाडी दशरथ रंगशालामा ओर्लिएका थिए । इंग्ल्यान्डका पूर्वखेलाडी रोबर्ट्सले उत्तर कोरियासँग खेलेका पहिलो रोजाइका चार खेलाडी परिवर्तन गरेका थिए । रविन श्रेष्ठ, विकाससिंह क्षेत्री, राजु तामाङ र गणेश लावतीलाई सब्स्िटच्युटमा राख्दै रोहित चन्द, अनिल, जुमनु र दीपकलाई प्लेइङ सेटमै ल्याएका थिए । कुर्कुच्चाको चोटबाट मुक्ति पाएका रोहितको प्रदर्शन प्रशंसायोग्य थियो ।
रोबर्ट्सको अनुबन्ध लम्बिन सक्ने
नेपालको च्यालेन्ज कप छनोट पार गर्ने लक्ष्य प्राप्तिसँगै प्रशिक्षक रोबर्ट्सको अनुबन्ध लम्बिन सक्ने सम्भावना बढेको छ । 'उनको कामबाट हामी सन्तुष्ट छौं,' एन्फा अध्यक्ष गणेश थापाले भने, 'त्यसैले अहिलेको टिमसहित उनको अनुबन्ध अवधि लम्ब्याउन चाहन्छौं । उनीसँगको छलफलपछि थप अवधिको टुंगो लाग्नेछ ।'
पाकिस्तानको राष्ट्रिय टिमको प्रशिक्षक भइसकेका ५१ वर्षीय रोबर्ट्स १४ माघमा नेपाल आएका थिए । च्यालेन्ज कप छनोटको समाप्तिसँगै उनको अनुबन्ध पनि सकिएको छ । 'मेरो अवधि थप्ने/नथप्नेबारे एन्फा अध्यक्ष थापासँग मंगलबार कुरा गर्नेछु,' शुक्रबार घर र्फकने योजनामा रहेको उनले बताए ।
उत्तर कोरियाको तेस्रो जित
उत्तर कोरियाले फिफा वरीयतामा ८२ स्थानमुनिको अफगानिस्तानलाई २-० ले शनिबार पराजित गर्‍यो । हल्चोक मैदानमा चोए कुम चोलले पहिलो हाफको इन्ज्युरी टाइममा गोल
गर्दै कोरियाली टिमलाई अगाडि बढाए । रि चो म्योङले ७४ औं मिनेटमा दोस्रो गोल गर्दै उसको जित निश्चित गरे । छनोटमा म्योङको २ र चोलको ३  गोल भएको छ ।
फाइनल समीकरण पूरा
नेपाल र उत्तर कोरियाको फाइनल प्रवेश पक्का भएसँगै च्यालेन्ज कपको चौथो संस्करणको फाइनल चरणको समीकरण पूरा भएको छ । छनोटको चार समूहमा ४-४ टिम गरी कुल १६ देश सहभागी थिए । चार समूहका उपविजेता र विजेता गरी कुल आठ टिमले फाइनल चरणको बाटो तय गरेका छन् ।
सन् २०१२ मा हुने फाइनल चरणको आयोजना मिति र स्थानबारे अहिलेसम्म तोकिएको छैन । पहिलोपल्ट सहभागी प्यालेस्टाइन र फिलिपिन्सले समूह 'ए,' ३ वर्षअघिको विजेता भारत र गत वर्षको उपविजेता तुर्केमेनिस्तानले 'बी', माल्दिभ्स र २००६ को च्याम्पियन ताजकिस्तानले यसअघि नै छनोट पार गरिसकेका छन् । ताजकिस्तानले २००८ मा पनि फाइनल खेलेको
थियो ।
पराजय बेहोरेर पनि फाइनल चरण प्रवेश गर्ने नेपाल एक्लो हो । बाँकी सात टिमले अपराजित रहँदै छनोट पार गरेका हुन् ।
प्यालेस्टाइन र किर्गिस्तानसँग बराबर खेलेपछि नेपाल तेस्रो संस्करणको फाइनल चरणमा स्थान बनाउन असफल भएको थियो । गत वर्ष अन्तिम चारमा पुगेका म्यानमारसँगै श्रीलंका, बंगलादेश र किर्गिस्तानको चुनौती यसपल्ट छनोटमै समाप्त भयो ।
नेपाली टिमः किरण चेम्जोङ (गोलकिपर), सागर थापा (कप्तान), सन्दीप राई, दीपक भुसाल, रोहित चन्द, विराज महर्जन, नीराजन खड्का (६०-राजु तामाङ), भोला सिलवाल, भरत खवास (५४-सन्तोष साहुखल), जुमनु राई र अनिल गुरुङ (७२-रविन श्रेष्ठ) ।


नेपाल ०-० श्रीलंका
उत्तर कोरिया २-० अफगानिस्तान


अंक तालिका
छनोट समूह 'डी’
टिम    खेल    जित    बराबर    हार    गोल    अंक
उत्तर कोरिया    ३    ३    -        -    ७-०    ९
नेपाल    ३    १    १        १    १-१    ४
अफगानिस्तान    ३    १    -        २    १-३    ३
श्रीलंका    ३    -    १        २    ०-५    १




 Source:Kantipur News

Posted by Butwalonline on 7:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल दोस्रोपल्ट फाइनल चरणमा"

Leave a reply