होलीले किन चोली नै रंग्याउँछ ?

होलीले किन चोली नै रंग्याउँछ ?
अहिले होलीले चोली होइन, स्कर्ट र टिसर्ट रंग्याउन थालेको छ । होलीले चोली रंग्याउनेचाहिँ पुरानो बेलाको कुरा हो, जति बेला महिलाहरूले चोली लगाउँथे । अहिले केही पनि नलगाउने जमाना आएको छ । त्यसकारण चोली रंगिने त कुरै भएन । होलीमा जे रंगिन्छ, त्यो भित्री वस्त्रको के कुरा गर्नु ?दीपकराज गिरी (हास्यकलाकार)
होली एउटा अत्यन्तै रमाइलो अनि रोमान्टिक पर्व हो । यो पर्वमा रंगसँगै रोमान्सका धेरै कुरा मिसिएका हुन्छन् र गीत-संगीत त्यसलाई व्यक्त गर्ने एउटा सशक्त माध्यम हो । मेरो सम्झनामा युवतीहरू त्यति खुलेर रोमान्स अभिव्यक्त गर्न सक्दैनन् । त्यसैले यस प्रकारको पर्वले उनीह रूलाई खुल्न सहयोग गर्छ । होलीमा चोली रंगिएको प्रसंगचाहिँ प्रतीकका रूपमा प्रयोग गरिएको होला ।
रामकृष्ण ढकाल (गायक)
होलीले रंगायो मेरो नयाँ चोली... गीत बनेपछि होलीमा चोली नै रंग्याउनुपर्छ भन्ने मान्यता विकसित भएजस्तो लाग्छ । रंगहरूको पर्व होलीमा सबै कुरा रंगीन हुने भएकाले चोलीलाई रङ्याउने प्रसंग समावेश गरिएको हो कि ? मेरो विचारमा चोली नै रंग्याइनुपर्ने कारणचाहिँ पुरुषहरू को आकर्षणले गर्दा पनि हो । चोलीमा झल्किने कामुकतामा पनि यो कुराको अर्थ लुकेको छ ।
अयुव केसी (नायक)
हा हा हा... यो प्रश्नले दोहोरो अर्थ बोकेको छ । मेरो विचारमा होलीमा महिलाहरूको चोली रंग्याउन मात्र होइन, उनीहरूको चोलीमै ताकेर पिच्कारी हान्न पाउँदा रमाइलो लाग्ने भएकाले होलीले चोली रंग्याउन खोजिएको हुनुपर्छ ।
सीताराम पोखरेल (गायक)
होली मित्रता तथा माया-प्रेम बढाउने पर्व हो । यो पर्वमा केटा-केटा तथा केटी-केटीभन्दा पनि केटाले केटीसँग रंग दलेर खेलेको कुरालाई बढी रमाइलो रूपमा लिइन्छ । पहिले केटीहरूले घाँघर-चोली लगाउँथे अनि होलीकै बेला केटाहरूले केटीहरूको चोली रंग्याउँथे । केटीहरूको सबै भन्दा आकर्षक पक्ष पनि चोली नै मानिन्छ । त्यसैले विगतदेखि नै होलीमा चोली रंग्याउन थालिएको होला । अहिले आधुनिक पहिरनमा सजिएर होली खेल्ने केटीहरूको पनि टिसर्ट रंग्याउन खुबै रमाइलो हुन्छ ।
यशराज (नायक)
यो प्रश्नको जवाफ दिन गाह्रो भयो । चोली भिजाउँदा अथवा रंग्याउँदा जुन ग्ल्यामर देखिन्छ, सायद त्यसैलाई प्रतिविम्बित गर्न होलीले चोली रंग्याएको होला ।
मिलन शंकर (नायक)
मलाई त होली र चोलीबीच गहिरो सम्बन्ध छ जस्तो लाग्छ । महिलाहरूको चोली भिजेको, रंगिएको अवस्थामा पुरुषहरूले जति मनोरञ्जन लिन्छन् त्यो शरीरका अन्य पहिरन भिज्दा लिँदैनन् । पहिले-पहिले पनि खोलाको छेउछाउमा पौडी खेलिरहेका महिलाहरू भिजेको लुकीलुकी हेर्ने चलन थियो, होलीले चाहिं त्यो मौका खुल्लमखुला दिएजस्तो लाग्छ ।
शेखर खनाल (हास्यकलाकार)
पहिले होली मनाउने क्रममा महिलाहरूले लगाउने पहिरन भनेको चोली-फरिया नै हो । होलीमा पुरुषहरू प्रायः महिलामाथि नै अबिर, रंग, पानी छ्याप्ने प्रयासमा हुन्छन् । होलीलाई महिलाहरूप्रति नै लक्षित गरिएकाले पनि चोली रंग्याइएको हुनसक्छ । कुनै बेला महिलाहरू घरबाट बाहिर निस्कनसमेत गाह्रो थियो, होलीजस्तो पर्वले उनीहरूलाई घरबाहिर आउन सहयोग पुर्याएको हो ।
रीमा विश्वकर्मा (नायिका)
होलीले चोली मात्र होइन, धोती, स्कर्ट, टिसर्टलगायत अरू पनि धेरै कुरा रंग्याउँछ । होली पर्व नै रंग्याउनका लागि मनाइन्छ जस्तो लाग्छ । होलीले चोली रंगाएको प्रसंगचाहिं गीतको छन्द मिलाउन प्रयोग गरिएको हो कि ? त्यसो नभएको भए त होलीले रंगायो मेरो टिसर्ट भने पनि हुन्थ्यो नि हैन, हा हा हा...!
बाबु बोगटी (गायक/नायक)
पहिले मात्र होइन, अहिले पनि गाउँघरमा महिलाहरू फरिया चोली नै लगाउँछन् । होली खेल्ने क्रममा पनि महिलाहरूले चोली लगाउने भएकाले पुरुषले त्यसैमा रंग दल्ने प्रयास गर्ने भएकाले नै होलीमा चोली रंग्याउने प्रसंग प्रारम्भ भएको हो ।
अनु शाह (नायिका)
होलीमा चोली रंग्याउने कुरा कामुकता तथा आकर्षणसँग जोडिएको छ । होली खेल्ने क्रममा महिला तथा पुरुषले एक-अर्कालाई जे गर्न पनि छुट हुन्छ । सायद त्यसैको फाइदा उठाउँदै पुरुषहरूले महिलाको चोली रंग्याउन थालेका हुन् अनि होलीले रंगायो मेरो नयाँ चोली...भन्न थालिएको हो ।
सुनिल रावल (नायक)
होलीमा चोली नै रंगाउनुपर्छ भन्ने छैन । हामी अचेल टिसर्ट लगाएर होली खेल्छौं, त्यसैले हाम्रो टिसर्ट पनि रंगिन सक्छ । होलीमा पुरुषहरूले महिलाहरूलाई ताकेरै लोला, पिचकारी हान्छन्, त्यो पनि शरीरको माथिल्लो भागमा । यसरी होलीमा महिलाहरू टार्गेट हुने भएकाले यसो भनिएको होला, तर म त भन्छु अब होलीले रंगायो मेरो जिन्स, टिसर्ट...
बेनिसा हमाल (नायिका)
होलीमा युवतीहरूको चोली रंग्याउँदा युवकहरूको मनको झोली खुल्ने भएकाले होलीले चोली रंग्याएको हुनुपर्छ ।
अर्जुन पोखरेल (संगीतकार)
महिलाहरूको मुख्य आकर्षण नै चोलीमा हुने भएकाले होलीमा चोली नै रंगाउनुपर्छ, भिजाउनुपर्छ भनिएको होला । महिलाहरूको चोलीले पुरु षलाई सहजै आकषिर्त गर्ने भएकाले होलीमा यसको महत्त्व बढेको हो ।
शिवशंकर रिजाल 'जोगिन्दर'
(हास्यकलाकार)
कस्तो अप्ठ्यारो प्रश्न ? होली र चोलीको धेरै अर्थ हुन्छ । चोली महिलाहरूको आकर्षणको केन्द्र हो । त्यो नै रंग्याएपछि त सुनमा सुगन्ध नै भयो नि !
दीपक अधिकारी (कलाकार)
रमाइलो प्रश्न ! चोली रंग्याउनुको अर्थ अलि कामुक छ । पहिले-पहिले महिलाहरूले चोली लगाएर होली खेल्ने गरेकाले यसो भनिएको होला, तर अहिले चोली लगाएका युवतीहरू कहाँ पाउनु र खै !
तिलकबम मल्ल (गायक)
प्रस्तुतिः कृष्ण भट्टराई
Source:saptahik
