|

होलीमा गर्नुहोस् छालाको सुरक्षा

रंगको उत्सव अथवा होली धूमधामसाथ सेलिब्रेट गर्न पूरा तयारी गर्नुभएकै होला । रंग, अबिर, पिचकारी, मिठाई सबै तयार छ, तर तपाईंको  शरीरको छाला यो रंगमा रंगीन तयार होला ? कतै होलीको रंगले तपाईंको छाला पो बिगार्ने हो कि ? त्यसैले रंगको असरबाट छालाको  सुरक्षाका लागि केही उपयोगी जानकारी हासिल गर्नु फाइदाजनक नै होला । यदि जमेर होलीको मजा लिन चाहने हो भने रंगको असर  छालामा नपरोस् भनेर ध्यान पुर्‍याउनैपर्छ ।

होलीको दिन बिहान मुख धोइसकेपछि तुरुन्तै अनुहारमा टोनर लगाउनुपर्छ । यसले अनुहारको छालामा हुने स-साना प्वाल वा छिद्र बन्द  गरिदिन्छ र अनुहारमा कुनै रंग टिक्न दिँदैन ।

हात-खुट्टामा सनस्क्रिन एवं अनुहारमा मोस्चराइजर क्रिम लगाउन बिर्सनु हुँदैन । यसले सूर्यको किरणबाट त जोगाउँछ नै, साथै क्रिमको ले यरका कारण छालामा रंगको असर पर्दैन ।

हात तथा खुट्टाको नङमा गाढा रंगको नेलपोलिस लगाउनुपर्छ । यसमा पनि होलीको रंग लाग्दैन ।

होली खेल्दा बाक्लो कपडाको फुल स्लिप पहिरन लगाउनुपर्छ, यसले शरीरलाई रंगबाट सुरक्षित राख्छ ।

रंगबाट जोगिन हल्का तेल लगाएर मसाज गरी केसलाई बाँध्न सकिन्छ । यसबाट केसमा रंगको असर पर्दैन ।

कसरी छुटाउने रंग ?

रंग बिस्तारै हटाउनुपर्छ । रगडेर रंग हटाउँदा छालामा पीडा हुनसक्छ ।

अनुहारमा लागेको रंग छुटाउन पहिले वाफ लिनुपर्छ । यसले अनुहारको रोमछिद्र एवं प्वाल खुला हुन्छ र सजिलै रंग हटाउन सकिन्छ ।

बाफ लिइसकेपछि अनुहारलाई क्लिजिङ मिल्कले सफा गर्नुपर्छ । त्यसपछि फेसवास प्रयोग गरेर अनुहार पखाल्नुपर्छ ।

फ्रुट बेस फेसप्याक लगाएर पनि रंग हटाउन सकिन्छ ।

अनुहारमा लागेको हल्का रंग मोस्चराइजबाट पनि छुटाउन सकिन्छ ।

केसमा लागेको रंग हटाउन कंडिसनरयुक्त माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ ।

यसो नगरौं

होली खेल्न मेटालिक रंग (सिल्भर, गोल्डन आदि) प्रयोग गर्नु हुँदैन । त्यसमा भएको केमिकलले छालालाई हानि पुर्‍याउन सक्छ ।

अनुहारमा लागेको रंग छुटाउन केरोसिन, पेट्रोल वा स्पिरिट प्रयोग गर्नु हुँदैन । त्यसले छालालाई रूखो बनाउँछ ।

आँखाको हिफाजत गरौं

यदि आँखामा रंग वा अबिर पर्‍यो भने तुरुन्त चिसो पानीले धुनुपर्छ ।

रंगका कारण आँखा पोल्यो भने एउटा भाँडोमा पानी भरेर त्यसमा आँखा डुबाइसकेपछि सफा कपडाले बिस्तारै पुछ्नुपर्छ ।

गुलाफजलको केही थोपा हालेर केही समयका लागि आँखा बन्द गर्न सकिन्छ ।

सम्भव भए आँखाको माथि तथा तलको भागमा चन्दनको लेप लगाउन सकिन्छ । यसलाई सुक्नुअघि नै धुनुपर्छ ।

रंग छुटाउने घरेलु उपाय

बेसनमा कागती र दूध मिसाएर पेस्ट बनाउने । त्यसलाई छालामा लगाएर १०-१५ मिनेट त्यत्तिकै छाड्ने । त्यसपछि पानीले धुने ।

मुलाको रस निकालेर त्यसमा दूध, बेसन तथा मैदाको मिश्रण बनाउने । यस्तो मिश्रण लगाएर सफा गर्दा छालामा चमक आउँछ ।

काँक्राको रसमा थोरै गुलाफजल मिसाएर छालामा लगाउने । यसले रंग निकाल्नुका साथै छालाको रंग पनि निखार्छ ।

जौको पीठोमा बदामको तेल मिसाएर छालामा प्रयोग गर्दा पनि रंग जान्छ ।

केशमा रंग भए पहिले राम्रोसँग केश झट्कार्ने । त्यसपछि बेसन तथा दहीले केस पखाल्ने । त्यसपछि स्याम्पु प्रयोग गर्ने ।

होलीको शत्रु नक्कली रंग

होली मोजमस्तीको उत्सव हो । यसले बालबालिका, युवायुवती तथा वृद्धवृद्धामा बेग्लै उत्साह सिर्जना गर्छ । वर्ष दिनमा आउने पर्वलाई खुसी  एवं उल्लासका साथ मनाउनैपर्‍यो तर कतिपय व्यक्ति रंगबाट डराएर घरमै लुकेर बस्छन् । हुनसक्छ, स्वास्थ्यका दृष्टिले कतिपय मानिस रंगसँग टाढै रहन चाहन्छन् । हामी जुन रंगले होली खेल्छौं त्यस्तो रंग स्वस्थ्यमैत्री होला त ? कतिपय रंग स्वास्थ्यलाई नोक्सान पुर्‍याउने पनि  हुन्छन् ।

कृत्रिम रंग र अबिरबाट स्वस्थ्यमा प्रभाव

प्राकृतिक रंग तथा अबिरलाई स्वास्थ्यका दृष्टिले सुरक्षित मान्न सकिन्छ । जबकि कृत्रिम रंग अबिर स्वास्थ्यका लागि हानिकारक हुन्छन्, तर  होलीमा कृत्रिम रंगकै प्रयोग बढी हुन्छ, किनभने यो सुलभ ढंगले प्राप्त गर्न सकिन्छ ।

यस्ता रंग-अबिरले होली खेल्ने क्रममा हातले छोएर कुनै खानेकुरा खाँदा वा पिउँदा रंगको केही अंश खाइन्छ । यस्ता रंग खानु विष सेवनभन्दा  कम घातक हुँदैन ।

अधिकांश व्यक्तिलाई कृत्रिम वा रासायनिक रंगबाट एलर्जीसमेत हुन्छ । कतिपयलाई त गम्भीर प्रकृतिको एलर्जी पनि हुनसक्छ, जसको उपचार  निकै जटिल हुन्छ । यसका साथै शरीरमा स-साना फोका उठ्ने, छालमा जलन तथा घाउ त हुन्छ नै, यदि शरीरमा कुनै घाउ छ र त्यसमा  रंग पर्‍यो भने निश्चय नै हानि पुग्छ ।

होली खेल्नुपूर्व सावधानी

होली खेल्नुअघि शरीरमा भ्यासलिन वा कोल्डक्रिम राम्रोसँग लगाउने, जसले गर्दा शरीरमा रंगको प्रभाव कम परोस् ।

होली खेल्नुअघि शरीरको खुला भागमा सस्र्युंको तेल लगाउने, जसले छालामा रंगको असर पर्न दिँदैन ।

होली जुत्ता-मोजा लगाएर खेल्नुपर्छ । यसले खुट्टालाई रंगबाट सुरक्षित गर्न सकिन्छ ।

केशमा तेल लगाउनुपर्छ वा बाँध्नुपर्छ । यसो गर्दा केसमा रंगको असर कम हुन्छ ।

रंगको सबैभन्दा बढी दुष्प्रभाव आँखामा पर्छ । त्यसैले आँखालाई जोगाउनुपर्छ । यदि कसैले अनुहारमा रंग दल्न खोजे तुरुन्तै आँखा बन्द  गर्नुपर्छ ।

होली खेल्न नाइलन, पोलिस्टर वा टेरिकटनको कपडा लगाउनु उपयुक्त हुन्छ । किनभने यस्तो कपडामा रंग बस्दैन र छालामा पनि कम असर  हुन्छ ।

कसरी छुटाउने रंग ?

कसैले केसमा सुख्खा रंग हालिदियो भने त्यसलाई तुरुन्तै झट्कारेर हटाउनुपर्छ ।

गीलो रंगलाई पनि तुरुन्तै पुछिदिने हो भने त्यसको असर कम हुन्छ ।

अबिरलाई पानीले धुनु हुँदैन । सुख्खा कपडाले पुछ्नु राम्रो उपाय हो । यदि टाउकोमा अबिर परेको छ भने त्यसलाई काइँयोले कोरिसकेपछि  स्याम्पुले धुनुपर्छ ।

रंग छुटाउन साबुन नै प्रयोग गर्नु उत्तम हो ।

रंग छुटाउन कमसल डिटरजेन्टको प्रयोग पनि राम्रो मानिँदैन । किनभने त्यसले छालामा घाउ बनाउन सक्छ ।

नरिवलको तेलमा कपास डुबाएर बिस्तारै-बिस्तारै रंग हटाउन सकिन्छ । यो निकै राम्रो उपाय हो ।

केसको रंग हटाउँदा त्यो रंग शरीरमा नपरोस् भन्ने कुरामा सचेत हुनुपर्छ ।

नङमा रंग परेको छ भने त्यसमा कागती प्रयोग गर्न सकिन्छ ।

रंग छुटाएपछि छालामा पीडा नहोस् भनेर दूध र बेसारको लेप लगाउनु राम्रो हो ।

रंग छुटाएपछि छालामा हल्का पीडा महसुस भयो भने ग्लिसिरिनमा गुलाफजल मिसाएर प्रभावित ठाउँमा लगाई केही समय राखेर पानीले धुनुपर्छ ।
Source:saptahik

Posted by Butwalonline on 12:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "होलीमा गर्नुहोस् छालाको सुरक्षा"

Leave a reply