|

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्री वाग्लेलाई कैद तथा जरिवाना

सर्वोच्च अदालतले नेपाली कांग्रेसका एकजना नेता तथा पूर्व मन्त्री चिरञ्जिवी वाग्लेलाई भ्रष्टाचारको कसुरमा डेढ वर्ष कैद र दुई करोड रुपैंया भन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको छ।
अन्तिम भनिएको बुधबारको फैसला अनुसार वाग्लेबाट जरिवाना बराबरकै बिगो असुल गरिने बताइएको छ।
पूर्व मन्त्री वाग्लेले भने सर्वोच्चको फैसलाबाट आफूलाई अन्याय भएको प्रतिक्रिया दिएका छन्।
सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलका अनुसार सर्वोच्चले सरकारी सुविधा भोग गर्ने राजनीतिज्ञ वा कुनै पूर्व मन्त्रीलाई भ्रष्टाचारको कसुरमा कैद, जरिवाना तथा विगो असुलीको सजाय सुनाएको संभवत: यो पहिलो घटना हो।

फैसला

२०४६ सालको परिवर्तन पछि सात पटक मन्त्री भएका वाग्लेको विपक्षमा गएको बुधबारको फैसला प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र खीलराज रेग्मीको संयुक्त इजलाशले सुनाएको थियो।
त्यसबारे सर्वोच्च अदालतका सहायकप्रवक्ता हेमन्त रावलले भने, “अख्तियारले दायर गरेको मुद्दामा सुनवाइ गर्दै पूर्वमन्त्री वाग्लेलाई भ्रष्टाचारको कसुरमा एक वर्ष छ महिना कैद, दुई करोड तीन लाख (भन्दा बढी) रुपैंया जरिवाना र त्यतिकै बराबर बिगो तिराउने फैसला गरेको छ।”
वाग्ले विरुद्ध भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दा दायर गरेपछि आठ वर्षअघि विशेष अदालत काठमाण्डूले वाग्लेविरुद्ध भ्रष्टाचारको कसुर ठहर गरी कैद, जरिवाना तथा विगो असुली गर्ने फैसला सुनाएको थियो।

पुनरावेदन

यो अन्याय हो, कानुनको उल्लंघन हो र कानुनको उपहास हो
पूर्वमन्त्री चिरन्जिवी वाग्ले
तर त्यसलाई अस्वीकार गर्दै वाग्लेले सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए।
बुधबारको फैसलापछि प्रतिक्रिया दिंदै पूर्वमन्त्री वाग्लेले भने, “यो अन्याय हो, कानुनको उल्लंघन हो र कानुनको उपहास हो।”
सहायक प्रवक्ता रावलका अनुसार पूर्वमन्त्री वाग्लेले बुधबारको फैसलाको पुनरावलोकको माग गर्न सक्छन्।
“तर त्यसले बुधबारको फैसला कार्यन्वयनमा कुनै असर पार्दैन।”
पूर्व मन्त्रीहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी र जयप्रकाश गुप्ता विरुद्धका मुद्दाहरु पनि सर्वोच्च अदालतमा विचाराधीन छन्।
Source:BBC Nepali

Posted by Butwalonline on 11:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्री वाग्लेलाई कैद तथा जरिवाना"

Leave a reply