बुटवलमा छिट्टैं स्थायी पेन्सन क्याम्प बन्ने
लक्ष्मण पोखरेल,बुटवल २८ फागुन । फोर गोर्खा कल्याणकारी परिवार पश्चिमान्चल क्षेत्रीय समिति,बुटवलका वरिष्ठ सल्लाहकार कर्णेल धनबहादुर मास्कीरानाले बुटवलमा छिट्टैं स्थायी पेन्सन क्याम्प बन्ने विश्वास व्यक्त गर्नु भएको छ । उहांले बुटवलमा पेन्सन क्याम्प स्थापनाका लागि सबैं भुपुहरु एकजुट हुंनुपर्नेमा जोड दिनुभयो ।
फोर गोर्खा रेजिमेन्ट डेको अवसरमा फोर गोर्खा कल्याणकारी परिवार पश्चिमान्चल क्षेत्रीय समिति बुटवलले आज बुटवलको फुलबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दैं कर्णेल रानाले भुपुहरु कल्याणकारी र समाजसेवामा लाग्नु पर्ने बताउंनु भयो । भुपु सैनिक महिला विभागका केन्द्रीय अध्यक्ष लिला मास्कीरानाले भुपुहरुको योगदानको बारेमा चर्चा गदैं महिलाहरुले भुपुहरुको हरेक कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । परिवारका अध्यक्ष एसेम हनेरी क्याप्टेन हेमबहादुर रानाको अध्यक्षता,सचिव क्याप्टेन जनक थापामगरको संचालनमा भएको कार्यक्रममा जिल्ला सैनिक बोर्ड मेम्बर पुरनबहादुर शाही,श्रीमति जनकाजी गुरुङ लगायतले रेजिमेन्ट डेका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा भारतीय सेनाबाट रिटायर भएका फोर गोर्खाका पांच पल्टनका भुपुहरुको सहभागी रहेको थियो । हरेक वर्ष मार्च ११ तारेखका दिन मनाइने कार्यक्रममा कपिलवस्तु,नवलपरासी,पाल्पा,रुपन्देही जिल्लाका करिव तीन सय जनाको सहभागिता रहेको सचिव क्याप्टेन जनक थापामगरले जानकारी दिनुभयो ।