श्रीनगरमा आत्मघाती आक्रमणमा परी छ जनाको मृत्यु
श्रीनगर (भारत), फाल्गुन ३० - भारत प्रशासित क्षेत्र श्रीनगरमा बुधबार विहान गस्तीमा रहेको सुरक्षाकर्मीको एक समूहलाई लक्ष्यितगरी गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा पनि चार जना सुरक्षाकर्मीसहित छ जनाको ज्यान गएको समाचार छ ।प्राप्त समाचारअनुसार मारिनेमा चारजना भारतीय प्रहरीको सशस्त्र बलका प्रहरी रहेका छन् । अरु दुई जना हतियारधारी पनि रहेको बताइएको छ । उनीहरुको पहिचान भएको छैन ।
भारतीय अर्ध सैनिक बलका चारजनाको ज्यान गएको एकजना भारतीय प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । सो आक्रमण आत्मघाती रहेको ती प्रहरी अधिकारीले जानकारी दिएका छन् । मारिने ती अज्ञात दुई जना सोही आत्मघाती व्यक्ति हुनसक्ने बताइएको छ ।
आफू सञ्चारमाध्यमलाई समाचार दिने आधिकारिक व्यक्ति नरहेको स्पष्ट गर्दै आफ्नो नाम नबताउने शर्तमा ती प्रहरी अधिकारीले भने– श्रीनगरमा सुरक्षामा तैनाथ २५ जना सशस्त्र प्रहरी बलको समूहमाथि सो आत्मघाती आक्रमण भएको थियो ।केही समययतादेखि पाकिस्तान र भारतका सिमा क्षेत्रमा दुवै पक्षबाट आक्रमण र केही सीमा सुरक्षा बलको ज्यान जाने घटनापछि यी दुई देशबीच थप असहजता उत्पन्न भएको छ । स्रोत : कान्तिपुर