ढुंगा बोकेर गइरहेको ट्रक भीरबाट खस्दा दुई मजदुरको मृत्यु
हेटौंडा, चैत्र ८ - मकवानपुरको उत्तरी क्षेत्रको ग्रामीण सडकमा बुधबार भएको सवारी दुर्घटना मा दुई मजदुरको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । आग्रा ९ स्थित डाँडाबास-डाँडाखर्क सडक खण्डको काभ्रेमा भएको ट्रक दुर्घटना मा आग्रा ९ का मजदुर १९ वर्षीय अमिर गोले र ३५ वर्षीय पशुपति मगरको घटनास्थलमै मृत्यु भएको हो । ४० वर्षीय रामचन्द्र मगर र प्रकाश थिङ गम्भीर घाइते भएको इलाका प्रहरी पालुङले जनाएको छ । उपचारनिम्ति उनीहरूलाई काठमाडौं लगिएको छ ।
डाँडाबासबाट ढुंगा बोकेर गइरहेको बा२ख ८३६९ नम्बरको ट्रक आग्रा ९ को काभ्रे भन्ने स्थानबाट सय फिट तल खसेर दुर्घटना भएको थियो । मोड नपुगेर 'ब्याक' गर्ने क्रममा ट्रक एक्कासि तल खसेको स्थ्नीयवासी श्याम लामाले बताए । मृतक र घाइते चार जना ढुंगा अनलोड गर्न ट्रक पछाडि बसेका थिए । स्रोत : कान्तिपुर