|

प्रमाणपत्र तह हट्यो, शिक्षक हटेनन्

काठमाडौ, श्रावण २१ - त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह हटेपछि विद्यार्थी घटेका छन् । तर शिक्षकको व्यवस्थापन भएको छैन । यसले त्रिविमा खर्च बढाएको छ भने देशभरका २ हजार ५ सय प्लस टु बिनादरबन्दी चलिरहेका छन् । विद्यार्थी घटेपछि कति कलेजले प्लस टु चलाउन थालेका छन् । पोखराबाट लालप्रसाद शर्मा, पाल्पाबाट माधव अर्याल, बागलुङबाट प्रकाश बराल, मोरङबाट विनोद भण्डारी, उदयपुरबाट डिल्लीराम खतिवडा, सर्लाहीबाट अमन कोइराला र खोटाङबाट डम्बरसिं राई लेख्छन् :

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पश्चिमाञ्चलकै सबैभन्दा ठूलो पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा अहिले विगतमा जस्तो चहलपहल देखिँदैन । त्रिविले प्रमाणपत्र तह खारेज गरेपछि यहाँ ५ हजार विद्यार्थी घटेका छन् । पाल्पाको त्रिभुवन र बागलुङको महेन्द्र बहुमुखी क्याम्पसको अवस्था पनि उस्तै छ । यी सबै क्याम्पसबीच अहिले देखिएको समानता हो, सबैतिर विद्यार्थी ह्वात्तै घटेका छन्, शिक्षक जनशक्ति र आर्थिक भार भने त्यस्तै छ ।
प्रमाणपत्र हटेपछि पिएन क्याम्पसमा सातामा झन्डै ८ सय पिरियड घटेको छ । पढाउने जनशक्तिले चाहिं पढाउँदै नपढाई तलब खाइरहेको छ । क्याम्पस प्रशासनका अनुसार यसले खर्च झन् बढेको छ । प्रमाणपत्र छँदा वाषिर्क करिब ५ हजार नयाँ विद्यार्थी भर्ना हुने गरेकामा ३५ प्रतिशत प्रमाणपत्र तहका हुने क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला बताउँछन् । बर्सेनि १७ हजार विद्यार्थी रहने क्याम्पसमा अहिले ११ हजार विद्यार्थी छन् । कोइराला भन्छन्, 'विद्यार्थी घटे तर शिक्षक व्यवस्थापन हुन नसक्दा आर्थिक भार बढेको बढ्यै छ ।'
पिएन क्याम्पसलाई चुस्त राख्ने हो भने विद्यार्थी अनुपातमा ३५ प्रतिशत शिक्षक कटौती हुनुपर्छ । तर सातामा एक पिरियड पढाएर पनि क्याम्पसले व्यवस्थापन गर्न सकेको छैन । पिएनको ट्यागले बाहिर पढाउन सजिलो हुने भएपछि सोर्सफोर्समा नियुक्त शिक्षक क्याम्पस छाड्नै नचाहने क्याम्पस प्रशासनको दाबी छ । यस क्याम्पसलाई त्रिविविले बर्सेनि ९ करोडभन्दा बढी अनुदान दिन्छ भने क्याम्पसले बर्सेनि करिब साढे तीन करोड आन्तरिक आम्दानी गर्छ । क्याम्पसले आर्थिक वर्ष २०६५/०६६ मा करारसहित नियमित शिक्षकका लागि ८ करोड ४८ लाख ११ हजार ३ सय ४५ रुपैयाँ तलबमा खर्च गरेको थियो । यसैगरी आंशिक शिक्षकका लागि ५१ लाख ५८ हजार २ सय ६० रुपैयाँ गएको थियो । यस्तै आव २०६६/०६७ मा नियमितका लागि ८ करोड ६७ लाख १६ हजार ६ सय ३६ रुपैयाँ र आंशिकका लागि ६३ लाख १३ हजार १७ रुपैयाँ तलबमा खर्च भएको थियो । यसैगरी आव २०६७/०६८ मा नियमिततर्फ ८ करोड ७५ लाख १२ हजार रुपैयाँ र आंशिकतर्फ ४८ लाख २२ हजार रुपैयाँ निकासा भइसकेको छ । पछिल्लो आवमा आंशिकको तलब अझै निकासा हुन बाँकी छ । गत चैतबाट प्रमाणपत्र तहका सबै कक्षा र असारबाट नियमित परीक्षा सकिएको छ । तर शिक्षक भने यथावत् छन् । ५५१ जना कार्यरत शिक्षकमा १२१ आंशिक, १७७ करार र २५३ पूर्णकालीन छन् ।
पाल्पामा दुई वर्षमा १० जनाभन्दा बढी शिक्षकले जिल्ला छाडेका छन् । क्याम्पसमा विज्ञान, मानविकी र व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह सञ्चालन थियो । प्रमाणपत्र तह फेजआउट भएपछि त्यहाँ
पढाउन सहप्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायकलाई अन्य संकाय र तहको जिम्मेवारी तोकिएको क्याम्पस प्रशासन प्रमुख उदयप्रसाद उदयले बताए । 'सातामा १५ पिरियड पढाउनुपर्नेमा १८ देखि २० पिरियड पढाउनुपर्ने अवस्था छ' उनले भने ।
महेन्द्रमा अहिले ४६ पूर्णकालीन र २६ आंशिक प्राध्यापक कार्यरत छन् । क्याम्पसमा मानविकीमा ८, शिक्षामा ८ र व्यवस्थापन संकायमा ६ विषयको अध्यापन भइरहेको छ । यसै वर्षदेखि विज्ञान संकायमा स्नातक तह पनि सञ्चालन गर्न क्याम्पसले पहल थालेको छ । पिएनमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान र कानुन संकायमा स्नातक तथा कानुनबाहेक अन्यमा स्नातकोत्तरको पढाइ हुन्छ । स्नातकोत्तरमा १७ विषयमा पढाइ हुन्छ । अहिले स्नातकमा ७ हजार ५ सय र बाँकी स्नातकोत्तरका विद्यार्थी छन् । प्रमाणपत्र हटेपछि स्नातकमा विद्यार्थी बढेको क्याम्पसले जनाएको छ । पछिल्लोपटक मानविकीमा विद्यार्थी घट्दो छ भने व्यवस्थापन र शिक्षामा बढिरहेका छन् । विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकाय सञ्चालन भएको त्रिभुवनमा कक्षाकोठाको अभाव रहँदै आएकामा प्रमाणपत्र हटेपछि पुग्न थालेको क्याम्पसले जनाएको छ । आर्थिक भार क्याम्पसलाई छैन ।
पिएन क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले तीन वर्षे स्नातक चार वर्षे हुन लागेकाले कसैलाई नहटाइएको बताए । 'चार वर्षे हुनासाथ शिक्षक आवश्यक रहेकाले कसैलाई अवकाश नदिइएको हो', उनले भने, 'अर्कोतर्फ विद्यार्थी बढिरहेका र नयाँ विषय थपिइरहेका छन् ।' पुराना शिक्षकले डिग्रीमा पढाइदिए आर्थिक भार नपर्ने तर स्नातकमा मात्र पढाउनाले समस्या भएको उनको भनाइ छ । 'सातामा एक पिरियड मात्र दिएर भए पनि आंशिक शिक्षक राखिएको छ', कोइरालाले भने, 'तर कक्षा नभएकाले तपाईर्ंहरू नआउनुस् कसैलाई भनेका छैनौं ।'  
त्रिवि आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइका अध्यक्ष धर्मराज भट्टराईले प्रमाणपत्र तह हटेर आफूहरूलाई कुनै समस्या नपरेको बताए । 'आफूहरूकै कारण नयाँ विषयमा पढाइ गरेको क्याम्पसले हटाउन पाउँदैन', उनले भने, 'स्नातकमा माइक्रोबायोलोजी, ग्रामीण विकास, मास कम्युनिकेसन, पत्रकारिता, स्नातकोत्तरमा फिजिक्स, शिक्षाको अंग्रेजी, नेपाली, शारीरिक आंशिकले मात्र चलेका छन् ।' क्याम्पसमा २०६३ पछि अधिकांश आंशिक शिक्षक राजनीतिक भागबन्डामा परेका र क्याम्पस प्रमुख निकटका भएकाले निकाल्न अप्ठेरो परेको हो ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 7:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रमाणपत्र तह हट्यो, शिक्षक हटेनन्"

Leave a reply