युवा संघमा नेतृत्वका लागि आजदेखि निर्वाचन प्रकृया शुरु
विनोद परियार,बुटवल,फागुन १२ - बुटवलमा जारी युवा संघको आठौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रकृया शुरु हुने भएको छ । यसअघिनै बिधान पारित भएकाले बन्दसत्र नभई सिधै निर्वाचन प्रकृया शुरु हुन लागेको हो ।
नेतृत्व सर्वसम्मत बनाउन एमालेका शिर्ष नेताहरु लागिपरेकाले अहिलेसम्म उम्मेदवारीको टुङगो लागिसिकेको छैन । केहिबेरमा (साढे ८ बजेतिर बैठक बस्ने ) निर्वाचन मण्डल,नेता र युवासंघका कार्यकर्तासंग छलफल गरेर निर्वाचन प्रकृयाको टुङगो लाग्ने निर्वाचन अधिकृत आरसि आचार्यले बताउनुभयो । उम्मेदवारी दर्ता,नामावली प्रकाशन,दावी विरोधको कार्यक्रम आज रहेको छ ।
नेतृत्वका लागि वर्तमान अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष झपट रावल र महासचिव निरज आचार्यले दाबेदारी पेश गर्नुभएको छ । युवा संघमा गुट उपगुट अन्त्य गरि सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुले बताएपनि तीनै जनालाई एमालेका शिर्ष नेताहरु अध्यक्ष झलनाथ खनाल,केपि ओली र माधव नेपालले काखी च्यापेका छन् । आफ्नो पक्षका नेता छनौट गर्न लबिङ थालेकाले सर्वसम्मतिको सम्भावना कम रहेको कार्यकर्ताहरुको भनाई छ । यद्यपि सर्वसम्मतिका लागि पहल भइरहेको बताईएको छ । उपाध्यक्ष र सचिव संख्या कति बनाउने निर्कौल भइ सकेको छैन । देशभरबाट १ हजार ४ सय ३६ जना प्रनिनिधि महाधिबेशनमा सहभागि छन् । महाधिबेशनको हिजो अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो । ३ बर्षे नेतृत्व चयन गर्दै महाधिबेशन भोली सकिने छ ।