३१ औं मगर दिवस विविध कार्यक्रम गरि मनाईयो (फोटो फीचर)
बिनोद परियार,बुटवल,फागुन १५ -नेपाल मगर संघले आज देशभर ३१ औं मगर स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैक्रममा रुपन्देहीको बुटवलमा मगर संघ नगर समितिले मगर दिबस मनाएको छ । बुटवलको सिद्धेश्वरी खेल मैदानमा भएको कार्यक्रममा वडा स्तरीय कौडा,घांटु र सोरठी प्रतियोगिता भएको छ । कार्यक्रममा बोल्दै आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष होम बहादुर गलामीले मगर दिबसलाई क्यालेन्डरमै सार्बजनिक बिदा दिन सरकारसंग माग गर्नुभयो ।
सो अबसरमा नेपाल मगर संघ रुपन्देहीका पूर्व अध्यक्ष छबिलाल थापामगर,नेवा:दय: दबुका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष चन्द्रबहादुर गुरुङ,कालिका उच्च मा.विका. प्राचार्य घनश्याम पाठक,नेकपा एमाले रुपन्देहीका सदस्य भोजबहादुर बुढाथोकी,संघका पूर्व नगर अध्यक्ष रुपसिंह थापामगर,ई. देवानसिंह थापामगर,मगर युवा संघ बुटवल नगर अध्यक्ष झविन्द्र थापामगर,संघका वडा नं ५ का अध्यक्ष दिलबहादुर खाम्चा लगायतले बोल्नु भएको थियो । संघका नगर अध्यक्ष जनक थापामगरको अध्यक्षता,सचिव ज्ञान बहादुर थापाको संचालन तथा उपाध्यक्ष जंग बहादुर श्रीसको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम पूर्व बुटवलको मिडिया चोकबाट विभिन्न मगर भेषभेषा सहित निस्किएको ऱ्यालीले बुटवल बजार परिक्रमा गरि सिद्धेस्वरी उच्च मा.वि.मा पुगेर सभामा परिणत भएको थियो । यता रुपन्देहीको मधौलिया गाउं समितिले कोटीहवाको पशुपति उच्च मा.वि.को प्राङगणमा मगर दिवस मनाएको छ । संघका अध्यक्ष हुमबहादुर गाहाको अध्यक्षता,मधौलिया गाविस सचिव इश्वरी ज्ञवालीको प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेम थापा,सचिव भीमबहादुर दर्लामी लगायतले बोल्नु भएको थियो ।
यस्तैं सिद्धार्थनगरको भैरहवा, रुद्रपुर, देवदह, केरवानी, पडसरी, सालझन्डी, गजेडी, दुधराक्ष, पर्राेहा, सेमलार, आनन्दवन, शंकरनगर, फर्साटिकर, टिकुलीगढ लगायते जिल्लाका २३ गाविस र २ नगरसहित २५ स्थानमा कार्यक्रम गरिएको संघले जनाएको छ त्यस्तै ।। २०३९ सालमा स्थापना भएको संघले हरेक वर्ष फागुन १५ गते मगर दिवस मनाउंदै आएको छ ।
तस्विर: कपिल ग्यावली
