|

केटीसाथीलाई प्रेमपत्र लेख्दा एक किशोरले भेटे सिस्नुपानी

उदयपुर, १९ माघ । केटीसाथीलाई प्रेमपत्र लेखेको निहुँमा एक किशोरले सिस्नुपानी भेटेका छन् । ताम्लिछाका १५ वर्षीय रामचन्द्र कार्कीले आºनै सहपाठीलाई मन पराउँदा यस्तो सजाय भोग्नुपरेको हो ।

कार्कीलाई सँगै पढ्ने केटीसाथीका बाबु कृष्ण निरौलाले नांगै बनाएर सिस्नोपानीले हानेका थिए । दाजु नीराजनले भाइको शरीरभरि चोट लागेको बताए । रामचन्द्रलाई कुट्ने निरौला स्थानीय एमाओवादी नेतासमेत हुन् ।स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत रामचन्द्रले आफूसँगै पढ्ने एक किशोरी मन पराउँदै आएका थिए । उनले सुरुमा मौखिक प्रस्ताव राखे पनि किशोरीले कुनै जवाफ दिएकी थिइनन् । अन्तत: रामचन्द्रले प्रेमपत्र नै लेखेर उनको मन जित्ने प्रयास गरेका थिए । उनले सो पत्र साथीमार्फत किशोरीलाई पठाएका थिए । किशोरीले पनि पत्र सहर्ष स्वीकार गरेर घर लगेकी थिइन् । तर, कुनै जवाफ फर्काएकी थिइनन् ।

पीडितका दाजु नीराजनले दिएको जानकारीअनुसार भाइले निरौलाकी छोरीलाई पत्रमा लेखेका थिए, ‘नानु, म तिमीलाई साह्रै मन पराउँछु, तिमीले मलाई मन पराउँछ्यौ कि पराउँदिनौ ? मन पराउँछ्यौ भने गज्जब भइगो, मन पराउँदिनौ भने पनि म माइन्ड गर्दिनँ ।’

किशोरीले पत्र लगेर घरमा आफू सुत्ने ओछ्यानको सिरानीमा राखेकी थिइन् । संयोगले सो पत्र उनका बुबाले फेला पारेका थिए । त्यसपछि उनले केटालाई बोलाउन लगाएर केही गाउँले समेत जुटाई सिस्नुपानी हानेका हुन् । निरौलाले सिस्नुपानी हानेको स्वीकार गरे । ‘त्यो केटाको चरित्र पहिलेदेखि नै राम्रो थिएन, त्यसैले सजाय दिएको हुँ,’ उनले सौर्यसँग भने ।यता, पीडित पक्ष निरौलाविरुद्ध उजुरी दिन बुधबार सिडिओ कार्यालय पुगेका थिए । सहायक सिडिओले आफूकहाँ उजुरी लिएर उनीहरू आएका तर आफूले प्रहरीमा जानू भनेर पठाइदिएको बताए ।स्रोत : सौर्य  दैनिक

Posted by Butwalonline on 9:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "केटीसाथीलाई प्रेमपत्र लेख्दा एक किशोरले भेटे सिस्नुपानी "

Leave a reply