|

मदनपोखरा लोकताराको उपाधि विक र रानाभाटलाई

पाल्पा माघ २७
मदनपोखरा विशाल लोकतारा २०६९ को उपाधि पोखराथोक पाल्पाकी सुनिता विक र बन्दिपोखरा पाल्पाका कृष्ण रानाभाटले हात पारेका छन् ।
सामुदायिक रेडियो मदनपोखरा र बिशाल डिजिटल प्रा.लि.ले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितात्मक कार्यक्रमको फाइनलमा सुनिता विकले ७१.७५ र कृष्ण रानाभाटले ७०.६० अंक प्राप्त गरी प्रथम र दोस्रा भई लोकताराको उपाधि जितेका हुन् । लोकताराको उपाधि बिजेताहरूलाई वरिष्ठ लोकगायक इन्द्र जी.सी, पाल्पाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र सारेम सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले पुरस्कार, प्रमाणपत्र र उपाधि प्रदान गर्नुभयो । प्रतियोगितामा ताहूँका प्रकाश परियारले ५९.१०, फेककी चुनु छहरी मगरले ५६.६५ र गोठादी पाल्पाकी देविका कनौजेले ५५.६५ अंक प्राप्त गरी क्रमश तेस्रा, चौँथा र पाचौँ स्थान हासिल गरेका छन् ।
तानसेन नगरपालिका सभाहलमा आयोजित फाइनल कार्यक्रममा वरिष्ठ लोकगायक इन्द्र जीसीले लोक प्रतिभालाई स्थान दिने, पहिचान दिलाउने र संरक्षण गर्ने कार्य गरेर सामुदायिक रेडियो मदनपोखराले सञ्चारको क्षेत्रबाट नमूना योग्य कार्य गरेको बताउनुभयो । लोकगायक जीसीले राज्यले गर्न नसकेको काम रेडियोको सक्रियता र भूमिकाबाट हुनु लोकसंस्कृतिप्रतिको सच्चा सम्मान हो भन्नुभयो । कार्यक्रममा पूर्व सभासद नारायणी शर्माले पाल्पा लोक संस्कृतिले धनी रहेको र संस्कृतिको भण्डारलाई जोगाई राख्न रेडियोले खेलेको भूमिका सबैका लागि प्रेरणादायक रहेको बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले रेडियोले मनोरञ्जनात्मक कार्यक्रम दिने मात्र होइन, समुदायमा रहेका प्रतिभालाई बाहिर ल्याउने र गीतसंगीतलाई जोगाउन सक्छ भन्ने एउटा दृष्टान्त लोकतारा कार्यक्रम बनेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य मीनबहादुर केशी, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष भगवान भण्डारीलगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू इन्द्र जीसी, नविन पौडेल, रामचन्द्र चन्द, मिनु गैरे, प्रेम लामिछाने, लोकतारा २०६८ कमला पोखरेल, हास्यव्यङ्गकार किरण चित्रकारलगायतले आफ्नो गीत प्रस्तुत गर्नुभयो । सहारा कला केन्द्र तानसेनले कडुवा, झ्याउरे, तामाङ्ग सेलोलगायतका पाल्पाली नृत्य प्रदर्शन गरेको थियो । सामुदायिक रेडियो मदनपोखरा पाल्पाले प्रत्येक वर्ष आयोजना गर्ने लोक संस्कृति संरक्षण कार्यक्रमअन्र्तगत लोकतारा प्रतियोगिता सञ्चालन गरिएको सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताउनुभयो । पाल्पाको रामपुर, ताहूँ, झडेवा, चापपानी, तानसेन र पालुङ्गमैनादीमा सञ्चालन गरेको अडिसनमा २०० भन्दा बढी प्रतिभाले भाग लिएका थिए । छैटौँ चरणसम्म सञ्चालित प्रतियोगितामा छनौट भई आएका ६ जना बिच अन्तिम प्रतिस्पर्धा भएको थियो । रेडियोले बिशाल डिजिटल प्रालिको सहयोगमा प्रतियोगिताका बिजेताहरूको स्वर रहेको एल्वम निकाल्नेछ । गीतको एल्वम सारेमको वार्षिकोत्सवको अवसर पारेर चैत्र २३ गते सार्वजनिक गरिनेछ । कार्यक्रम लोकगायक तथा रेडियोका कार्यक्रम सञ्चालक हुम गैरेको सञ्चालन तथा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा चलेको थियो ।


Posted by Journalist Mukti on 8:35 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मदनपोखरा लोकताराको उपाधि विक र रानाभाटलाई"

Leave a reply