नवलपरासी सिडिओले माफी मागे
वृजराज कुशवाहा, नवलपरासी माघ १६-उखुको उचित मूल्यका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ध्यानाकर्षण गराउन सोमवार परासी पुगेका उखु किसानहरुलाई नियन्त्रणमा लिएर प्रहरीले निर्घात कुटपिट गरेको घटनामा प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले किसानसंग माफी माग्नुपर्याे ।
प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र दिनका लागि जिल्ला प्रशासन कार्यालय तर्फजादै गरेको अवस्थामा उखु किसानलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको थियो । उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादव सहितका ३९ जना किसानहरुलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री फिर्ता नभएसम्म जिल्ला प्रहरी कार्यालयको नयां भवनमा थुनेर राख्यो । कोठामा भित्र्याउने क्रममा प्रहरी निरीक्षक विरेन्द थापाले गाली गलौज गर्नुका साथै गरेको कुटपिटले किसान तथा किसान नेताहरु घाईते भएका थिए । प्रहरीको व्यावहारबाट आक्रोसित बनेका किसानहरु प्रहरीले थुनेको कोठाबाटै नाराबाजी गरेका थिए । किसान नियन्त्रणमा लिईएको जानकारी पाएका प्रधानमन्त्री भट्टराईले किसानको माग सुन्ने मौका मिलाए र आफु सक्दो प्रयास गर्ने आश्वासन दिए ।
उखु किसानको समस्या हेटौडामा भएको चिनी उद्योगपति र किसानबीच निर्धारण भएको मुल्य उद्योगपतिले नदिएपछि शुरु भएको हो । उखुको चालु क्रसिंग सिजनका लागि प्रति क्विन्टल ४ सय ८३ रुपैया ७० पैसाको न्युनतम मुल्य कायम भएको छ । भारत विहारको उखुको मुल्यलाई केन्द्र विन्दु मानेर गरिएको मूल्य निर्धारण अनुसार नवलपरासीका किसानहरु सो मुल्य माग्न थालेका हुन् । नवलपरासीका प्रमुख जिल्ला अधिकारीले यस अघि चिनी उद्योगपतिलाई समेत खबर गरी निर्धारण गरिएको मुल्य लागु गर्न दबाव दिदै आएका छन् । प्रमुख जिल्ला अधिकारीले दिएको दबावका बावजुद पनि चिनी उद्योगपतिले आलटाल गर्न थालेपछि किसान आन्दोलित भएका हुन् । आन्दोलित किसानहरु चरणबद्ध रुपमा कार्यक्रमलाई अगाडि बढाउदै जादा जिल्लामै आउन थालेका प्रधानमन्त्रीलाई समस्याबारे अवगत गराउने कार्यक्रम बनाएका हुन् ।
प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने कुरा तय गरिएको बारे प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी रहेको रहस्योदघाटन भएको छ । प्रहरी नियन्त्रणमा ५ घण्टा राखिएपछि वार्ताका लागि ल्याईएका उखु किसानका प्रतिनिधिहरु, राजनीतिक दलका केही नेता र प्रमुख जिल्ला अधिकारीसंग सोमवार अबेर राती उनकै कार्यकक्षमा वार्ता चलिरहदा अधिकारी लेखकले ज्ञापन पत्र दिने कुरा आफुलाई जानकारी रहेको स्विकार्नु भयो । ज्ञापन पत्र दिने एमाओवादीका एक नेताले प्रधानमन्त्रीसंग भेट गराईदिने गरेको व्यवस्था आफनो जानकारीमा रहेको समेत अधिकारी लेखकले स्विकारे । प्रहरी ज्यादतीको विरोधमा किसानहरु प्रहरी निरीक्षक थापालाई कार्वाही गरिनुपर्ने अडान राखेपछि प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले प्रहरीको तर्फबाट आफुले माफी मागे । प्रहरी उपरिक्षक प्रकाश जंग कार्कीले घटना छानबीन गरी विभागीय कार्वाही चलाउने प्रतिबद्धता जाहेर गरेपछि किसानहरु वार्ताका लागि तयार भएका थिए ।