बलात्कारपछि हत्या भएको रहस्य सार्वजनिक
पुस २१- स्थानीय महिलाले सप्तरीको जण्डोल गाविस-८ का डम्बर भट्टराई र निजकी पत्नी कौशल्याको हत्या प्रकरणमा बलात्कारपछि कौशल्याको हत्या भएको रहस्य सार्वजनिक गरेका छन्। हत्याको पाँच दिनपछि स्थानीय महिलाले कौशल्याको बलात्कारपछि हत्या भएको रहस्य सार्वजनिक गरेका हुन्।
गत सोमवार मध्यरातमा अज्ञात समूहले जण्डौल-८ स्थित घरमा सुतिरहेका बेला भट्टराई दम्पत्तिको निर्मम हत्या गरेको थियो। तर त्यतिबेला बलात्कारबारे खुलासा हुन सकेको थिएन्। हत्यालगत्तै मंगलबार बिहान घटना स्थल पुगेका सप्तरीका सञ्चारकर्मी र अधिकारकर्मीको एक टोली बलात्कार भएको हुनसक्ने 'शंका' गर्दा पनि त्यतिबेला त्यसबारे कसैले केहो बोल्न चाहेको थिएन।
हत्यापछि प्रहरीभन्दा पहिल्यै घटनास्थल पुगेका स्थानीय प्रत्यक्षदर्शीले कौशल्याको शवको प्रकृतिअनुसार बलात्कारपछि हत्या गरेको दाबी गरेका छन्। उनीहरुका अनुसार कौशल्यको शव अर्धनग्न अवस्थमा रहेको थियो। पछि प्रहरी आएर उनको शवमाथि रातो साडी ओढाएका हुन्।
यसैबीच गएको मंगलबार पोष्टमार्टमका लागि कौशल्याको शवलाई ट्रयाक्टरमा राख्ने क्रममा उनको गुप्ताङ्गबाट रगत र पानी निस्कनुले पनि बलात्कारपछि हत्या भएको ती महिलाहरुको दाबी छ। 'कौशल्याको शवको प्रकृति र स्थानीय महिलाहरुले दिएको जानकारी आधारमा उनको बलात्कारपछि हत्या भएको बुझिन्छ', अखिल नेपाल महिला संघ सप्तरीकी अध्यक्ष उषा पोखरेलले भनिन्, 'प्रहरीले पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गरी यथार्त बाहिर ल्याउनुपर्छ, घटनामा दोषी ठहरिने जोसुकैमाथि कडा कारबाही गर्नुपर्ने हामी महिलाहरुको माग छ।'
यता प्रहरी भने बलात्कार भएको भनि कुनै प्रमाण हालसम्म फेला नपरेकोले एकिनका साथ भन्न सकिने अवस्था नरहेको वताए। घटनाको अनुसन्धान गर्दै आएका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले भने, 'हाल सम्म बलात्कार भएको भनि ठ्याक्के प्रमाण फेला परेको छैन पोष्टमार्टम रिपोर्ट आए पछि मात्रै यसवारे बोल्ने आधार हुन्छ।'
यता हत्याको पाँच दिन वितिसक्दा पनि प्रहरीले हत्या प्रकरणवारे कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन। 'हत्याको कारण तथा हत्याराका वारेमा वोल्नु त परै जाओस अहिले सम्म पोष्टमार्टम रिर्पोट सम्म सार्वजनीक नगर्नुले बलात्कारको पुष्टि गरेको छ,' अखिल नेपाल महिला संघकी अध्यक्ष उषा पोखरेलले भनिन्, 'बलात्कारका वढदै गएको घटनाका कारण मुलुकै शान्ति सुरक्षा उपर प्रश्न ठाढो भइरहेका बेला स्थानिय प्रशासन बलात्कारको घटनालाई लुकाउन खोजेको छ।' भट्टराई दम्पतिको हत्यामा केही वन रक्षक र काठ तस्करको संलग्न रहेको आशंका गरिएपनि त्यसबारे सप्तरी प्रहरीको आधिकारीक जवाफ आउन सकेको छैन। भट्टराई दम्पतिको हत्यामा संलग्न रहेको आरोप सप्तरी प्रहरीले एक संदिग्ध ब्यक्तिलाई पक्राउ गरेपनि त्यसको नाम खुलाइएको छैन।स्रोत :नागरिक न्यूज