|

मुक्ति समाजद्धारा दलित ईजालस गठनको माग

बिनोद परियार ,बुटवल,२ पुस । नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीले छुट्टै दलित ईजालसको ब्यवस्था गर्न माग गरेको छ । मुक्ति समाजको रजतजयन्तीको अवसर पारेर आज (सोमबार) बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि उसले जातिय छुवाछुत सम्बन्धि ऐन कार्यान्वयन नभएको बताउदै छुट्टै दलित ईजालसको माग गरेको हो ।

छुवाछुतलाई सामाजिक अपराधको रुपमा सवैधानिक ब्यवस्था गर्नुपर्ने बताउदै श्रमशोषण विरुद्धको श्रम अदालतको समेत ब्यवस्था हुनुपर्ने उसको माग छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार दलित समुदायलाई राजनितिक,आर्थिक,सामाजिक र शैक्षिक क्षेत्रमा प्रगतिशिल रुपान्तरणका लागि एकिकृत विकास प्याकेज ल्याउनुपर्ने उल्लेख गरिएको छ । यसैगरि एक दलित बस्ती,एक सहकारी,एक परिवार एक रोजगारी,सिप कला र क्षमता विकासका लागि तालिम,निशुल्क शिक्षाको ब्यवस्था,९ प्रतिशत अनिवार्य दलित कर्मचारीको नियुक्ती गर्नुपर्ने लगायको माग समाजले अगाडि सारेको छ ।

समाजका रुपन्देही अध्यक्ष नन्द बहादुर खड्काथोकीले बैलिक कालदेखि दलित समुदायमाथि शोषण,दमन र विभेद भएको भन्दै विभिन्न समयमा भएका ऐन र कानुन कार्यान्वयन प्रभावकारी रुपमा लागु गर्न राज्यसंग माग गर्नुभयो । उहााले १९९७ सालमा भगत सर्वजित विश्वकर्मा,गोल्छे सार्कीको नेतृत्वमा  उजाउ मञ्च हुदै उत्पीडित मुक्ति समाजको गठन भएकाले २५ औं बर्षगाठलाई रजतजयन्तीको रुपमा मनाईएको बताउनुभयो ।

कार्यक्रममा सचिव सुरेन्द्र श्री विश्वकर्माले जातिय विभेद तथा छुवाछुत कसुर सजाय ऐन २०६८ आईसक्दा समेत छुवाछुत जन्य घटना दोहरिएको भन्दै यस बर्ष मुक्ति समाजले दवावमुलक ढंगले स्थापना दिवस मनाउन लागेको बताउनुभयो । मुक्ति समाजले पुस ३ गतेलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यस बर्ष समाजले रजत जयन्तीको रुपमा भोली (मंगलबार) बुटवलमा अन्तरक्रिया गर्ने भएको हो ।  एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा ‘दलित मुक्ति आन्दोलनको ईतिहास प्राप्त उपलब्धि र आगामी कार्यदिशा’ बिषयमा अन्तरक्रिया हुने समाजले जनाएको छ ।

Posted by Butwalonline on 7:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुक्ति समाजद्धारा दलित ईजालस गठनको माग"

Leave a reply