|

राष्ट्रपति रामवरण यादव छ दिने भारत भ्रमणमा जाँदै

काठमाडौं, पुस ९  - राष्ट्रपति रामवरण यादव छ दिने भारतको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन्। भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा उनी भारत जान लागेका हुन्। राष्ट्रपतिको भ्रमण कार्यतालिकाअनुसार उनी सोमबार वाराणासी जानेछन्।


मंगलबार बनारस हिन्दु विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कार्यक्रममा भारतीय समकक्षी मुखर्जी पनि सहभागी हुने जनाइएको छ।

राष्ट्रपतिसँग भारत जाने टोलीमा सिँचाइमन्त्री महेन्द्र यादव छोरी अनिता, सल्लाहकारहरु राजेन्द्र दाहाल र हरि शर्मा, स्वकीय सचिव ललित बस्नेत, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्नेत छन्।समारोहमा बनारस विश्वविद्यालयले राष्ट्रपति यादवलाई डि.लिट उपाधिले सम्मान गर्नेछ।

डि.लिट उपाधि ग्रहण गरेपछि राष्ट्रपति यादव भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन्। राष्ट्रपति यादव टोलीलाई समकक्षी मुखर्जीले आफ्नो विमानमा राखेर दिल्ली पुर्‍याउनेछन्। सल्लाहकार दाहालका अनुसार भारतीय राष्ट्रपतिले यस्तो सम्मान विरलै दिने गर्छन्।

बुधबार त्यहाँ उनले भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गर्ने कार्यक्रम छ। त्यही दिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुने जनाइएको छ।

राष्ट्रपति यादवले भ्रमणका बेला उपराष्ट्रपति, विभिन्न मन्त्री तथा राजनीतिक दलका नेतासँग भेट्ने परराष्ट्रले जनाएको छ। मन्त्रालयका अनुसार उनले इन्डियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा स्वास्थ्य जाँचसमेत गर्ने कार्यक्रम छ। राष्ट्रपति शुक्रबार फर्कने कार्यक्रम छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दलहरुबीच सहमति हुन नसकेका बेला राष्ट्रपतिलाई सकभर भारत नजान सुझाव दिएका छन्। गए पनि वाराणासीबाटै फर्कन आफूले सुझाव दिएको श्रेष्ठले आइतबार नागरिकलाई बताए। कांग्रेस सभापति सुशील कोइरालाले पनि शनिबार राष्ट्रपति यादव निकासअघि भारत भ्रमणमा जाँदा राम्रो सन्देश नजाने धारणा राखेका थिए।  स्रोत : नागरिक

Posted by Butwalonline on 6:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रपति रामवरण यादव छ दिने भारत भ्रमणमा जाँदै "

Leave a reply