विश्व कीर्तिमान गर्नखोज्दा जलेका एक युवकको मृत्यु
तनहुँ, मंसिर २९ - आगोको सुरुङभित्र मोटरसाइकल चलाएर विश्व कीर्तिमान गर्न आयोजित कार्यक्रममा घाइते भएका सुरेश पन्तको मृत्यु भएको छ। वीर अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार मृत्यु भएको हो।
घाइते सुरेशको बिहीबार मध्यान्ह्सम्म स्वास्थ्यमा सुधार आएको देखिए पनि बेलुका मृत्यु भयो। भारतीय सेनामा कार्यरत सुरेशलाई थप उपचारका लागि शुक्रबार साँझ ४ बजे काठमाडौंबाट एयर एम्बुलेन्समा दिल्ली लैजाने तयारी गरिएको थियो।
लाइफ केयर अस्पतालमा उपचार गराइरहेका भरतसिंह थापाको स्वास्थ्यमा सुधार भएको परिवारले जनाएका छन् । घाइतेको उपचारमा आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको भरतका दाजु हरिकृष्ण थापाले बताए। ‘उपचारपछि भरतको स्वास्थ्यमा सुधार आएको छ,' उनले भने, ‘बुधबार होसमा नभएजस्तो थियो तर, आज राम्रोसँग बोलेको छ।' परिवार र आफन्तसँग ऋण खोजेर भाइको उपचार गरिएको उनले बताए।
तनहुँ मिर्लुङका शमसेरबहादुर लम्सालले एक सय पाँच मिटर लामो आगोको सुरुङभित्र मोटर साइकल चलाएर विश्व कीर्तिमान राख्न आयोजित कार्यक्रममा सहयोगका लागि खटिएका थापा र पन्त सुरुङको भित्री खण्डमा आगो लगाउने क्रममा आगलागीमा परेर घाइते भएका थिए। गत मंसिर ९ गते कार्यक्रम आयोजना गरिए पनि सुरुङमा आगो नबलेपछि कार्यक्रम मंगलबार सारिएको थियो।
मंसिर ९ गते सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकाल र तनहुँका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले संयुक्त रूपमा सुरुङमा आगो लगाई कार्यक्रमको उद्घाटन गरेका थिए। मंगलबारसमेत प्रमुख जिल्ला अधिकारीबाटै उद्घाटन गर्ने कार्यक्रम तय गरिएकोमा दाहाल सहभागी नभएपछि अन्य व्यक्तिबाटै उद्घाटन गरिएको थियो।
दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आयोजकले कार्यक्रमका लागि पूर्वस्वीकृति नलिएको बताए। ‘हामीसँग स्वीकृति नलिई कार्यक्रम आयोजना गरिएको थियो,' उनले भने। कार्यक्रम प्रमुख जिल्ला अधिकारीको निवासअगाडिको चौरमा भएको थियो।
श्रोत : नागरिक