मलेसियामा नेपाली कामदारको न्यूनतम पारिश्रमिक नौ सय रिंगिट
काठमाडौं, ३ पुस । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाले आगामी जनवरीदेखि नयाँ पारिश्रमिक लागू गर्ने भएको छ । मलेसियन सरकारको निर्णयअनुसार आगामी जनवरीदेखि नयाँ न्यूनतम पारिश्रमिक लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यसअघि नै त्यहाँको सरकारले नयाँ पारिश्रमिक लागू गर्न रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ । सो निर्देशनअनुसार न्यूनतम पारिश्रमिकसम्बन्धी नयाँ नीति जनवरीदेखि लागू हुने मन्त्रालयले जनाएको हो । नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रूपमा रहेको मलेसियाले लामो समयपछि कामदारको न्यूनतम पारिश्रमिक बढाउन लागेको हो ।नयाँ नीतिअनुसार रोजगारदातालाई दुई वर्गमा पारिश्रमिक दिन निर्देशन दिएको छ । जसअनुसार केही राज्यका रोजगारदाताले नौ सय र बाँकीले आठ सय रिंगेट न्यूनतम पारिश्रमिक दिनुपर्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बताए । यसका लागि सावाह र सारावक राज्यमा कार्यरत कामदारलाई आठ सय र तीबाहेकका राज्यमा कार्यरत कामदारका लागि मासिक नौ सय रिंगिट न्यूनतम पारिश्रमिक तोकिएको मन्त्रालयले जनाएको छ । अहिले भने मलेसियाले पाँच सय ४६ रिंगेट न्यूनतम पारिश्रमिक दिँदै आएको छ । नयाँ व्यवस्थापछि त्यहाँ कार्यरत आठ लाख नेपाली कामदार लाभान्वित हुने जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिले पनि नेपाली कामदारको मुख्य गन्तव्य मलेसिया रहेकाले न्यूनतम पारिश्रमिक वृद्धिले रोजगारीमा रहेका आठ लाख मानिस लाभान्वित हुनेछन् । विगत चार वर्षको सरकारी तथ्यांकअनुसार यो अवधिमा मात्र तीन लाख ५३ हजार तीन सय २५ जना रोजगारीका लागि मलेसिया गएका छन् ।
आव ०५०/५१ यता हालसम्म बढी मानिस रोजगारीमा जाने मुलुक मलेसिया नै रहेको तथा आर्थिक वर्ष ०६५/६६ देखि आव ०६८/६९ सम्ममा तीन लाख ५३ हजार तीन सय २५ जना रोजगारीका लागि मलेसिया गएका हुन् । यस्तै, गत कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिने नेपालीको संख्या २५ लाख ९० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ । प्रत्येक वर्ष चार लाख २५ हजार जना वैदेशिक रोजगारीका लागि बिदेसिने गरेको र बढी मानिस मलेसिया जाने गरेको मन्त्रालयले जनाएको छ । गत आथिर्क वर्षमा मात्र वैदेशिक रोजगारीबाट तीन खर्ब ५९ अर्बभन्दा बढी विप्रेषण प्राप्त भएको जनाइएको छ ।
स्रोत : सौर्य दैनिक