लुम्बनी एक्स्पोमा स्टलको बुकिंग अपेक्षा गरे भन्दा बढी
बुटवल, पुस ३- लुम्विनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलामा
अपेक्षा भन्दा बढी स्टल सहभागी भएका छन्। यही पुष ६ देखि १७ गतेसम्म
रुपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा लुम्विनी एक्स्पो तथा
अन्तराष्ट्रिय व्यापार मेला हुन लागेको हो।
रुपन्देही
व्यापार संघका महासचिव यमलाल लोहनीका अनुसार, संघले ५ सय ५० स्टल मेलामा
सहभागी गराउने योजना बनाएको थियो। मंगलबार बिहानसम्म ६ सय स्टल दर्ता
भइसकेका छन्। ‘नया खालका स्टलहरु आइरहेकाले उनीहरुको आग्रह अनुसार दर्ता
गरेर स्टलको व्यवस्थापन गरिँदैछ-उनले भने। अझै केही स्टल थपिने संभावना
रहेकोले थप स्टलका लागि समेत संरचना बनाउने काम भइरहेको छ।
मेलामा
सेवामूलक, सूचनाप्रविधि,विद्युतीय सामग्री, अटोमोवाइल्स, साना तथा घरेलु
उद्योग, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, कृषि, गार्मेन्ट, जुत्ता
चप्पल र होटल तथा रेष्टुरेन्टका छुट्टाछुट्टै पेभेलियनको व्यवस्था गरिएको
छ। मेलामा चीन, भारत, पाकिस्तान र बंगलादेशका उद्योग सिधै मेलामा सहभागी
हुने संघका अध्यक्ष टंक पोखरेलले बताए।
मेलाको तयारी
अन्तिम चरणमा पुगेको संघका कार्यकारी अधिकृत सूर्य जोशीले बताए। मेलालाई
व्यवस्थित ढंगले आयोजना गर्न लागेकोले मेलामा सहभागी हुने उद्योगी
व्यवसायीको संख्या बढ्दै गएको हो। हरेक बर्ष पुषमा बुटवलमा औद्योगिक तथा
व्यापार मेला लाग्दै आएको छ। मेलामा दर्शकलाई रमाइलो पार्न विविध
सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। डान्स आइडल, लोकदोहरी र
लोकनृत्य प्रतियोगिता गरिने छ। आयोजकले मेलामा २० करोड रुपैंयाको कारोवार
हुने अनुमान गरेका छन्। मेलामा सहभागी स्टलले सहभागी शुल्क १० देखि २५ हजार
रुपैंया राखिएको छ।
यस क्षेत्रमा पर्यटन
प्रर्वद्धन गर्नका लागि पर्यटन सम्बन्धि फोटो प्रदर्शनी, हेलिकप्टरबाट
धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाएको अध्यक्ष
पोखरेलले बताए। कृषिको व्यवसायिकरणलाई बल पुर्याउन कृषिसम्बन्धी स्टललाई
पनि महत्व दिइएको उनको भनाई छ। मेलास्थल बुटवल मण्डपमा लुम्विनी स्थित
मायादेवी मन्दिरको संरचनामा आकर्षक मुख्य प्रवेशद्वार (गेट) निर्माण गरिएको
छ।
मेला अवलोकन गर्न आउने दर्शकलाई आकर्षण प्रदान गर्न
यस्तो गेट बनाएको आयोजकको भनाइछ। काठमाडौंका इन्जिनियर ललित सिंखडाले
प्रवेशद्वाराको डिजाईन गरेका हुन्। ७० फिट लम्बाई, २५ फिट उचाई र २० फिट
चौडाई रहेको मायादेवी मन्दिरसहितको प्रवेशद्धारले मेलास्थललाई आर्कषित
बनाएको छ। लुम्विनी र मायादेवी मन्दिरको पहिचानका लागि समेत यो गेट आकर्षक र
उपयोगी हुने इञ्जिनियर सिंखडाले बताए।
लुम्बिनी
एक्स्पोलाई अन्तर्राष्ट्रिय व्यापार मेला नाम दिइएकाले विगतमा भन्दा फरक
पहिचान झल्किने गरी संरचना तयार गरिएको मेला आयोजक मूल समितिका संयोजक एवं
रुपन्देही व्यापार संघका अध्यक्ष पोखरेलले जानकारी दिए। मेलाको उद्देश्य
पर्यटन प्रवर्द्धन पनि रहेकाले मायादेवीको मन्दिरसँग संरचनालाई जोडिएको
उनको भनाई छ।
स्रोत :नागरिक