लब्साद्वारा खेल महोत्सवको आयोजना
बुटवल २५मंसिर -प्याब्सन अन्तर्गतका लुम्बिनी क्षेत्रका निजि विद्यालयहरुको संगठन लुम्बिनी एरिया प्राइवेट स्कुल एशोसिएसन (लब्सा)ले आजबाट खेलकुद महोत्सवको आयोजना गरेको छ । खेल महोत्सव २९ गते सम्म चल्ने छ । खेल महोत्सवको उद्घाटन गर्दै प्याव्सन अध्यक्ष कृष्ण खनालले राज्यले निजि क्षेत्रलाई हेर्ने विभेदकारी नीति अन्त हुनु जरुरी रहेको बताउनुभयो । सो अवसरमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव गंगाराम आचार्यले दर्ता नगरी सञ्चालन भएका निजि विद्यालयहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गर्नुभयो । लब्साका अध्यक्ष एस पी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा खेल महोत्सव संयोजक राजु लोधले खेल महोत्सवको बारेमा जानकारी दिनुभएको थियो । लब्साका वरिष्ठ उपाध्यक्ष रामलाल लोधको स्वागत तथा सुरज अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, पत्रकार खिमानन्द भटराई, सुर्यपुरा बजार व्यवस्थापन समितिका उपाध्यक्ष जगदीश शर्मा, सुर्यपुरा उच्च माविका शिक्षक राममुनी यादव, स्थानीय समाजसेवी टीका शर्मा, विद्यार्थी रमेश आचार्य, सुरेन्द्र पासी लगायतले बोल्दै खेल महोत्सवको सफलताको कामना व्यक्त गर्नुभएको थियो । औपचारीक कार्यक्रम अघि लब्सामा आबद्ध १४ विद्यालयका शिक्षक विद्यार्थी सहभागीतामा र्याली निकालीएको थियो ।
महोत्सव अन्तर्गत भोली सिद्ध लुम्बिनी इङ्गलीस स्कुलमा विभिद खेल तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता, २७ गते नमुना शिक्षा इङ्गलीस स्कुलमा भलीबल र क्रिकेट प्रतियोगिता, २८ गते सरस्वती एजुकेश्नल स्कुलमा हाजीरी जवाफ प्रतियोगिता र २९ गते शिद्धार्थ प्रतिभा इङ्गलीस स्कुलमा नृत्य प्रतियोगिता आयोजना हुने र महोत्सवको समापन हुने लब्साले जनाएको छ ।