|

आखिर कुँवरले किन हानेका रहेछन झापड प्रचण्डलाइ ?

काठमाडौं, मंसिर १९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वितृष्णा र क्षणिक आवेगमा झापड हानिएको निष्कर्ष गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले निकालेको छ । गृहस्रोतका अनुसार २ सय पृष्ठ लामो प्रतिवेदनमा शुभकामना आदानप्रदानमा पुगेका कुँवरले आफ्नो पारिवारिक स्थिति सम्झेर आवेशमा आई झापड हानेको उल्लेख छ । झापड प्रकरणमा २७ वर्षीय कुँवरको मात्र संलग्नता पुष्टि भएको उल्लेख छ । प्रतिवेदन तयार पार्ने क्रममा कुँवरको प्रभु मनी फाइनान्समा भएको खाताको विवरण र उनले प्रयोग गर्ने मोबाइलको विस्तृत विवरणसमेत अध्ययन गरिएको थियो । प्रहरीले कुँवरसँग विभिन्न समयमा ५ पटक फरक-फरक बयान लिएको थियो । कात्तिक १ देखि मंसिर १ सम्मको फोन रेकर्ड पनि हेरेको थियो । कुँवरसँग सम्पर्क भएका ३१ व्यक्तिलाई बोलाएर सोधपुछ गरिएको थियो ।

प्रतिवेदनको निष्कर्षमा भनिएको छ, 'निज कुँवरले परिवार नै जनयुद्धदेखि माओवादीमा लागेर भोग्नुपरेको पारिवारिक समस्याजन्य मानसिक तनाव तथा अन्तरमनको द्वन्द्व एवं विद्वेषपूर्ण आवेगका कारण घटना घटाएको देखिन्छ ।' कुँवरले 'राष्ट्रको विशिष्ट व्यक्तिमाथि सार्वजनिक- स्थलमा हातपात गर्दै व्यक्तिगत छविमा आँच पुर्‍याउने कार्य फौजदारी अपराध गरेको देखिएको' पनि प्रतिवेदनमा उल्लेख छ ।

कुँवरले आफ्नो परिवार २०५७ सालदेखि माओवादीमा लागेको र त्यसमा पूरै परिवार सखाप भएको बताएका छन् । 'दसवर्षे द्वन्द्वले हाम्रो परिवार पूरै सखाप भयो,' उनले भनेका छन्, 'दिदी, दाजु, आमा यही द्वन्द्वको मारमा परेको पीडा सहन नसकेर आवेशमा आई हानेको हुँ ।'

छानबिन समितिलाई कुँवरले आफू २०६३ सालदेखि माओवादीमा लागेर काम गरेको र २०६३ देखि ०६५ सम्म कतारमा गएर 'कन्स्ट्रक्सन' को काम गरेर फर्किएको बयान दिएका छन् । संविधानसभा चुनावमा प्रत्यक्ष वा समानुपातिकमा दिदी प्रतिभा कुँवर सभासद हुने अनुमान गरेर नेपाल फर्किएको बताएका छन् । प्रतिभाको बागलुङ आक्रमणमा परेर हातमा गोली लागेको छ ।

दाजु टेकबहादुर कुँवरलाई म्याग्दीको बेनी आक्रमणमा परेर टाउकोमा गोली लागेको छ । टाउकाको गोली ननिकालिँदा दाजु पागलजस्तो हालतमा रहेको उनले बताएका छन् । 'पागलपनकै कारण दाजुले बुवालाई पिटेका थिए, कोहीसँग नबोल्ने र बोले पनि झर्किएर बोल्ने गर्थे,' कुँवरले भनेका छन् ।

झापड हानेका दिन आफू धापासीस्थित डेराबाट गाडी चढेर रत्नपार्क आई चियापान कार्यक्रममा आएको बताएका छन् । त्यहाँ पुगेर शुभकामनाका लागि लाइनमा बसेका बेला लाइन बीचमै रोकेर नेताहरूले भाषण गर्न थालेपछि 'पारो' चढेर आएको बताएका छन् । बीस मिनेटजति लाइनमा बस्दासमेत भाषण नै गरिरहेपछि त्यो बेला आफ्नो मनमा द्वन्द्वको पीडा बल्भिmएर आएको बताएका छन् ।

'लाइनमा बसेका बेला अचानक घर सम्भिmएँ, दाजु, दिदी र आमाको हालत देखेपछि मन थाम्न सकिनँ,' उनले भने, 'गुनासो गरौंला भनेर गएको थिएँ, अचानक हात उठेछ,' उनले प्रतिवेदनमा भनेका छन्, 'दह्रै गरी लागेछ क्यारे, प्रचण्डजीको चस्मा भुइँमा झरेको देखेको थिएँ ।' शुभकामना दिने पहिलो लाइनमा दाहाल भएकाले झापड उनैलाई परेको पनि उनले बताएका छन् ।

झापड हानिएकै दिन गृह मन्त्रालयले एआईजी नवराज ढकालको संयोजनमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो । समितिमा महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदी र केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी उत्तम कार्की थिए ।
समाचार  कांतिपुर बाट 

Posted by Butwalonline on 7:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आखिर कुँवरले किन हानेका रहेछन झापड प्रचण्डलाइ ?"

Leave a reply