विष बेच्दैछन् व्यापारी मिठाइका नाममा ,प्रशासन मौन
किरण मान बज्राचार्य ,कपिलवस्तु ,कार्तिक २८ - ,दिपावली तथा तिहारको रौनक संगै कपिलवस्तुमा अहिले मिठाईको विक्रि निकै बढेको छ । अन्य समय भन्दा दिपावलीमा मिठाईका परिकारहरुको माग बढि हुने भएकोले व्यापारीहरुलाई बेच्न भ्याइ नभ्याइ छ ।
अहिले बजारमा विक्रिका लागि राखिएका मिठाईका परिकारहरु उपभोक्ताको आर्कषणको केन्द्रविन्दु बनेका छन् । मिठाइलाई आर्कषित बनाउन र कम लगानीमा बढि मुनाफा गर्न व्यापारीहरुले अहिले मिठाइमा गुणस्तरहीन तथा अखाद्यवस्तुहरुको मिसावट बढि मात्रामा गरिरहेका छन् । जसका कारण उपभोक्ताहरुले पैसा तिरेर मिठो विष किन्न बाध्य छन् । उनीहरुले मिठाइ संगसंगै कतिपय रोगहरु समेत खरिद गरिरहेका छन् । उपभोक्ताहरुको स्वास्थ्य प्रति खेलवाड गर्दै व्यापारीहरुले मिठाईहरुमा विभिन्न किसिमका अखाद्य र प्रतिबन्धित रङ्गहरुको अत्याधिक प्रयोग गर्ने गरेको पाइन्छ । अखाद्य बस्तुको मिश्रण र झन त्यसमा पनि एक महिना बढिका बासी मिठाईहरुको प्रयोगले उपभोक्ताहरु ठगिनुको साथै स्वास्थयमा समेत नराम्रो असर पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अनन्त शर्माले बताउनुभयो ।
मिठाई बनाउन सबै भन्दा बढि प्रयोगमा आउने चिनीको मूल्य आकाशिएकोले व्यापारीहरु अहिले चिनीको साटो गुलियो केमिकलको अत्याधिक प्रयोग गरिरहेका छन् । चिनी भन्दा ५ सय गुना गुलियो स्याक्रिन नामक केमिकलको प्रयोग गरि बनाईएका मिठाईहरु अहिले बजारमा धमाधम विक्रि भइरहेका छन् । २० रुपैयामा पाइने ५० ग्राम स्याक्रिनले ३० किलो बढि चिनीको काम गर्ने हुदा यसबाट आफूहरुलाई निकै फाइदा हुने गरेको पकडीका एक मिठाइ व्यापारीले खुलासा गरे । उनीहरुले खुवाको लागि उसिनेको आलु, डालडा, चिनी, आरारोट तथा सोडाको प्रयोग गरि नक्कली खुवा समेत बनाइरहेको रहस्य खुलासा भएको छ ।
सरकारले मिठाइ बनाउन ११ वटा रंगलाई स्वीकृति प्रदान गरेपनि मिठाइ व्यापारीहरुले भने जथाभावी रुपमा सजिलै पाइने र कम मूल्य पर्ने रङ्गहरुको प्रयो गर्ने गरेको पाइन्छ । अधिकाश रुपमा मिठाइलाई चम्कीलो र आर्कषक बनाउन रोडामाइन बी,सेन्थेटिक डाइज, हाईड्रा, मेटालिक एल्लो लगायतका प्रतिबन्धित रंगहरुको प्रयोग भएका छन् । जुन औद्योगिक प्रयोजनका लागि र गलैचा र कपडामा प्रयोग गरिने रंग हुन् ।
यस प्रकारको रंग हालेको मिठाई सेवनबाट विभिन्न खाले एलर्जी, अल्सर, हैजा, रगतको हेमोग्लोबिन नष्ट हुने, आखाँको दृष्टि कमजोर हुने, पुरुषको शुक्रकिट नष्ट भई बाझोपना हुने र छालाको क्यान्सर समेत हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेब विष्णु जयसवाल बताउनुहुन्छ । त्यति मात्र नभई व्यापारीहरुले बढि मुनाफा आर्जन गर्न बढि प्रयोग हुने खुवाको साटो म्याद नाघेको मैदा, आरारोट, उसिनेको आलू, पिठो र सूजीको प्रयोग गर्दछन । यस्ता नक्कली खुवा कतिपय ब्यपारीले भारतबाट लयएको स्रोतले बताएको छ । त्यस्ता खुवाले पेटमा प्रत्यक्ष असर पार्दछ । व्यापारीहरुले निम्न गुणस्तरको घ्यु र हप्तौ पूरानो तेलको प्रयोग गर्दछन जसबाट घाटी सम्बन्धि विभिन्न रोग देखा पर्दछ । अहिले बिक्री नभएका मिठाई ब्यपारीहरुले रामघाट मेलामा बिक्री गर्ने गरेको पाईएको छ ।
विश्व खाद्य संघले गरेको सिफारिश बाहेकका अन्य बस्तु खाद्य पदार्थमा मिसावट गर्न नपाइने खाद्य ऐन २०२३ मा व्यवस्था भएपनि कपिलवस्तुमा सम्बन्धित निकायले हाल सम्म त्यस तर्फ ध्यान नदिएको स्थानियबासीहरुको गुनासो छ । स्थानिय उपभोक्ता शैलेन्द्र श्रीमाल भन्नुहुन्छ “यहाँ खुलेआम मिठाइको नाममा विष बेचिएको छ तर प्रशासन उपभोक्ता समित मुखदर्शक बसेको छ स्वास्थ संग खेलवाड गर्ने कुनैपनि व्यापारीलाई कारवाहीको उदाहरण छैन” ।
जिल्ला स्वास्थ्य कार्यालयका नि. प्रमुख विष्णु जयसवालले आफूलाई यसबारे गुनासो आइरहेपनि यसको नियन्त्रणको अधिकार आफूसंग नभएको बताउनुभयो । जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषय प्रति प्रशासन गम्भीर हुनुपर्ने र प्रभावकारी अनुगमन हुनुपर्ने बताए ।
प्रशासन कार्यालयका प्रशाुकीय अधिकृत पुरन गिरीले जिल्लामा अखाद्य बस्तुहरुको मिसावट भएको स्वीकार्दै तिहार भित्रै प्रभावकारी अनुगमन गरि दोषि व्यापारीलाई कारावाही थाल्ने बताउनुभयो । प्रशासन कार्यालयले अनुगमनमा ढीलासुस्ती गर्दा मिठाई ब्यापारीहरु तिहारको बेला मालामाल हुने गरेका छन् ।