भैंसी दाईजो नल्याएको निहुमा एक महिलाको हत्या
काठमाण्डौं असार २० - भैंसी दाईजो नदिएको भन्दै पर्साको चोर्नी बदननगरमा एक महिलाको हत्या गरिएको छ । ती महिलालाई उनका श्रीमान् र सासू-ससुराले सोमबार हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आरोपी तीनै जना फरार रहेका छन् ।
चोर्नी बदननगर विबाह गरेकी १८ बर्षकी सुगन्धियादेबी महतोलाई उनका श्रीमान धनेश्वर महतो, ससुरा नन्दु र सासू जीरादेवी महतोले हत्या गरी फरार रहेको खबर आजको राजधानी दैनिकले छापेको छ ।
स्थानिय छिमेकीले दिएको जानकारी अनुसार परिवारका प्रत्येक सदस्यहरुले भैंसी दाईजो नल्याएको भन्दै सुगन्धियादेवीलाई दैनिक कुटपिट गर्ने गरेको बताएका छन् । उनले आफ्ना श्रीमानको माग माईतमा पनि सुनाएकी थिइन् तर उनका बुवा धुरुपले तत्काल ज्वाईको माग पुरा गर्न सकेनन् । आर्थिक अवस्था कमजोर भएका धुरुपले पैसा हुने वित्तिकै ज्वाईलाई भैंसी दिने बताएका थिए । ज्वाईले पनि ससुराली मै गएर भैंसी मागेका थिए ।
बुवाले उपहार दिने भैंसीका लागि पैसा संकलन गरिरहेका थिए भने छोरीले भैंसी नभएको भन्दै कुटाई खाईरहेकी थिईन् । छोरीको दुरदर्शा देखेर उनले प्रहरीमा उजुरी पनि दिएका थिए । त्यसपछि प्रहरीले ज्वाई धनेश्वरलाई नियन्त्रणमा लिएर आइन्दा त्यस्तो नगर्ने सहमति गरि छोडेको थियो । प्रहरी चौकीबाट निष्कीएको भोली पल्टै उनले श्रीमतीको हत्या गरि फरार रहेको परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक नृपबहादुर विष्टले जानकारी दिनुभयो ।
समाचार ऑनलाइन खबर बाट