दैनिक पत्र, जनसंघर्ष र स्वाधीन दैनिक एउटै प्रकाशन संस्थाबाट प्रकाशित हुने
बुटवल, मंसिर ८ - बुटवलबाट प्रकाशित हुने दैनिक पत्र, जनसंघर्ष र स्वाधीन दैनिक एउटै प्रकाशन संस्थाबाट प्रकाशित हुने भएका छन् ।
बुटवल मिडिया प्रकाशन प्रा. लि.बाट प्रकाशित हुने दैनिक पत्र दैनिक, हाइटेक अफसेट प्रकाशन प्रा.लिबाट प्रकाशित हुने जनसंघर्ष दैनिक र स्वाधीन प्रकाशन प्रालिबाट प्रकाशित हुने स्वाधीन दैनिक अबदेखि बुटवल मिडिया प्रकाशन प्रालिबाट प्रकाशित हुने भएका हुन् ।
तीन वटै प्रकाशन संस्थाबीच भएका दुई चरणका सम्झौताअनुसार दैनिक पत्रलाई दैनिक, जनसंघर्षलाई साप्ताहिक र स्वाधीनलाई मासिक रुपमा प्रकाशित गर्ने निर्णय भएको हो । शुक्रबार भएको दोश्रो चरणको सम्झौतापत्रमा बुटवल मिडिया प्रकाशन प्रालिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू, पूर्व अध्यक्ष डा. ईश्वर गौतम, सञ्चालक अजयमान श्रेष्ठ र प्रबन्ध सञ्चालक डिल्लीकुमार श्रेष्ठ, हाइटेक अफसेट प्रकाशन प्रालिका अध्यक्ष महेशमान सिंह, पूर्वअध्यक्ष बेनुराम प्रधान, सञ्चालक अनुपमान सैंजु, प्रधान सम्पादक तथा सञ्चालक बालकृष्ण चापागाई तथा स्वाधीन प्रकाशन प्रालिका तर्फबाट प्रधान सम्पादक तथा सञ्चालक डीआर घिमिरे र सम्पादक तथा सञ्चालक तिलक आचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पत्रकारिताको व्यावसायिक धर्म र मर्मअनुसार सम्पादकीय स्वतन्त्रताको सम्मान एवं सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै तीनवटै संस्थालाई गाभेर व्यवसायिकताको भावना अनुरुप अघि बढ्न सहमत भएको उल्लेख गरिएको छ ।
सम्झौतापश्चात पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुलाई यो अभियानले उत्साह जगाउने र नेपाली मिडियाकर्मीलाई सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गदै विज्ञप्तिमा भनिएको छ–‘नेपाली पत्रकारिताको व्यावसायिक उन्नयनका लागि संस्थागत सुदृढीकरण, संबद्र्धन र विकास अनिवार्य भएकोले त्यस दिशामा अझ खरो ढंगले उत्रनका लागि अभिप्रेरणा दिने छ ।’
संयुक्त विज्ञप्तिमा सरकारको नीति स्पष्ट नहुनुका कारणले श्रमजीवि पत्रकारको अवस्था दयनीय बन्दै जानु र लगानीकर्ताले पनि कुनै प्रतिफल प्राप्त नगर्नु तितो यथार्थ भएको ठहर गर्दै पाठकहरुलाई गुणस्तरीय सामग्री प्रदान गर्न, लगानीलाई भरपर्दो र सुरक्षित बनाउन तथा प्रकाशन गृहलाई विस्तार एवं विकास गर्नका लागि उपर्युक्त संस्थालाई एकीकृत गरी अघि बढ्न उपयुक्त हुने निष्कर्षमा पुगिएको उल्लेख छ ।