खेल संघको आर्थिक पक्षको छानविन प्रतिवेदन प्रधानमन्त्रीलाई
काठमाडौं, कात्तिक २१ - विभिन्न राष्ट्रिय खेल संघहरुको आर्थिकलगायत विविध पक्षहरुको छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित उच्चस्तरीय छानविन समितिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक एवं राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले विभिन्न राष्ट्रिय खेल संघहरुको आर्थिकलगायत विविध पक्षहरुमा गरिएको अध्ययन, विश्लेषण तथा स्थलगत अनुगमनको अनुभव समेतलाई समेट्दै तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनु भएको हो ।
प्रधानमन्त्रीलाई बुझाएपछि सोही कार्यक्रममा उपाध्यक्ष एवं संयोजक तिम्सिनाले युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाल र राखेप सदस्य–सचिव युवराज लामालाई पनि प्रतिवेदन हस्तान्तरण गुर्नभएको थियो ।