|

सोमनाथ कुर्मीद्धारा स्कुललाई चार कठ्ठा जमिन दान

कपिलवस्तु ,कार्तिक २७ - जिल्लामा भएका सफल शैक्षिक अभ्यास ओझेलमा परेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । गरिएका सफल अभ्यास ओझेलमा पर्नु र नकारात्मक शैक्षिक समाचार प्रकाशन तथा प्रसारण हुदा कपिलवस्तु सबैको नजरमा खराब जिल्लाको नामले परिचित हुन परेकोमा उनिहरुले दुखेसो गरे । शिक्षाको मुद्दा पहिचान गर्न नसक्दा र संचारकर्मीसँगको समन्वय हुन नसक्दा सफल शैक्षिक मुद्दाले संचार माध्यममा स्थान पाउन नसकेको उनिहरुको भनाई छ ।

शिक्षा पत्रकार समुह लुम्बिनीले कपिलवस्तुको तौलिहवामा आयोजना गरेको कपिलवस्तुका सफल शैक्षिक अभ्यास बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले यस्तो विचार राखेको हुन् । जिल्लामा नमूना बालविकास केन्द्र, बहुभाषा शिक्षण, शिक्षक पाठ योजना, कक्षा व्यवस्थापन, पृष्ठपोषण कक्षा, अतिरिक्त क्रियाकलाप, ल्यापटप कक्षा, श्रब्य दृश्य सामग्री, अग्रेजी माध्यमको शिक्षण, निरन्तर विद्यार्थी मूल्यांकन, घरदैलो अभियान, विद्यालय र वातावरणको सरसफाई, सीपमूलक साक्षरता कार्यक्रम शिक्षामा भएका सफल शैक्षिक अभ्यासका रुपमा देखिएको कार्यक्रमका सहभागीहरुले बताए ।

कार्यक्रमका अवसरमा बैदौली गावि वडा नंं. ६ सुठौली निवासी ७५ बर्षीय शोमनाथ कुर्मीले गाउँमा रहेको पशुपति शिक्षा मन्दिर प्राविलाई चार कठ्ठा जमिन दान गर्ने घोषणा गरे । विद्यालयका विद्यार्थीलाई कृषि खेती गर्न सिकाउनका लागि आफूलाई जमिन दान गर्न मन लागेको उनले बताए । स्थानियका अनुसार कुर्मील दान गरेको उक्त जग्गाको मूल्य करिब ११ लाख बराबर रहेको छ ।

कार्यक्रममा बोल्दै कपिलवस्तुका शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले शिक्षामा भएका सफल शैक्षिक अभ्यासलाई अभिलेखीकरण गर्न जरुरी भएको बताए । टिप्पणीकार तथा शिक्षा कार्यालयका उपसचिव सूर्यप्रसाद भुसाल, पत्रकार यादव भुसाल, एनजिओ फेडेरेशनका जिल्ला अध्यक्ष प्रविन श्रीवास्तव, सनसाइृन सामाजिक संस्थाका शिवलाल यादव, नेपाल राष्ट्रिय उच्च मावि, दुबियाँ प्राचार्य खिमराज पौडेल, जनकल्याण उमावि, बरकलपुरका प्राचार्य नन्दनकुमार गिरी, पकडी माविका भगवानदास चौधरी, सूर्योदय उमाविका प्राचार्य जगन्नाथ मरासिनी, पञ्च निमाविका प्रधानाध्यापक जगतराज रेग्मी, श्रीनगर निमाविका अरबेन्द्र कुमार श्रीवास्तव, यशोधरा माविका नरेन्द्र उपाध्याय, ज्ञानोदय प्राविकी प्रधानाध्यापक कमला गिरी, पतरिया सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष कमलेशप्रसाद चौधरी लगायतले आफूहरुले शुरु गरेको अभ्यासका बारेमा जानकारी गराएका थिए । अधिकांश विद्यालयले अग्रेजी माध्यमको शिक्षणले विद्यार्थी बढाउनमा सहयोग गरेको र शिक्षकलाई तालिमको आवश्यकता भएको बताएका थिए ।

शिक्षा पत्रकार समुह लुम्बिनीका अध्यक्ष मनोज पौडेलको अध्यक्षता, सचिव कृष्ण मल्लको संचालनमा भएको सो अन्तरक्रियामा जिल्ला शिक्षा कार्यालयका उपसचिव महेन्द्रसिंह श्रेष्ठले कपिलवस्तुको शैक्षिक अवस्था र जिल्लामा शैक्षिक सुधारका लागि गरिएको प्रयासको बारेमा जानकारी गराएका थिए ।

Posted by Butwalonline on 5:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सोमनाथ कुर्मीद्धारा स्कुललाई चार कठ्ठा जमिन दान"

Leave a reply