निर्दोष छोरीलाई न्याय दिन भुखाली परिवारको याचना
कपिलवस्तु समाचारदाता , असोज २४ -आफ्नी निर्दोश छोरीलाई मानव बेचविखन मुद्धामा प्रहरीले फसाएको भन्दै निग्लीहवाका भुखाली थारुले उनलाई न्याय दिन सरोकारवालाहरु संग अनुरोध गर्नुभएको छ । छोरी अनाहकमा फसेपछि भुखाली थारुका परिवारजन चिन्तित बनेका छन् । निग्लिहवा गाविस वडा नं. ४ विकुलीका भुखाली थारुकी २० वर्षीय छोरी भिमा थारु घरसंगैकी रुखसाना मुसलमान ( नाम परिवर्तन ) लाई बेचविखन गरेको आरोपमा प्रहरीले चलाएको मुद्धामा हाल पाल्पा कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी छन् । पुर्पक्षका लागि भिमा थारुलाई थुनामा राख्ने जिल्ला अदालत कपिलवस्तुको आदेश भैसकेको केही महिना पछि मात्र घरबाट हराएर वेचविखन भएको भनिएकी रुखसानालाई स्थानीय गोविन्द पौडेलले पक्रेर प्रहरीलाई बुझाएका थिए । प्रहरीले बेचिएकी भनिएकी रुखसानालाई परिवारजनलाई बुझाएको थियो ।
भारतमा बेचिएकी भनिएकी रुखसाना सकुशल घरपरिवारमा आएपछि उनी नबेचिएकी र आफ्नी छोरीलाई अनाहकमा फसाइएको भन्दै उनका बाबुले छोरीलाई छुटाउन र न्याय दिलाईदिन पत्रकार, नागरिक समाजका अगुवा, प्रशासन तथा दलका नेताहरु संग याचना गरिरहेका छन् । रुखसाना बेचविखन नभई जितपुर स्थित जनता टेण्ट हाउसमा कार्यरत एक जना मजदुर केटासंग विवहा गरेको रहस्य खुलेको छ । टेण्ट हाउसमा कार्यरत मजदुर रिजुवान चौधरीसंग रुखसाना घरबाट हिडेकै दिन देखि सोही टेण्ट हाउसमा बस्दै आएको मजदुर चौधरीले बताउनुभयो । संगै बसेको केही महिना पछि आफुहरुको मन मिलेका कारण आफुहरुले मुस्लिम परम्परा अनुसार निकाह गरी विवहा गरेको रिजुवानले संचारकर्मीहरुलाई जानकारी दिए । रुखसानाले रिजुवानसंग विवहा गरेर १० । १५ जना साथी भाईलाई समेत भोज खुवाएको र आफुसंगै आफ्नै घरमा राख्दै आएको जनता टेण्ट हाउस जितपुरका प्रोपराईटर साहबुद्दिन मुसलमान बताउछन् । रुखसाना वेचिएकी भन्ने कुरा सत्य होईन, हामी जहां गएर पनि भन्न सक्छौं करीब एक वर्ष सम्म रुखसाना र रिजुवानसंगै वसेका छन्, साहबुद्दिनले भने, “रुखसानाको वेचविखन भएकै होईन, भिमा माथि लागेको आरोपमा कुनै सत्यता छैन ।” उहाले दाबी गर्नुभयो ।
विवाह पश्चात् आफुहरुको वैवाहिक जीवन पनि राम्रैसंग चलेको रिजुवानको भनाई छ । तर एक दिन घरबाट बजार निस्कदै गर्दा गाउंकै गोविन्द पौडेलले रुखसानालाई जितपुर क्षेत्रमा देखे पछि प्रहरीलाई जिम्मा लगाएका थिए । भुखाली थारु र एस कुमारीका पिताको विचमा वर्षौ देखिको जग्गा विवाद रहंदै आएको र गाउंमा पटक पटक छलफल हुदै आएको भिखालीले बताए । पुरानो जग्गा विवादकै कारण आफ्नी छोरी माथि चेलीवेटी वेचविखन गरेको आरोप लगाएर छोरीलाई रुखसानाको परिवारजनले फसाउन लागेको भुखाली बताउनुहुन्छ ।
उता रुखसानाका परिवारजनसंग कुरा गर्दा अहिले पिता घरमा नरहेको र आफु केही महिना अघि मात्रै विदेशबाट आएको हुदा आफुलाई सवै कुरा थाहा नभएको उनका दाजु ईस्माईलले बताए । घटना सम्बन्धमा उनका पिता भोलासंग टेलिफोन मार्फत कुरा गर्दा आफुहरु अन्यायमा परेको, आफ्नो छोरीको कसैसंग विवहा नभएको दाबी गरे । यदी कसैसंग विवाहा भएको भए प्रमाणित गर्नेलाई ५० हजार रुपैया पुरस्कार दिने समेत उनले घोषणा गरे । घटनाबारे गाउामा आएर कुरा गर्दा प्रष्ट हुने भन्दै आफुले यस सम्वन्धमा केही नबोल्ने भोलाले टेलिफोन मार्फत संचारकर्मीहरुलाई बताए । आफ्नो छोरी निर्देाश रहेको दाबी गर्दै आएका भुखाली परिवारलाई भने रुखसानाका परिवारजनले सो घटनामा भिमाकै हात रहेको बताएका छन् । हराएकी रुखसाना भेटिए पछि आफ्नो दाबी सांचो भएको भन्दै आफुहरु छोरी छुट्ने आशामा बसेको भिमाका परिवारजनले संचारकर्मीहरुलाई बताए ।
यसरी विभिन्न दबाब तथा हचुवाको भरमा प्रहरीले भिमा थारु उपर मानव वेचविखन तथा ओसार पोसारको मुद्धा दायर गरेको निग्लिहवा ४ का राजेन्द्र शर्माले बताए । वेचविखन जस्तो संवेदनशील मुद्धा उपर प्रहरीको अनुसन्धान फितलो देखिएको छ, शर्माले भने, “रुखसाना घरबाट निस्केकै दिन देखि विवाह गरेर जितपुरमा बसेकी रहिछन् तर वेचविखनको आरोपमा सहित अन्य ३ जना अनाहकमा कारागारमा बस्नु परेको छ” ।
