|

तीन दशकमा पनि बनेन अस्पताल

किरणमान बज्राचार्य,कपिलवस्तु , २४ असोज-कुनै पनि भौतिक संरचना वा भवन निर्माण हुन कति बर्ष लाग्ला ? ३ बर्ष, ५ बर्ष या ७ बर्ष । तर कपिलवस्तुको कृष्णनगर स्थित एक भवन तीन दशकमा पनि बनेन । स्थानियको पहलमा पंचायतकाल देखि नै निर्माण सुरु गरिएको कृष्णनगरको सामुदायिक अस्पतालको निर्माण अझै सम्पन्न भएको छैन । देश पंचायत पछि प्रजातन्त्र हुदै गणतन्त्रन्त्रात्मक अवस्था सम्म आईपुग्दा पनि अस्पताल निर्माणले गति लिन सकेन ।

स्थानिय समाजसेवी डा. रुद्र प्रताप शाहको पहलमा  २०३६ साल बाट निर्माण सुरु गरिएको अस्पताल भवन अझै सम्पन्न हुन सकेको छैन । ३ विगाहा क्षेत्रफलमा फैलिएको २२ कोठे पक्की भवन निर्माणमा कसैले चासो नदेखाएपछि भवन अलपत्र अवस्थामा रहेको छ । पंचायतकालमै जिल्ला पंचायतले अस्पताल भवन निर्माणको लागि रकम उप्लब्ध गराउने आश्वासन पाएपछि स्थानियबासीहरुको आर्थिक सहयोगमा भवन निर्माण थालिएको थियो । तत्कालिन अवस्थामा रकम उप्लब्ध नहुदा अधुरो रहेको भवन बहुदल पश्चात पनि बन्न सकेन । तत्कालिन अवस्थामा २०५७ सालमा विरेन्द्र कनौडियाले अस्पताल निर्माणका लागि ५ लाख रकम सांसद कोषबाट दिएका थिए । त्यस पछि २०६६ सालमा उद्योग बाणिज्य संघ कृष्णनगरले ३ लाख ६८ हजार रकम सहयोग गरेको थियो । भवन निर्माणको लागि कृष्णनगर गाविसले समेत ३ लाख रकम उप्लब्ध गराएको अस्पताल विकास समितिका उपाध्यक्ष नेत्र बेल्बासे बताउछन । अस्पताल निर्माणको मुख्य समस्या आर्थिक अभाव रहेको उनले बताए । हाल अस्पताललाई सुविधा सम्पन्न बनाउन २ करोड रकम लाग्ने भएपनि समितिको कोषमा २ लाख पनि नरहेको उनले हाले जानकारी दिए ।

नेपाल–भारत सीमा क्षेत्र संग जोडिएको कृष्णनगर बजार व्यापारिक तथा आर्थिक दृष्टिकोणले समेत जिल्लाको धनि क्षेत्र मानिन्छ । कपिलवस्तु नगरपालिकाको हाराहारीमा यहााको जनसंख्या समेत रहेको छ । तर यहाा एउटा पनि अस्पताला भने छैन । निजी रुपमा समेत क्लीनिक बाहेक अरु केहि संचालन नगरिएको यस क्षेत्रमा चिकित्सक रहेपनि सुविधा सम्पन्न अस्पताल भने पाइदैन । अस्पताल निर्माणको लागि बिच–बिचमा अस्पताल विकास समिति सक्रिय हुने गरेपनि त्यसको एक दुई बर्षमा पुन: निष्क्रिय हुने गरेका छन् । हाल अस्पताल निर्माणको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । तर बाकी ३० प्रतिशत कार्य सम्पन्न गर्न तथा अस्पतालका सामाग्री व्यवस्थापन गर्न रकम अभाव रहेको समितिका पदाधिकारीहरु बताउछन् ।

अस्पताल निर्माणमा गाविस बाहेक हाल सम्म कुनै पनि निकायले सहयोग नगर्दा कछुवाको गति भन्दा पनि सुस्त प्रकारले भवन निर्माण कार्य अघि बढिरहेको स्थानियबासीहरु बताउछन् । १६ हजार बढि जनसंख्या रहेको यस गाविसका बासिन्दालाई राज्यले स्वास्थ्य सेवा भने प्रभावकारी रुपमा उप्लब्ध नगराएको उनीहरुको आरोप छ । सो क्षेत्रमा एक मात्र हेल्थपोष्ट रहेको छ । जसले सेवा त दिन्छ तर प्रभावकारी भने छैन । अस्पताल अभावकै कारण दैनिक रुपमा सयौ नेपालीहरु भारतमा गई उपचार गराउन बाध्य छन् । स्थानियबासी अरुण गुप्ताले कृष्णनगरमा अस्पता नहुदा बाध्य भई भारतमा जानुपरेको बताउनुहुन्छ । “सामान्य उपचारको लागि पनि हामी भारतीय अस्पतालहरुमा निर्भर छौ ” उनले भने । आफु जन्मदा देखि नै बन्दै गरेको अस्पताल अझै संचालनमा आउन नसकेकोमा उहा दुख: व्यक्त गर । । अस्पताल विकास समिति पटक पटक निष्क्रीय बन्नुले पनि यसले गति नसमातेको अर्का स्थानिय युवा श्याम अग्रहरी भन्छन । “अस्पताल भवन निर्माणको लागि कसैले आफै आएर रकम दियो भने समिति सक्रिय हुन्छ अन्यथा निष्क्रिय” उनले आरोप लगाए े ।

अस्पताल निर्माण सम्पन्न नभएकै कारण समितिले हाल सम्म सामुदायिक अस्पतालको अनुमति समेत लिएको छैन । अस्पताल विकास समितिका अध्यक्ष विजय कुमार कनौडियाले बजेट अभावले निर्माण सम्पन्न हुन नसकेको बताउदै निर्माण सम्पन्न लगत्तै अस्पतालको अनुमति प्रक्रिया थालिने बताए । राज्यले पंचायतकालीन समय देखि नै अस्पताल निर्माणको लागि बजेट दिने भन्दै गरेपनि हाल सम्म बजेट नदिएको उहाको आरोप छ । “यस क्षेत्रमा हेल्थपोष्ट होइन अस्पतालको आवश्यक्ता छ राज्यले त्यो बुझिदिनुपरयो” उनल् भनेल ।

अस्पतालको दुरावस्था हेर्दै तत्कालिन प्रजिअ मोदराज डोटेलले पूर्व अस्पताल विकास समिति भंग गरि नयाा समिति गठन गराएका थिए । उनले अस्पताल हाता भित्र संचालन गरिएको बोर्डिङ् स्कुल हटाएर पुर्न निर्माण सुरु गराए पनि उनको सरुवा पछि सबै काम रोकियो । त्यस पछि फेरी भारत गोरखपुरका महन्त बाबा आदित्यनाथले अस्पताल संचालनको लागि माग गरेपनि स्थानिय केहि व्यक्तिको विरोधले हस्तान्तरण गर्न नसकिएको समितिकै एक सदस्य बताउछन् ।

जन्मनु अगावै देखि बन्दै गरेको अस्पताल अहिले सम्म पनि नबन्दा कृष्णनगरबासीको मन साह्रै दुख्ने गरेको छ । राज्यले आम जनतालाई दिने स्वास्थ्य सेवा समेत दिन नसक्नु र जनताको पहलमा बनाउन लागेको भवन ३ दशक बढि समय सम्म पनि बन्न नसक्दा उसले कुनै चासो लिएको छैन । स्थानियले पटक पटक अस्पताल निर्माण सम्पन्न गरि संचालन गर्न माग गरेपनि त्यसको सुनुवाई कतै बाट हुने गरेको छैन । अस्पताल विकास समितिले रकम अभाव मुख्य कारण भएको बताउदै यसको संचालनको लागि बजेट नहुदा सम्म संचालनमा आउन नसक्ने बताउछन् ।

Posted by Butwalonline on 6:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तीन दशकमा पनि बनेन अस्पताल "

Leave a reply